aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

'कोशी' विरुद्धको आमहड्तालले खोटाङ ठप्प

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • सोमबार, २९ फागुन २०७९
'कोशी' विरुद्धको आमहड्तालले खोटाङ ठप्प

काठमाडौं । प्रदेश १ को नाम षडयन्त्रपूर्वक पहिचानविहीन ‘कोशी’ राखेको विरोधमा आव्हान गरिएको आइतबारको आमहड्तालले खोटाङ ठप्प हुन पुग्यो। 

बिहान ३ः०० बजेदेखि नै बन्धकर्ताहरू समूह समूह बनाएर सदरमुकाम दिक्तेलका विभिन्न चोक र सडकमा निस्केर परिचालन भएकाले लामो तथा छोटो दूरीका सवारी, पसल र बजार ठप्प भएका हुन्।

पहिचान पक्षधर संघसंस्थाहरुले गठन गरेको ‘प्रदेश पुनः नामाकरण संघर्ष समितिको आव्हानमा भएको बन्दले सरकारी, सामुदायिक तथा निजी शिक्षण संस्थाहरु पनि आइतबार बन्द रहन पुगे। बन्दको बेला सडकमा प्रहरी सुरक्षाकर्मी, प्रशासन र पत्रकारका गाडीबाहेक अन्य सवारी साधन सडकमा देखिएनन्। दिउँसो १ः०० बजेदेखि फाटफुट चल्न थालेका सवारी ४ः०० बजेदेखि खुल्ला रूपमा चल्न थालेका थिए। बन्द अवधिभर त्यस्तो कुनै अप्रिय घटना भएको खबर नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यता उदयपुरमा सदरमुकाममा आंशिक प्रभाव परे पनि अन्य क्षेत्रमा बन्द सफल भएको आयोजक समितिको दाबी छ। सदरमुकाम गाईघाटमा बिहान ११ः०० बजेसम्म बजार, पसल र यातायात बन्दकर्ताले चलाउन नदिए पनि प्रहरी प्रशासनको आग्रह र बन्धकर्ताहरू घर फर्केपछि मध्यान्हदेखि फाटफुट चल्न थालेका थिए। खाना खान घर फर्केका बन्धकर्ताहरू पुनः बजारमा देखा नपरेपछि पुरै बजार, पसल र यातायात खुले पनि लामो दुरीका यातायात भने चल्न पाएनन्।

बन्दका कारण यियुगा नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालय र अन्य निजी शिक्षण संस्थाहरु भने चलेनन्। आमहड्तालका दिन उदयपुरको चौदण्डीगढी नगरपालिका केन्द्र बेलटार बजार भने पूर्णत ठप्प रह्यो। बिहानैदेखि पहिचानपक्षधरहरु समूह समूह बनाएर बजारका विभिन्न चोकमा परिचालन भएपछि लामो तथा छोटो दूरीका सवारी, बजार, पसल, शिक्षण संस्था र अन्य कार्यालयहरूसमेत बन्द हुन पुगेका हुन्।

प्रतिक्रिया दिनुहोस