aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

दुइ दशकपछि महायज्ञमा दलितलाई प्रवेश गर्न नदिएपछि न्याय माग्दै सडकमा

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • मंगलबार, ३० फागुन २०७९
दुइ दशकपछि महायज्ञमा दलितलाई प्रवेश गर्न नदिएपछि न्याय माग्दै सडकमा

काठमाडौं । वीरगन्ज महानगरपालिका– १७ अलौंमा झण्डै दुइ दशकपछि हुन लागेको शतचण्डी महायज्ञमा प्रवेश गर्न नदिने भएपछि दलितहरु आन्दोलित भएका छन्। अलौंमा २२ वर्ष पछि आगामी चैत ८ गते देखि शतचण्डी हुने महायज्ञ दलितलाई प्रवेश गर्न नदिने भएपछि उनीहरु आन्दोलित भएका हुन्। 

महायज्ञ आयोजक समितिले नै जातीय छुवाछुतको विभेद गरेर महायज्ञमा प्रवेश गर्न नदिने भएपछि अलौंका दलितहरुले सोमबार वीरगन्जको बजारमा आएर विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागीहरुले ‘हिन्दूद्वारा हिन्दूमाथि विभेद गर्न पाइदैन , हिन्दूको शोषण हिन्दूले नै गर्न पाइँदैन , हिन्दू एकता जिन्दावाद, दलित एकता जिन्दावाद, दलित समुदायसँग अत्याचार गर्नेलाई कारबाही गरु जस्ता  नारा नाराबाजी पनि लगाएका थिए। 

महायज्ञमा प्रवेश गर्न पाउनु पर्ने र छुवाछुतको विभेद गर्नेहरुलाई कारबाही गर्नु पर्ने माग राख्दै उनीहरुले सोमबार नै जिल्ला प्रशासन कार्यालयमा पुगेर सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेललाई ज्ञापन–पत्र पनि बुझाएका छन्। महायज्ञमा प्रवेश गरि पूजापाठ गर्न पाउनका लागि विगत १ महिनादेखि नै निरन्तर आवाज उठाउँदै आएको भएपनि महायज्ञ आयोजक मूल समितिले वास्ता नगरेपछि सोमबार सडकमै उत्रिएर प्रदर्शन गर्नु परेको अलौं निवासी कृष्ण राम चमारले बताए। उनले भने ,‘२२ वर्ष पहिले पनि गाँउमा शतचण्डी महायज्ञमा भएको थियो, त्यस बेला पनि दलितलाई महायज्ञमा प्रवेश गर्न दिइएको थिएन, उ बेला हामी बच्चा थियौं, हाम्रा अग्रजहरुमाथि अन्याय हुँदा पनि चुप लागेर बसे, तर अहिले हामी बुझ्ने र सचेत भइसकेका छौँ , त्यसका कारण यसपालि हामी चुप लागेर बस्दैनौं, छुवाछुत गर्नेहरु विरुद्ध कानूनी कारवाहीमा जान्छौं। लगि महायज्ञस्थलको निर्माण र तयारीमा दलितहरु पनि खटेका छन्। तर महायज्ञको पूजामा मण्डपभित्र दलितलाई प्रवेश नदिने मूल आयोजक समितिको अडान छ। अलौंकै ५६ वर्षीय खुबलाल महरा चमारले भने,‘ गाउँका गैरदलितहरुले महायज्ञ तयारीको अरु सबै काम गर्नु तर चौका (पूजा) मा भने तिमिहरु बस्न पाउदैनौ भनेका छन्।

‘सबै काम हामीले नै गर्ने अनि चौकामा भने बस्न नदिने रु हिन्दू धर्मकै यज्ञमा हामी हिन्दूलाई नै वञ्चित गर्नु कहाँको धर्म हो ? भन्दै महराले प्रश्न पनि गरे। 

महायज्ञ मुल पूजा समितिमा पनि दलितलाई समावेश नगरिएको र समितिले दलितहरुबाट चन्दासमेत समेत नलिएको अलौकै ६४ वर्षीय जोधा राम चमारले बताए। उनले भने ,‘समितिमा गैरदलित समुदायका मात्रै व्यक्ति छन् , एक जना पनि दलित छैनन्, अनि महायज्ञमा हामीले पनि चन्दा दिन्छौंभन्दा हामी दलितबाट चन्दा लिन समेत इन्कार गरेका छन्।’

स्थानीय दलित विकास पथका अध्यक्ष शिवनारायण रामले भने,‘हिन्दूमाथि हिन्दूले नै विभेद गरेपछि अब हामी न त मन्दिर जान सक्छौं, न त मस्जिद नै, हामी कुन धर्मको मान्छे हो भन्ने नै थाहा भएन।’ धर्मको आडमा दलितमाथि छुवाछुतको विभेद गर्नेहरुलाई कानुनी दायरामा नल्याउँदा सम्म दलितहरुमाथि अपमान र अन्याय नरोकिने उनले बताए। 

महायज्ञमा प्रवेश गर्न नपाउने भएपछि आन्दोलित भएका अलौंका दलितहरुको माग र आन्दोलन प्रति हिन्दू परिषद् नेपालले पनि ऐक्यबद्धता जनाएको छ। मन्दिरमा र पूजामा बस्न पाउने सबैको अधिकार भएकाले यसबाट कसैलाई वञ्चित नगर्नका लागि हिन्दू परिषद् नेपाले पनि अलौंका दलितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाएको हिन्दू परिषद् नेपालका केन्द्रीय सदस्य विनोद प्रसाद कुर्मीले बताए। उनले भने,‘हिन्दुको महानग्रन्थ रामायणमा पनि छुवाछुत छैन, धर्ममा छुवाछुत र विभेद भन्ने कतैपनि छैन, तर धर्मकै आडमा विभेद गर्न खोज्नु भनेको धर्मलाई भाड्न खोज्नु हो।’

ब्राह्मणवादको यस्तै मानसिकता र रुढीवादी परम्पराकै कारण हिन्दू धर्म छोड्दै जाने र धर्म परिवर्तन गर्नेको संख्या बढ्दै गएको उनले बताए। अधिवक्ता समेत रहेका कुर्मीले भने ,‘जुन जातको भएपनि मुस्लिम समुदायमा एकता भएजस्तै हिन्दूहरु पनि एक हुनुपर्छ ,जातपातका आधारमा विभेद दण्डनीय हो, त्यसैले त्यस्ता व्यक्तिलाई कारवाही गर्नुपर्छ’, कुर्मीले भने। 

प्रतिक्रिया दिनुहोस