aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

उत्पादनमुखी बजेटमा जोड

  • रासस
    रासस
  • आइतबार, १५ बैशाख २०७६
उत्पादनमुखी बजेटमा जोड

पोखरा, वैशाख १३ । प्रनिनिधिसभाअन्तर्गतको अर्थ समितिद्वारा आज यहाँ आयोजित पूर्व बजेट छलफलमा उत्पादनमुखी बजेट वर्तमानको आवश्यकता भएकोमा जोड दिइएको छ । बजेट उत्पादनमुखी हुन नसक्दा त्यसको प्रतिफल अपेक्षाअनुरुप हुन नसक्ने बताउँदै कार्यक्रमका वक्ताले ‘सुखी नेपाली समृद्ध नेपाल’को लक्ष्य प्राप्त गर्न पनि उत्पादनलाई जोड दिनुपर्ने धारणा राख्नुभयो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भौगोलिकताका आधारमा बजेट विनियोजन हुनुपर्नेमा जोड दिँदै स्थानीय एवं प्रदेशको आवश्यकताअनुरुप बजेट आउनुपर्ने बताउनुभयो ।

समृद्धि र विकासका लागि कृषि, पर्यटन, ऊर्जा, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्र प्राथमिकतामा पर्नुपर्ने धारणा राख्दै उहाँले उत्पादन लक्षित बजेटले मात्र जनताका अपेक्षा पूरा गर्ने बताउनुभयो । प्रदेशको सम्भावनाका आधारमा विकासका योजना अघि सार्नुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले पोखरालाई देशकै पर्यटनको राजधानी घोषणा गर्नुपर्ने बताउनुभयो । समितिका सदस्य एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले समाजलाई विकासका मार्गमा अघि बढाउने किसिमको बजेट वर्तमानको आवश्यकता भएको बताउनुभयो । उपलब्ध साधन स्रोतको अधिकतम उपयोग गर्दै लक्षित आर्थिक उपलब्धि हासिल गर्नेतर्पm बजेट केन्द्रित हुनुुपर्ने उहाँले बताउनुभयो ।

राजश्वको सङ्कलन एवं त्यसको परिचालन प्रभावकारी बनाउँदै उत्पादनका माध्ययमबाट रोजकारी सिर्जना गर्नुपर्ने उल्लेख गर्दै उहाँले कृषिको आधुनिकीकरण एवं यान्त्रिकीकरणलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । कार्यक्रम संयोजक एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले संविधानले व्यवस्था गरेअनुरुप जेठ १५ मा सङ्घीय बजेट ल्याउने पूर्वतयारी स्वरुप सुझावका लागि छलफल राखिएको जानकारी दिनुभयो । सातवटै प्रदेशमा यस किसिमका छलफल भएको बताउँदै उहाँले प्राप्त सुझावलाई प्रतिवेदनका रूपमा सरकारलाई बुझाइने बताउनुभयो । कार्यक्रममा विभिन्न क्षेत्रसम्बद्ध संस्था, स्थानीय तहका प्रमुख एवं प्रतिनिधिलगायतले आगामी बजेटमा समावेश गर्नुपर्ने विषयमा आ–आप्mना सुझाव व्यक्त गर्नुभएको थियो । अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा समितिका सदस्य जयकुमार राईलगायतले लोकप्रिय र जनमुखी बजेट ल्याउन सरकारलाई निर्देशन दिइने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस