अञ्जन श्रेष्ठ, नेपालका उद्योगी व्यवसायी बीच निकै स्थापित नाम हो। उनको व्यावसायिक समुह लक्ष्मी ग्रुप नेपालका त्यस्ता केही सफल समूहमध्ये एक हो जसले राष्ट्रिय अर्थतन्त्रमा समेत उल्लेख्य मद्दत गरेको छ। हुन्डाई देखी बिएमडब्लु गाडीको नेपालका आधिकारिक बिक्रेता हुन्, उनी। पोखरास्थित सुजल डेरी यो समुहको अर्को सर्वाधिक उल्लेखनीय कम्पनी हो।
तर, श्रेष्ठको परिचय यतिमा मात्र सीमित छैन। उनी नेपाल उद्योग वाणिज्य महासङ्घमा बस्तुगत समुह तर्फका उपाध्यक्ष समेत रहेका छन्। उनको नेतृत्व क्षमता, नेपाली उद्योगी/व्यवसायीको समस्याको समाधानकालागी काम गर्ने उनको हुटहुटी र तत्परताका कारण आम उद्योगीको मन जित्न सफल छन्, उनी। त्यसैले नेपाली उद्योगी/व्यवसायीको रोजाइमा पर्ने विश्वासका साथ यही चैत्र २८ गते सम्पन्न हुनगैरहेको महासंघको नयाँ नेतृत्वको लागि हुने निर्वाचनमा आफ्नो अलग्गै टिम नै बनाएर बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्, अञ्जनले। प्रस्तुत छ, महासंघको चुनावलाई केन्द्रमा राखेर उनै श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंश :
बरिष्ठ उपाध्यक्षको प्रत्यासी बन्दै हुनुहुन्छ। चुनावी माहोल कस्तो छ ? तयारी कसरी गरिहनु भएको छ ?
जिल्ला, नगर वाणिज्य संघको भ्रमण गरिरहेको छु । हालसम्म ७२ वटा जिल्लाको भ्रमण गरेको छु। अहिले मत माग्ने काम भइरहेको छ ।
निर्वाचनको बेला मात्रै एफएनसीसीआई जिल्ला र नगरसम्म पुगेको देखिन्छ ? यसको कारण के हो ?
निर्वाचनमा स्वाभाविक रुपमा जिल्ला र नगर भ्रमण हुन्छ । अरू बेला हुने नियमित कार्य हो । भैपरी रुपमा र आकस्मिक रुपमा आउने कामहरूमा सधैँ महासंघ पुग्छ । निर्वाचनको समयमा आफ्नो मतदातालाई रिझाउन र समर्थन लिनका लागि पनि आफ्नो प्रस्तुति गर्नुपर्छ । आफ्ना एजेन्डाहरू प्रस्तुत गर्नका लागि पनि घरदैलो कार्यक्रम गर्नुपर्ने हुन्छ । यही क्रममा हामी चेम्बर/चेम्बरमा गइरहेका हौँ ।
मुलुकमा अहिले विभिन्न कारणले आर्थिक सङ्कट देखिइरहेको छ । यस बेला यहाँहरूले के एजेन्डा लिएर महासङ्घलाई नेतृत्व गर्छु भनेर सदस्यहरूलाई प्रभाव पार्नुभएको छ ?
अहिले वर्तमानमा धेरै ठुलो समस्या छ । सरकार र जिम्मेवार निकाय संम्वेदनशिल नभइदिँदा समस्या आइरहेको छ । कोरोना महामारीसँगै बाह्य रुपमा आएको सङ्कटले आन्तरिक रुपमा तरलताको पनि समस्या भयो । त्यस बेला लिइएका नीतिहरू पनि गलत थिए । तथापि, ती नीतिहरूले केही कुरा राम्रा पनि भएका छन् । विदेशी मुद्रा सञ्चिति बढेको छ । तरलताको व्यवस्थापन पनि भएको छ । तर, यो सबै कुराको सुधार त्यस बेला लिएको नीतिका कारणले मात्र भएको होइन । दुई वर्ष अघि ठप्प भएको रेमिट्यान्स आउन थाल्यो । त्यस बेला विदेश गएका धेरै दिदीबहिनी र दाजुभाइहरू फर्केका थिए । तर, फेरी जाने क्रम पनि सुरु भइसकेको छ । त्यसपछि रेमिट्यान्स पठाउन सुरु भयो ।
पर्यटन क्षेत्रमा पनि सुधार हुन थाल्यो । अहिले कच्चा पदार्थको मूल्य पनि घटेको छ । यी सबै कारणले सहज भएको हो । त्यो क्षणमा लिइएको महँगी बढाएर उपभोग घटाउने नीतिदेखि आयातलाई रोकेर उपभोग घटाउँछु भन्ने नीतिले अहिले बजार सुनसान छ । उद्योगको उत्पादन घटेको छ । बजारमा वस्तुको माग छैन ।
सरकारले विकास बजेट खर्च गर्न सकेको छैन । राजस्व घटेको छ । व्यवसायीहरूले रोजगारी कटौती गर्नुपर्ने अवस्था छ । विकास निर्माणका कामहरू भएका छैनन् । सरकारले बजेट नै कटौती गरेको अवस्था छ । झन्डै डेढ खर्ब राजस्वको लक्ष नै घटेको छ । विकास निर्माणका लागि राखेको बजेट डेढ खर्ब त घाटामा गयो । अब विकास निर्माणका कार्य कसरी हुन्छ ? बजार कसरी चलायमान हुन्छ ?
अहिले बजार सुस्ताएर गएको छ । कोरोनाको समयमा अमेरिकाले जनताको खातामा पैसा राखिदियो । अन्य देशमा अर्थतन्त्र तलमाथि भयो भने त्यसलाई जोगाउनलाई प्याकेजहरू दिन्छन् । तर, नेपालमा अर्थतन्त्रलाई सङ्कुचन बनाउने काम भयो । यसले गर्दा पनि आजको परिस्थिति आएको हो । ब्याजदर महँगो भयो ।
उद्योगी व्यवसायी मात्र होइन समग्रमा झन्डै ३५ लाख ऋणीहरू अहिले समस्यामा परेका छन् । बजार सङ्कुचन गराइयो । यो गलत हो । यसलाई सुधार्नु पर्थ्यो । राज्य जिम्मेवार हुनुपर्यो । अझै पनि राज्यले गम्भीर रुपमा सोचेको छैन । सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने हो भने समस्या समाधान गर्न सकिन्छ । यसका लागि सरकारको इच्छा शक्ति हुनुपर्यो ।
कोरोना महामारी अघि पनि महासङ्घले यस्ता कुराहरूमा दबाब दिने गर्थ्यो। अहिलेको कार्यकाल हेर्दा एफएनसीसीआईको उपस्थिति नै देखिएन ? सरकारले लिएका नीतिमा खबरदारी गर्न नेतृत्वले नसकेको, दबाब नपुगेको हो अथवा सरकारले बेवास्ता गरेको हो ?
अहिले समय पनि गलत भएको हो । राजनीतिक परिवर्तन र निर्वाचनको पनि समय परेको हुनाले सरकारमा बसेकाहरू कोही पनि जिम्मेवारीपूर्वक अगाडी आउन सकेनन् । तर, उद्योग वाणिज्य महासङ्घले घच्घच्याउने काम गरेको छ । आफू जिम्मेवार बनेर गरिने प्रस्तुति, बहस पैरवी गर्ने काममा चुकेको छैन । विगतमा भयो अहिले भएन भन्ने कुरा छैन ।
महासङ्घले नै गर्दा कोरोनाको समयमा पनि २ प्रतिशत ब्याज घटाउने कुरा आयो । त्यो अहिले पनि छ । पछिल्लो समय सरकारले चालुपुंजी कर्जामा २ करोड रुपैयाँसम्मको ऋणलाई ६ महिनासम्म र दुई करोड रुपैयाँ भन्दा माथिको लाई एक महिना भनेको छ । हामीले एक वर्ष र ६ महिनाका लागि मागेका थियौँ । अहिलेको समयमा ऋण र ब्याज तिर्ने अवधिलाई बढाउनुपर्छ भनेर मागेका हौँ । नियामक निकायबाट त्यो निर्णय पनि आएको छ ।
प्रिमियम घटाउन पनि एफएनसीसीआईले अभियान चलाएको हो । अहिले प्रिमियम घटेको छ । एफएनसीसीआईले ब्याजदर तोक मात्र भन्न सकेन । यो एफएनसीसीआईको कमजोरी होइन । एफएनसीसीआई जिम्मेवार भएर प्रस्तुत हुँदा कमजोरी जस्तो देखियो होला। तर, खुला बजार अर्थतन्त्रलाई २८ वर्षदेखि अङ्गीकार गरेको राज्यले स्वीकारको कुरा हो । हामीले सधैँ मौद्रिक नीतिका औजारहरूलाई प्रयोग गरेर ब्याजदर घटाइनु पर्छ भनेका हौँ। समग्रमा ब्याजदर १० प्रतिशतमा हुनुपर्छ । त्यो भन्दा माथिको ब्याजदर व्यवसायीले धान्न सक्तैन भन्ने आवाज हामीले सधैँ राखेका छौँ । प्रस्तुतीकरणमा हाम्रो कमजोरी काहीँ पनि छैन ।
एफएनसीसीआईमा लामो समयदेखि आबद्ध हुनुहुन्छ ? अहिले बैङ्कबाट ऋण लिनेको सङ्ख्या बढ्यो । तर, जिडिपीमा उद्योग क्षेत्रको योगदान घट्न थालेको देखिन्छ यसको कारण के हो ?
जिडिपीमा उद्योग क्षेत्रको योगदान २०४८ साल र ५३ साल तिर हेर्यो भने १८ देखि २० प्रतिशत थियो । हिजोका दिनमा अर्थतन्त्रमा योगदान गर्ने विधाहरू धेरै थिएनन् । अहिले आइटी सेक्टर आएको छ । सेवामूलक क्षेत्रहरू बढेर आएका छन् । यसले गर्दा पनि योगदानको साइज घटेको हो । उद्योग क्षेत्रको योगदान घटेको नै हो । सामान्य रुपमा भन्नुपर्दा जग्गा प्राप्ति देखि लिएर दर्ता प्रक्रिया पनि सजिलो छैन । सरकारलाई हामीले बारम्बार भु–उपयोगको नीति ल्याइदिनुपर्यो, जग्गाको वर्गीकरण गर्नुपर्यो, औद्योगिक क्षेत्र तोकिदिनुपर्यो, आवास र कृषि क्षेत्र, सिमसार क्षेत्र तोकनुपर्यो भनेका छौँ ।
भु–उपयोगको नीति त आयो तर, कार्यान्वयन भएको छैन । यो सँगै नीतिको पनि समस्या छ । नराम्रा मात्र होइन राम्रा नीति पनि आएका छन् । नीति बनाउनेले एउटा गतिमा बनाएको हुन्छ । मन्त्रालयले अर्को सोचमा लगेको हुन्छ । अनि कार्यान्वयन गर्ने स्थलमा जाँदा अर्कै किसिमले लागु गरिदिन्छन् । आएको नीति पनि छोटो अवधिका लागि आएको जस्तो लाग्छ । नीतिगत स्थिरता नै छैन।
हामी लगानीका नीतिहरू प्रक्षेपण गर्न सकिने हुनपर्यो भन्ने चाहन्छौँ । कमसेकम ५ वर्ष त्यही नीतिमा बसेर काम गर्न सक्नुपर्यो । नीतिसँगै समाजको पनि साथ छैन । विद्युत् ल्याउन पनि धेरै गाह्रो छ । उपलब्ध विद्युत् पनि गुणस्तर छैन । भोल्टेज नै छैन । कुनै पनि व्यक्तिको घाटा राष्ट्रको घाटा हो भन्ने सोच्नुपर्यो । हामीलाई सुकिला मुकिला बन्न उद्योग चाहिएको हो ? उद्योगीलाई हेर्ने र बुझ्ने दृष्टिकोण बद्लिनु पर्यो ।
राज्यले सङ्कलन गर्ने राजश्वमा ५० प्रतिशत भन्दा बढी यहाँहरूकै योगदान छ ? यहाँले भनेका कुरा राज्यलाई सिकाउने दायित्व यहाँहरूको पनि हो। यसका लागि के–के अभियान चलाउनु भएको छ ?
यसका लागि हामीले धेरै प्रयास गरेका छौँ । पछिल्लो समय हामीले भिजन डकुमेन्ट बनायौँ । त्यसमा पनि सबै कुरा उल्लेख गरेर सरकारलाई दिएका छौँ । एक सय बिलियनको इकोनोमी बनाउन सकिन्छ भन्यौँ। २२ लाखलाई रोजगारी दिन सकिन्छ । नेपालको अहिलेको आयातलाई ५० प्रतिशतमा घटाउन सकिन्छ । यस्ता भिजन राखेर सरकारलाई दियौँ तर, राज्य राजनीतिमा अलमलिएको छ । हाम्रा सोच र योजनालाई राज्यले साथ दिएको छैन।
एफएनसीसीआईमा नेतृत्वदायी भूमिकामा जाँदै गर्दा महासङ्घलाई यस्तो बनाउँछु ? राज्यले हेर्ने दृष्टिकोणलाई फरक बनाउँछु भन्ने कुरा यहाँले बुलेटमा चरणबद्ध रुपमा राख्नुभएको छ ?
महासङ्घले गर्ने काम सामान्य रुपमा भन्नुपर्दा लगानीको वातावरण बनाउँछु। अथवा व्यावसायिक वातावरण बनाउँछु र लगानी सुरक्षा गराउँछु भन्ने नै हो । यसमा नै सबै कुरा आउँछ। लगानीको वातावरण सुधार्नलाई धेरै कुरा गरिनुपर्छ भन्ने कुरामा हामीले भिजन डकुमेन्टमा लेखेर दिएका छौँ । राज्यले बनाउँदा पनि करोडौँ रुपैयाँ खर्च हुने डकुमेन्ट बनाएर दिएका छौँ । तर, दोहोरो भूमिका भएन । राज्यले त्यसलाई गम्भीरतापूर्वक लिएन।
दोहोरो भूमिकाका लागि राज्यले के गर्ने ?
राज्यले ऐनलाई संशोधनमा ल्याउनुपर्यो । भिजन अनुसारको क्रियाकलाप गर्नलाई सहयोग र सहकार्य गर्नुपर्यो । सहजकर्ताको भूमिका खुल्नुपर्यो । तर, राज्य सरकार फेर्ने तिर लागिरहेको छ। राज्यलाई दबाव दिने काम हामीले गरिरहेका छौँ । प्रत्येक फोरममा हामी बोलिरहेका छौँ । देशको राजनीतिको समस्या कहिले सुल्झिने हो थाहा छैन। आर्थिक नीतिको पालो कहिले आउँछ भन्ने कुरा पर्खेर बसेका छौँ।
यहाँले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिँदै गर्दा अरू टिम पनि तयार गर्नुभएको होला नि ?
मेरो टिममा जिल्ला नगरबाट उपाध्यक्षमा अरुण सुमार्गी हुनुहुन्छ । उहाँ उद्योग वाणिज्य सङ्घमा लामो समयदेखि संलग्न हुनुहुन्छ । मकवानपुर उद्योग वाणिज्य संघको पूर्व अध्यक्ष पनि हो । पछिल्लो पटक कार्यसमिति सदस्य पनि भएर कृषि उद्योग केन्द्रको सभापतिको हैसियतमा पनि काम गर्नुभएको छ । जिल्ला नगरमा राम्रो दख्खल राख्नुहुन्छ । वस्तुगतबाट मनिषलाल प्रधान हुनुहुन्छ । उहाँ पनि उद्योग वाणिज्य महासङ्घमा लामो समयदेखि आबद्ध हुनुहुन्छ । तीन कार्यकालदेखि सँगै छौँ। उहाँ पछिल्लो पटक उद्योग वाणिज्य महासंघ निर्यात परिषद्को पनि सभापति हुनुहुन्छ ।
एशोसियट्सबाट जोत्सना श्रेष्ठ हुनहुन्छ । महिला समोवशीका हिसाबले पनि उहाँलाई सहभागी गराएका छौँ । महासङ्घमा एउटा महिलाले नेतृत्व लिनुभयो । २१ औँ शताब्दीमा महिलाले नेतृत्व लिन्छ भन्ने कुराहरू उद्योग वाणिज्य महासंघले पुरा गरायो । जोत्सना मार्फत त्यसलाई निरन्तरता दिन चाहन्छौँ। उहाँले पनि व्यवसाय गर्नुभएको छ । पछिल्लो समय उहाँ टुरिजम कमिटीको अध्यक्ष पनि हुनुहुन्छ । समग्रमा सन्तुलित, प्रभावकारी र सशक्त टिम बनाएको छु । उहाँहरूले त्यही टिममा कार्यसमिति सदस्यका रुपमा अन्य सशक्त व्यक्तिहरूको साथ लिनु भएको छ। सशक्त रुपमा नै हामी अगाडी बढेका छौँ । आफ्नो क्षेत्रमा उहाँहरूको आफ्नै फिल्ड भिजिटदेखि सबै कामहरू भइरहेको छ ।
सबै जना आ– आफ्नो क्षेत्रमा विज्ञ हुनुहुन्छ भन्नु भयो ? महासंघको नेतृत्वमा आएपछि नयाँ केही गर्छु भन्ने भिजन छ ?
अहिले हामी 'वाचा पत्र' बनाउँदैछौं । वाचा पत्रमा नै घोषणा गछौं । विशेष गरी महासंघलाई सशक्त रुपमा कसरी अगाडी लान सकिन्छ र सङ्गठनलाई कसरी सुदृढीकरण गर्न सकिन्छ भन्ने कुरा महत्त्वपूर्ण छ । व्यवसायीहरूको सम्मानलाई अझै अगाडी बढाउनुपर्ने छ । वाचा पत्रमा यी कुराहरू समेटेर लिएर आउँछौँ ।
यहाँसँग अरू पनि प्रतिस्पर्धी हुनहुन्छ ? उहाँहरूसँग सहकार्य अथवा सामूहिक नेतृत्व गरौँ भन्न सक्ने ठाउँहरू पनि छन् कि ?
सामूहिक नेतृत्व गरौँ भन्ने कुरा राम्रो कुरा हो । त्यसमा एक जनाले मात्र गरेर हुँदैन । सबैको सहमति हुुनपर्यो । सामूहिक नेतृत्व के–का लागि, कसको लागि, कसरी र किन ? त्यहाँ म होइन हामी भन्न सक्नुपर्यो । सबै तयार हुनपर्यो । म शब्दबाट सामूहिक कुरा आउँदैन । अझ हामी भन्दा पनि हाम्रो भन्ने शब्द आउनुपर्छ । हाम्रो नेतृत्व भन्नु सक्नुपर्यो । तसर्थ सामूहिक नेतृत्वका लागि सबै लाग्न सक्नुपर्यो ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
जिल्ला नगर वाणिज्य सङ्घ ११८, वस्तुगत सङ्घ १२३ वटा र १७२२ वटा एशोसियट्सहरु छन् । एफएनसीसीआईको ५७ औँ वार्षिक साधारण सभामा नयाँ नेतृत्वको लागि निर्वाचन हुँदै छ । त्यसमा मैले आफुलाई वरिष्ठ उपाध्यक्ष उम्मेदवारी रुपमा प्रस्तुति गरेको छु । यहाँहरू सबैको साथ समर्थन लिएर भोलिका दिनमा नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व उन्मुख हुन्छु । मेरो सम्पूर्ण टिमलाई तपाईँहरूको साथ, समर्थन र सहयोग हुनेछ भन्ने विश्वास लिएको छु।
म अहिले वरिष्ठ उपाध्यक्ष हुने हो त्यसको तीन वर्षपछि मात्र म अध्यक्ष हुने हो । नेतृत्व उन्मुख हुने हिसाबले अगाडी बढेकोमा सबैको साथ समर्थन र सहयोगको अपेक्षा राखेको छु । मलाई विजयी तुल्याउनु हुनेछ भन्ने विश्वास लिएको छु ।
प्रतिक्रिया दिनुहोस