काठमाडौं । कर्मचारी कटौती गर्ने तयारी थालेको सरकारले तीन दिन भित्र कर्मचारीको विवरण माग गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घीय कार्यालयका कर्मचारीहरुको विवरण माग गरेको हो ।
मंगलबार प्र्धानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चाहिनेभन्दा बढी कर्मचारीको चापलाई कटौती गरिने बताएका थिए। उनले भनेका थिए, “ओभरस्टाफिङको समस्या छ । अनावश्यक संरचनाहरू छन् । तिनीहरू कटौती गरेर प्रशासनयन्त्र चुस्त बनाउनुपर्छ । त्यसका लागि आयोग गठन आवश्यक छ ।”
प्रधानमन्त्रीको तयारी अनुसार नै मन्त्रालयले सबै मन्त्रालय, संवैधानिक आयोग र संवैधानिक निकायहरुलाई परिपत्र गर्दै तीन दिनभित्र कर्मचारीको विवरण बुझाउन भनेको छ । मन्त्रालयका उपसचिव कमानसिंह थापाद्वारा हस्ताक्षरित उक्त परिपत्रमा भनिएको छ, “मन्त्रालय–संवैधानिक आयोगको स्वीकृति सङ्गठन संरचनाबमोजिम कर्मचारीको पदपूर्तिसम्बन्धी ढाँचामा कर्मचारीको विवरण तीन दिनभित्र मन्त्रालयको कर्मचारी महाशाखामा बुझाउन निर्णयअनुसार अनुरोध छ ।”
उक्त परिपत्रमार्फत मन्त्रालयले पद, श्रेणी, सेवा समूह, स्वीकृत दरबन्दी, पदपूर्ति, रिक्त, फाजिल, सरुवा लगायतको विवरणसमेत माग गरेको हो ।
प्रतिक्रिया दिनुहोस