aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

उमेर पुगेपछि विवाह गरे दश हजार पुरस्कार पाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ चैत्र २०७९
उमेर पुगेपछि विवाह गरे दश हजार पुरस्कार पाइने

कालीकोट । कालीकोटको शुभकालिका गाउँपालिका– ७ ले उमेर पुगेर विवाह गर्ने महिलालाई जनही रू १० हजार पुरस्कार दिने निर्णय गरेको छ । चैत १ गतेबाट लागू हुने गरी २० वर्ष उमेर पुगेपछि विवाह गर्ने महिलालाई रू १० हजार दिने निर्णय गरेको हो । 

बालविवाहका घटना बढ्दै जान थालेकाले त्यसलाई रोकथाम गर्ने उद्देश्यले २० वर्ष उमेर पुगेपछि विवाह गर्ने महिलालाई पुरस्कार दिने निर्णय गरिएको वडाध्यक्ष प्रेमबहादुर शाहीले बताए । उनले वडाका कसैले विवाह गरेमा वडा कार्यालयको सिफारिस लिनुपर्ने भन्दै बालविवाह रोक्न यस्तो नीति लिइएको बताए । 

वडाका कुनै पनि महिला र पुरुषले अन्य कुनै वडा वा जिल्लाबाट विवाह गर्नुपरेमा उमेर खुलेको प्रमाणपत्रसहित वडाबाट अनिवार्य सिफारिस लिनुपर्ने नियम बनेको वडाध्यक्ष शाहीले जानकारी दिए । “कसैले सिफारिस नलिई विवाह गरेमा वडाबाट प्रदान गरिने सबै सेवा सुविधा बन्द गर्ने निर्णय भएको छ”, उनले भने । 

उमेर नपुगेको पाइएमा कानुनअनुसार कारबाहीका लागि वडाले नियम बनाउन लागेको गाउँपालिका उपाध्यक्ष धर्मा शाहीले बताए । “यसभन्दा अघि शुभकालीका–४ ले वडाको सिफारिसबिना विवाह गर्न नपाइने र गरिहालेमा केही सेवाबाट वञ्चित गर्ने निर्णय गरेको थियो ।” उनले भने, “अब यो नियम पालिकाभरी लागू हुनेगरी बनाउँदै छौँ ।”

प्रतिक्रिया दिनुहोस