aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

बैंक डुब्दा चम्कियो सुन, अरू के के हुन् कारण ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ चैत्र २०७९
बैंक डुब्दा चम्कियो सुन, अरू के के हुन् कारण ?

काठमाडौँ। विश्वव्यापी रुपमा धितो पत्र बजारमा आएको गिरावटका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा तीव्र तर बढोत्तरी देखिएको छ। आइतबार नेपाली बजारमा सुनको अहिलेसम्म कै उच्च प्रतितोला एक लाख १० हजार रुपैयाँ पुग्यो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सोमबार छापावाल सुनको मूल्य तोलामा एक लाख ९ हजार ३ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार ८ सय रुपैयाँ रहेको छ ।        

छिमेकी मुलुक भारतमा पनि एक साताअघि ५५ हजार भारुको हाराहारीमा कारोबार भइरहेको सुन अहिले प्रति दश ग्राम ६० हजार ६५ भारु पुगेको छ । त्यहाँपनि यसअघि सर्वकालीन उच्च प्रति १० ग्राम रु ५८ हजार ८४७ भारु मात्र पुगेको थियो।

यस कारण बढ्यो सुनको भाऊ 

अमेरिकाबाट सुरु भएको बैंकिङ सङ्कट विश्वका अन्य मुलुकमा पनि फैलिन थालेको छ । जसका कारण सेयर बजारमा पनि ठूलो उथलपुथल देखिएको छ । वित्तीय संकटको अवस्थामा मानिसहरू विशेष गरी सुनलाई लगानीको लागि सबैभन्दा मन पर्ने विकल्पको रूपमा लिन्छन्। 

बजार विज्ञहरूका अनुसार सुनको भाउ बढ्नुको मुख्य कारण अमेरिका तथा अन्य मुलुकमा बैंकिङ सङ्कट, डलरको घट्दो विश्वास र कारोबार र सेयर बजारको अनिश्चितता रहेका छन्। यस्तो अवस्थामा सुनमा लगानी ह्वात्तै बढेको छ ।

विज्ञहरूका अनुसार सुनको भाउमा आएको यो उकालोले अझै केही समय निरन्तरता पाउने छ। अमेरिकाको फेड रिजर्भमा फेरि ब्याजदर बढ्ने डर र अमेरिकी बैंकिङ संकटका कारण हुनसक्ने मन्दीको खतराले सुनको चमक बढाउने काम गरेको छ ।

संकटको घडीमा सुरक्षित लगानीको खोजीमा रहेका मानिसहरू अहिले सुनमा लगानी गर्ने विश्वास गर्न थालेका छन् । विगतमा पनि डलरको मूल्यमा आएको गिरावटको प्रभावले पनि सुनको भाउ बढाउने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस