aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

ज्ञानेन्द्र शाहीको बोलीका कारण चल्यो दुई युवा नेताबीच जुहारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ चैत्र २०७९
ज्ञानेन्द्र शाहीको बोलीका कारण चल्यो दुई युवा नेताबीच जुहारी

काठमाडौँ  । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले संसद्मा बोलेको विषयमा माओवादी र राप्रपाका युवा सङ्गठन प्रमुखहरू बीच जुहारी चलेको छ। नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाइसिएल) का अध्यक्ष सुबोध शेर्पालीले राप्रपाका सांसद ज्ञानेन्द्र शाहीलाई सीमा नाघेर नबोल्न चेतावनी दिएपछि त्यस बिरुद्ध राप्रपाका तर्फबाट झनै कडा प्रतिक्रिया आएको छ। 

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै शेर्पालीले सीमा नाघेर बोले समय अनुसार मज्जाले जवाफ दिने बताएका छन्। उता राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनका अध्यक्ष सुजित केसीले शेर्पालीलाई फेसबुक मार्फत नै जवाफ दिँदै कायरको संज्ञा दिएका छन्। केसीले शेर्पालीलाई बिरालोले म्याउँ गरेको मात्रै सुहाउने हुँदा बाघ भएको भ्रम नपाल्न सुझाव दिएका हुन्। 

केसीले लेखेका छन् - राष्ट्रपिता श्री ५ वडा महाराजाधिराज पृथ्वीनारायण शाहको दिव्योपदेशलाई मन्त्रका रूपमा स्वीकार गरेका हामी 'जाई कटक नगर्नु, झिकी कटक गर्नु ’ भन्ने मान्यता बोकेका राष्ट्रवादी युवा हौँ भन्ने कुराको हेक्का सबैमा रहोस् भन्ने हाम्रो आग्रह छ । 

संसद्मा सत्य निरूपण तथा मेलमिलाप आयोग सम्बन्धी संशोधित ऐन संसद्मा पेश भएपछि शाहीले आपत्तिजनक शब्द प्रयोग गरेको भन्दै शेर्पालीले विरोध जनाएका हुन् । ‘संविधानको मर्म भावना र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने सरकारको योजनाका विरुद्ध संसद्मा ज्ञानेन्द्र शाहीले छनौट गरेको शब्द र अभिव्यक्तिले द्वन्द्व न्यूनीकरण होइन थप विवादास्पद बनाइ मुलुकलाई थप अस्थिर बनाउने  निश्चित छ’ शेर्पालीले भनेका छन्, ‘माननीय जस्तो व्यक्तिको यस्तो लज्जापूर्ण अभिव्यक्त जति निन्दा गरे पनि अपुग नै हुन्छ ।’  

गणतन्त्रको तलब भत्ता खाएर आफ्नो जिम्मेवारी र हैसियतभन्दा बाहिर नबोल्न सुझाव दिएका शेर्पालीलाई केसीले भनेका छन् - 'एउटा सांसदले नेपालको संविधानले दिएको अभिव्यक्तिको स्वतन्त्रताको उपयोग गर्दै संसद्मा सत्य र न्यायको विषयमा आफ्नो र पार्टीको धारण व्यक्त गरेको विषय उठान गरी जसरी धम्कीपूर्ण विचार सार्वजनिक गरिएको छ, त्यो गैर-राजनीतिक विधि हो भन्ने कुरा उहाँ जस्तो व्यक्तिलाई बुझाउन शायद यो स्ट्याटसले मात्रै नपुग्ला। संसद् के हो र त्यहाँ कस्ता अभ्यास हुन्छन् भन्ने सामान्य ज्ञान नभएकाले यो विषयमा प्रवेश नगरेकै भए हुन्थ्यो । खैर, गर्नु भयो ।' 

शेर्पालीले शाहीलाई 'विचार गर्नु समयको रफ्तार भन्दा मनोगत बनेर बेहोसी बन्दा उत्पन्न परिणामको तेजले तपाइलाई पूर्ण होसमा लिँदा समयले निकै टाढा पुर्‍याइसकेको नहोस्’ उनले भनेका छन्,‘माननीय ज्यु बोल्न पाइन्छ तर सीमा नाघेर बोले समय अनुसारको जबाफ मज्जाले पाउनुहुनेछ ।’ भन्दै धम्काएकोमा केसीको प्रतिक्रिया छ - 'हामी अनुशासित छौँ तर कमजोर छैनौँ । राजनीतिक र वैचारिक रूपले सक्षम युवाले धम्कीको बोली बोल्दैन, राजनीतिक रुपमा नै जवाफ दिन्छ र दिनुपर्छ पनि । हामीलाई जिस्काउने काम बन्द गर्न म सचेत गर्दछु ।' 

केसीले भविष्यमा यस्तो कुनै पनि अमर्यादित र अराजनीतिक अभिव्यक्ति नदिन समेत शेर्पालीलाई सुझाएका छन्। उनले लेखेका छन्- 'एउटा युवा सङ्गठनको नेतृत्वमा बसेको जिम्मेवार व्यक्तिबाट यस्तो उत्श्रृंखलता प्रदर्शित हुनु लज्जास्पद पनि हो । युवाले संस्कार र मर्यादाको पालना गर्दै सकारात्मकताको विकास गर्दै समग्र युवाको मर्म र भावनालाई सम्बोधन हुने गरी जिम्मेवार बन्नु पर्छ । हामीले हाम्रा मूल्य, मान्यता र दायरा बुझेका छौँ ।'

प्रतिक्रिया दिनुहोस