
नेपालको अर्थतन्त्रमा देखिएको समस्या सहज हुँदैछ भन्ने सरकारी रटान र दिनप्रतिदिन सकस बढ्दै गइरहेको छ भन्ने उद्योगी/व्यापारीहरूको अलाप बीच कुन सत्य हो भन्ने छुट्याउन आम नागरिकलाई सकस परिरहेको छ। यहि बेला मङ्गलवार काठमाडौँमा प्रधानमन्त्री पुष्प कमल दाहाल 'प्रचण्ड' का सामुन्ने केही युवाहरूले ज्यान छाडेर विलाप गरे- सरकार नागरिक मरिसके बचाऊ।
मुलुकको आर्थिक अवस्थामा उल्लेखनीय सुधार आएको भन्दै संसद्मा प्रधानमन्त्रीले लामो भाषण गरेको अर्को दिन नै उनी सामु युवाहरूले गरेको विलापलाई यदि दलीय राजनीतिको लेप नलगाई हेर्ने हो भने सरकारले के स्विकार्नु पर्छ भने अवस्था प्रधानमन्त्रीले संसद्मा कर्मचारीले लेखेर दिएको भाषण वाचन गर्दा भने जस्तो सहज छैन।
त्यसो त जुन बेला युवाहरू बेंकको मिटर ब्याजले आफुलाई आक्रान्त पारेको भन्दै प्रचण्डसमक्ष हार गुहार गर्दै थिए ठिक त्यही बेला नेपाली उद्योगी व्यापारीका सर्वोच्च नेता अर्थात् नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छा भन्दै थिए - आर्थिक मन्दीले नराम्ररी छोपेको छ। राष्ट्र बैङ्कले दिएको तथ्याङ्कले भने जसो बजारको स्थिति छैन।
नेता, कर्मचारी, व्यवसायी र आम नेपालीको हालको आर्थिक अवस्थाका बारेमा रहेको बुझाई र भोगाइमा रहेको अन्तरलाई जबसम्म एकरूपतामा हेर्ने दृष्टिकोण विकास गर्ने तर्फ सरकार लाग्दैन त्यो बेलासम्म हालको सङ्कटबाट बाहिर निस्कने बाटो तय हुन सक्दैन।
हुन पनि बुझाइमा अन्तर कस्तो छ भने सोमबार संसद्मा प्रधानमन्त्री भन्दै थिए- अर्थतन्त्रको पुनरुत्थान, सेवा प्रवाहमा सुधार, सुशासन, विकास र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर नीतिगत, प्रक्रियागत र संस्थागत सुधारका निर्णयहरू कार्यान्वयनमा लगिसकिएको छ । यसैको परिणामस्वरूप केही आर्थिक परिसूचकहरूमा सकारात्मक नतिजा देखिएको छ ।
गोल्छाले अर्को दिन मङ्गलवार अर्थतन्त्रको चित्र पेश गरे - 'औपचारिक र अनौपचारिक दुवै क्षेत्रमा ठुलो मात्रामा रोजगारी गुमिरहेको छ । यो आर्थिक मन्दीको स्पष्ट सूचक हो ।’ त्यसबाहेक डिजेलको खपतमा आएको गिरावटलाई पनि उनले आथिर्क मन्दीको सूचकको रुपमा पेश गदै उनले थपे, ‘अरू पनि धेरे इन्डिकेटरहरु छन् । जसले हाम्रो अर्थतन्त्र अत्यन्तै सुस्त बनाइरहेको छ । यो स्तरको सुस्तता कहिल्यै छाएको थिएन ।’
उता सर्वसाधारण युवाले माग राख्ने क्रममा पनि बानेश्वरमा त्यही कुरा भनिरहेका थिए जुन कुरा उद्योगी गोल्छा गर्दै थिए। युवाको माग थियो- 'मूल्यवृद्धि खारेज गर, बैङ्कको मिटर ब्याज मिनाहा गर।' बजारमा खासमा रहेको मूल्य वृद्धि र नेपाल राष्ट्र बैङ्कले रिपोर्टमा उल्लेख गरेको तथ्याङ्क बीच मेल नखाने कुरा गोल्छाले समेत बताएका थिए। खासमा बजारमा मूल्य वृद्धि कति छ भन्ने कुरा व्यापारीलाई थाहा छ। उपभोक्तालाई थाहा छ।
त्यसैले गोल्छाले निकै मननीय कुरा गरेका हुन्। उनी भन्दै थिए- 'राष्ट्र बैङ्कको तथ्याङ्क र बजारको उपभोक्ताले भोगेको यथार्थबिच तालमेल नखाएको विषयमा गम्भीर बहसको आवश्यकता छ।' उता आम सर्वसाधारण प्रहरीको भ्यानमा पुलिसले छोपेको मुखबाट हात पन्छाउँदै सरकारसँग बिन्ती गर्दै थिए- 'हात जोडेर बिन्ती गर्छु सरकार जनता मरे, बचाऊ।'
प्रतिक्रिया दिनुहोस