aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

होटल पौवाको ११ औँ शाखा पोखरामा, यस्ता छन् सुविधा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ चैत्र २०७९
होटल पौवाको ११ औँ शाखा पोखरामा, यस्ता छन् सुविधा

पोखरा । नेपालमा पूर्णरुपमा नेपाली हस्पिटालिटी सहित पहिलो सेवा प्रारम्भ गरेको होटल पौवा प्रालीले सुन्दर पर्यटकीय सहर पोखराको लेकसाईडमा आफ्नो आतिथ्य सेवा सुरु गरेको छ । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ whence hospitality begins भन्ने मूल मन्त्रलाई आत्म सात गरेको पौवाले नेपालकै पर्यटन उद्योगको लोभलाग्दो प्रमुख गन्तव्य पोखराको लेकसाइड स्थित स्ट्रिट नं. १ बाट आफ्नो ११औँ शाखा सञ्चालनमा ल्याएको हो । 

पौवाको ११ औँ शाखाको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले चैत्र १० गते बिहान १० बजे औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ । विविध कार्यक्रमका साथ पौवाले शाखा सञ्चालनको औपचारिक शुभारम्भ गर्न लागेको हो । 

शुभारम्भको अवसरमा यही चैत १०, ११ र १२ गते ३ दिनमा फुड टेस्ट, पौवाका सबै शाखाका सेफहरुबीच अन्तर शाखा प्रतिस्पर्धा, नेपाली आतिथ्यताबारे सम्मेलनसहित विविध कार्यक्रम आयोजना हुने होटल पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले बताए । उद्घाटन कार्यक्रमसहित विविध कार्यक्रमको जानकारी दिन बुधवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले पौवामा आएर खानाको स्वाद चाख्न सबैलाई आग्रह समेत गरे । 

‘कोरोना महामारीले नेपालको समग्र पर्यटन उद्योगलाई नराम्ररी प्रभावित बनायो । त्यसमा पनि होटल व्यवसाय झन् बढी मारमा पर्‍यो । तर, पछिल्लो समय बिस्तारै बाह्य पर्यटकहरूको आगमन बढ्न थालेसँगै होटल उद्योगहरू पनि चलायमान हुन थालेका छन्’, ज्ञवाली भने ।   

‘होटलमा लगानी गर्नु अझै पनि चुनौतीपूर्ण छ । तर हामी यो चुनौतीलाई अवसरमा रूपान्तरण गर्नका लागि होटल पौवाको विस्तार गर्दै पोखरा आइपुगेका छौ’, ज्ञवालीले थपे, ‘आन्तरिक पर्यटक र बाह्य पर्यटकको सही संयोजन गर्न सके होटल व्यवसाय सञ्चालन गर्न सकिन्छ भन्ने आफूहरूको अनुभव रहेकै कारण पोखरामा प्रवेश गरेका हौँ । हामी प्रदान गर्ने सेवा, सत्कार र आतिथ्यता सबै नेपालीपनको हुने प्रतिबद्धता जनाउँछौँ ।’

पोखरामा पौवाको प्रवेश

सामान्यतया: नेपाल घुम्ने बाह्य र आन्तरिक पर्यटकको पहिलो रोजाई पोखरा हो । पोखरा आउने पर्यटकलाई परम्परागत नेपाली पहिचानसहितको सेवा दिने उद्देश्यले पौवाले पोखरालाई आफ्नो रोजाइमा पारेको जनाइएको छ । प्रबन्ध निर्देशक ज्ञवालीले भने, ‘पौवाले दिने आतिथ्य पोखरा आउने पर्यटकका लागि अविस्मरणीय हुनेछ । पोखरावासी र बाहिरका सबै पाहुनाहरूलाई पुनः पौवामै आउने, पौवामै बस्ने, पौवामै कार्यक्रम गर्ने बनाउन हामीले मन, वचन र कर्मले इमानदारीपूर्वक सेवा सत्कार दिनेछौँ ।’

नेपाली पर्यटन उद्योगमा नेपाली हस्पिटालिटीको पहिलो प्रयोगका रूपमा ‘होटल पौवा’ सुरुवात भएको होटलका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए । नेपाली बजारमा विदेशी हस्पिटालिटी प्रयोग हुँदै आएको सन्दर्भमा पौवामा प्रवेश गर्ने जो कोही पाहुनाले नेपाली सत्कार, नेपाली संस्कार र नेपाली स्वादको अनुभूति गर्ने अध्यक्ष भण्डारीले बताए । ‘होटल प्रवेश गरेदेखि बिदाइ हुँदासम्म नेपालीपनको सेवा दिनु होटलको उद्देश्य हो,’ उनले भने,  ‘नेपाली संस्कृति र संस्कार एवं नेपाली रैथाने स्वादको पहिचान दिनु पौवाको लक्ष्य हो ।’ 

१० वटा शाखासहित नेपालीपनको सेवा दिँदै आएको पौवाले ११ औँ शाखाको रूपमा पोखरामा करिब १० करोड बढी लगानी गरेको छ भने पोखरामा अझै थप लगानी गर्न योजना रहेको प्रवन्धनिर्देशक ज्ञवालीले बताए । पौवाको लक्ष्य अनुसार मिसन १०० मा पुग्दा पौवाको लगानी अर्बौँ पुग्ने होटलले जनाएको छ  । 

पौवा पोखरामा यस्ता छन् सुविधा 

पौवा आतिथ्य सेवालाई मूल मन्त्रको रूपमा सञ्चालित होटल हो । संस्कार सिकाउने विश्रामस्थलको रूपमा पौवाले आफ्नो विस्तारको लक्ष्य लिएको छ ।  सुन्दर गार्डेनसहितको सुविधा सम्पन्न होटल भवनमा सुपर डिलक्स र मिनी सुईटगरी ३९ वटा सुविधा सम्पन्न कोठाहरू छन् । 

प्रत्येक कोठामा वातानुकुलित रहेका छन् भने उच्च गतिको इन्टरनेट सुविधा उपलब्ध छ । कोठाबाटै माछापुच्छ्रे र अन्नपूर्ण हिमालसहित शान्तिस्तुपा र रानीवनको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । 

होटलमा दुई वटा सेमिनार हल र कन्फरेन्स हल रहेका छन्, जहाँ एकै पटक फरक फरक बैठक, सेमिनार लगायतका विविध कार्यक्रम गर्न सकिन्छ । पौवा पोखराको मुख्य आकर्षण एक हजार बढी क्षमताको ‘फेवा हल’ हो । फेवा हलमा एकै पटक एक हजार बढीको उपस्थितिमा सभा, सम्मेलन, विवाह उत्सव लगायतका विविध मनोरञ्जनात्मक कार्यक्रम गर्न सकिन्छ । 

ठूलो उपस्थितिका लागि पार्किङ अत्यावश्यक रहेको छ । पौवामा एकै पटक पचासौँ सवारी साधन पार्किङ गर्न सक्ने सुविधा रहेको छ । सबै खाले सुविधायुक्त पौवा यस्ता कार्यक्रमहरू गर्न पोखरा र आसपासका बासिन्दाका लागि समेत सहज गन्तव्य बन्ने होटलका ब्राण्ड विभाग प्रमुख विष्णु भण्डारीले विश्वास व्यक्त गरे ।   

पौवाले चौबिसै घण्टा आतिथ्य सत्कारको सेवा दिएको छ । पूर्ण पारिवारिक वातावरणमा सञ्चालन हुने पौवाले  पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र बसपार्कसम्म ल्याउने÷लैजाने ट्रान्सफरको सुविधा रहेको छ । ‘हामीलाई विश्वास छ पोखरा पौवामा आउनुहुने आन्तरिक र बाह्य पर्यटकलाई आतिथ्य सत्कार सहितको सेवामा कुनै कमी हुन दिँदैनौँ’, अध्यक्ष भण्डारीले प्रतिबद्धता व्यक्त गरे । 

पौवा पोखराले मात्र ५० भन्दा बढिलाई प्रत्यक्ष रोजगारी दिएको छ । पौवाको सेवाले पोखरा घुम्न आउने पर्यटकले नेपाल चिनाउने अवसरको रूपमा लिइएको ब्राण्ड प्रमुख भण्डारीले बताए । ‘होटलमा आउने अतिथि तथा ग्राहकको सन्तुष्टि नै हाम्रो सेवाको आदर्शको  रूपमा लिएका छौ । आउँदै गरेको नेपाली नयाँ वर्षमा पौवाले स्वदेशी र विदेशी पर्यटकलाई लक्षित गरी विशेष छुट सहितको प्याकेज सेवा उपलब्धको तयारमा पौवा ग्रुपले तयारी गरेका छौँ’, उनले भने ।  

मिसन १०० को यात्रा निरन्तर

नेपाल घुम्ने विदेशी वा स्वदेशी पर्यटकको आतिथ्य सेवा दिएर नेपालप्रति सकारात्मक धारणा बनाउने पौवाको प्रयास हो । एक दशकमा १०० शाखा विस्तारको योजनासहित मिसन १०० योजना बनाएको होटल पौवा पोखरासहित अहिलेसम्म देशभर ११ स्थानमा सञ्चालनमा छ । 

विश्व शान्तिका दूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट सुरु गरेको यात्रा अहिले पोखरामा आइपुगेको हो । रुपन्देहीको सालझण्डीबाट (हाल बन्द) आफ्नो यात्रा सुरु गरेको पौवाले रुपन्देहीकै भैरहवा र बुटवल, कपिलवस्तुको गोरुसिङ्गे, दाङको भालुवाङ, लमही र घोराही, कर्णाली प्रदेशको जुम्ला, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गा र सुदूरपश्चिम प्रदेशको धनगढी पछि ११ औ शाखाका रूपमा पोखराको गन्तव्य तय गरेको छ ।

पौवाले अहिलेसम्म ३ वटा मोडेलमा आफ्नो सेवा विस्तार गर्दै आएको छ, जस अन्तर्गत पहिलो मोडेलमा आफ्नै लगानी र स्वामित्वमा सेवा दिने, दोस्रो स्थानीय साझेदारसँग संस्थागत साझेदारीमा सेवा दिने र तेस्रो मोडेलमा व्यवस्थापन जिम्मा लिएर पौवाको ब्राण्डमा सेवा दिने गरि संस्थाले सेवा प्रवाह गरिरहेको छ ।   

‘नेपालीको प्रकृतिसँगै रम्दै नेपालीपनको आतिथ्य सबै पर्यटकलाई दिनका लागि पोखरामा नआउँदा केही कमी हुनेछ भन्ने लागेपछि नै हाम्रो टिमले पोखरामा पौवा ग्रुपको प्रवेश गराएको हो’, अध्यक्ष भण्डारी भने, ‘देश पर्यटनबाट समृद्ध बन्छ भन्ने सोचकै कारण पर्यटन क्षेत्रमा पौवाको आक्रमण बिस्तारमा जुटेका छौ ।’  

पुर्वजबाटै सिक्दै आएको आतिथ्यताको सनातन संस्कारलाई अहिलेको पुस्ताले समेत ‘अतिथि देवो भवः’ मार्फत आत्म सात गर्न सक्छ भन्ने उद्देश्यले पौवाको रहेको छ । पौवा अब गण्डकी प्रदेशको राजधानी पोखराबाट संघीय राजधानी काठमाडौंमा प्रवेश गर्न लागेको छ । मन्दिरहरूको सहर काठमाडौमा यसै आर्थिक वर्षभित्र प्रवेश गर्दै छ । नेपाल प्रवेशको प्रमुख स्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नजिकै, हिन्दुहरूका आरध्यदेव पशुपतिनाथको समिपमा पौवाले आफ्नो सेवा विस्तार गर्दै छ । जहाँबाट सबै खाले पर्यटकहरूलाई अझ उत्कृष्ट आतिथ्य सेवा प्रदान हुनेछ । त्यसैगरी मानसरोवर कैलाश यात्राको मुख्य प्रवेशद्वार नेपालगन्जमा पनि पौवाले सेवा विस्तार गर्न लागेको छ ।  

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस