
काठमाडौं । सामाजिक सुरक्षा कोषमा वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिकहरूलाई समेत आजदेखि समेटिएको छ। नयाँ योजनाको शुभारम्भ आज काठमाडौंमा आयोजित एक समारोहबिच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् ।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पाँच वर्षे रणनीतिक योजना पनि सार्वजनिक गरे । जसमा मन्त्रालयले कसरी काम गर्ने र कसरी परिणाम निकाल्ने भन्ने मार्गचित्र समेटिएको छ ।
वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा ल्याउन उक्त योजना सुरु गरिएको हो । जस अनुसार अब श्रम स्वीकृति लिने बेला, श्रम स्वीकृति नवीकरण गर्ने बेला र नवीकरण गर्ने बेला नभएकाहरू पनि वैदेशिक रोजगार विभाग र सामाजिक सुरक्षा कोषको वेबसाइटमार्फत यो योजनामा सहभागी हुन सक्छन् ।
सामाजिक सुरक्षा कोषका अनुसार त्यसका लागि हरेक महिना २ हजार २ रुपैयाँ बुझाउनुपर्छ । यो रकम एकमुष्ट पनि बुझाउन सकिन्छ । सात महिनाभन्दा बढीको रकम जम्मा गरेमा १० प्रतिशत छुट पाइन्छ। खल्ती, ई सेवा र कनेक्ट आईपीएसमार्फत नै रकम जम्मा गर्ने व्यवस्था मिलाइएको छ ।
यो सम्बन्धी जानकारी ह्वाट्सय एप र भाइबर ग्रुपमा जोडिएर पनि लिन सकिन्छ । सहजताको लागि कल सेन्टर समेत स्थापना गरिएको छ। यस्तो सुविधा चौबिसै घण्टा सञ्चालन गर्ने व्यवस्था मिलाइएको पनि कोषका निर्देशक कपिलमणि ज्ञवालीले जानकारी दिए ।
यो योजना सुरु भएसँगै अब वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली श्रमिक यसबाट लाभान्वित हुने विश्वास छ । समारोहमा गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अध्यक्ष कुल आचार्यले यो योजनाका लागि आफूहरूले पहल गर्दै आएको र अहिले पूरा भएकोमा खुसी व्यक्त गरे
कोषमा हालसम्म औपचारिक क्षेत्रका तीन लाख ९९ हजार पाँच सय ६६ श्रमिक आबद्ध भइसकेका छन्। कोषमा ३० अर्ब ८७ करोड रुपैयाँ योगदान रकम सङ्कलन भएको छ। कोषले योगदानकर्तालाई तीन अर्ब ८१ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ। विसं २०७५ मङ्सिर ११ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको थियो।
प्रतिक्रिया दिनुहोस