काठमाडौँ। बिल विजक भन्दा बढी विभिन्न किसिमका खुद्रा, हार्डवेयर तथा लत्ताकपडाहरू बोकेको ट्रकहरू प्रहरीले नियन्त्रणमा लिएको छ। वीरगन्जबाट नेपालगन्जतर्फ जाँदै गरेका त्यस्ता दुई वटा ट्रकहरू पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार सूचना प्राप्त भई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले मिति चैत्र ७ गते जिल्ला पर्सा, वीरगन्ज महानगरपालिका वडा नं ०८ घण्टाघर स्थित सडक खण्डबाट माल समान सहितका ट्रक कब्जामा लिएको हो। प्रहरीले नियन्त्रणमा लिएका ट्रकहरू ना ८ ख १६१३ र ना४ ख ३८३१ नम्बरका रहेका छन्।
ट्रकलाई नियन्त्रणमा लिई उक्त मालवाहक ट्रकभित्र लोड रहेका एक करोड एघार लाख उनान्सय हजार उनन्चालीस रुपैयाँ मूल्यका खुद्रा, हार्डवेयर तथा लत्ताकपडाहरू अनुसन्धानको लागि राखिएको छ। ती माल बस्तुहरू थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि चैत्र ८ गते राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्सा प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस