aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

विदेशमा रहेका नेपालीको लागि खुलेको मेन्छियाम हाइड्रोपावरको आईपीओ बाँडफाँट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ चैत्र २०७९
विदेशमा रहेका नेपालीको लागि खुलेको मेन्छियाम हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजागारीमा रहेका नेपाली कामदारका लागि विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले सर्वसाधारणमा जारी हुने कुल कित्ता आईपीओमध्ये १० प्रतिशत आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकमा विक्री गरेको थियो । 

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणमा विक्री गरिने जारी पूँजीको २० प्रतिशत दरको कुल १० लाख ८५ हजार १६७ कित्ता शेयरमध्ये १० प्रतिशत दरको १ लाख ८ हजार ५१७ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारमा विक्री गरेको थियो ।

फागुन १० गतेदेखि २५ गतेदेखि विक्री गरिएको उक्त आईपीओ रितपूर्वक आवेदन दिने आवेदकहरूलाई चैत ७ गते सम्पूर्ण कित्ता आईपीओ बाँडफाँट गरिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकसँगै आयोजना प्रभावित स्थानीयमा समेत आईपीओ जारी गरेको थियो । स्थानीयमा जारी भएको आईपीओ आजसम्म मात्र विक्रीमा रहेने कम्पनीको भनाई छ । 

कम्पनीले जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँको १० प्रतिशत शेयर आयोजना प्रभावित स्थानीयमा विक्री गर्न लागेको हो । यस आधारमा आयोजना प्रभावित स्थानीयमा प्रतिशेयर १०० रुपैयाँ दरका ५ करोड ४२ लाख ५८ हजार ३०० रुपैयाँ बराबरको ५ लाख ४२ हजार ५८३ कित्ता शेयर विक्री हुनेछ । कुल कित्ता शेयरमध्ये अति प्रभावित क्षेत्र संखुवासभा जिल्ला साविक सिद्धकाली, सिद्धपोखरी र मावादीन गाविसका बासिन्दाहरुका लागि २ लाख ७१ हजार २९२ कित्ता शेयर र बाँकी २ लाख ७१ हजार २९१ कित्ता शेयर यी वाहेकका संखुवासभा जिल्लाका बासिन्दाहरुमा विक्री हुने  छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । स्थानिय बासिन्दाले आयोजना स्थल, मादी नगरपालिका वडा नं. ७, वागा, चैनपुर नगरपालिका वडा नं. ३, तिनखोप्रे रेडक्रस भवनका सार्थ एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल एसबिआई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । 

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।

कम्पनीले संखुवासभा जिल्लामा ४ दशमलव ७२ मेगावाट क्षमताको माथिल्लो पिलुवा खोला २ जलविद्युत आयोजना निर्माण सम्पन्न गरी हाल परिक्षण उत्पादन सुरु भएको छ । यस आयोजना निर्माणको कुल लागत १ अर्ब ३१ करोड ९० लाख ७० हजार ४०८ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २७ करोड ९४ लाख ६४ हजार ६९ रुपैयाँ रहेको छ । अधिकृत पूँजी ५५ करोड रूपैयाँ रहेको कम्पनीको जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार रहेको छ । आयोजना प्रभावित स्थानीय र सर्वसाधारणमा आईपीओ जारी पछि कम्पनीको चुक्तापूँजी ५४ करोड २५ लाख ८३ हजार रूपैयाँ कायम हुनेछ । 

प्रतिक्रिया दिनुहोस