aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

एटिएम ह्याकको फरेन्सिक रिपोर्ट आउन ९० दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ भदौ २०७६
एटिएम ह्याकको फरेन्सिक रिपोर्ट आउन ९० दिन

काठमाडौं ।  दुई साताअघि नेपाली बैंकहरूको एटिएम प्रणाली ह्याक गरी रकम चोरी भएको घटना अनुसन्धान गर्न आएको फरेन्सिक (विज्ञ) टोली बिनानिष्कर्ष फर्किएको छ। सिंगापुरबाट आएको टोलीको उद्देश्य ह्याकरले प्रयोग गरेको विधि र सफ्टवेयरका कमी-कमजोरी पत्ता लगाउनु थियो।

यसअघि भएका कमी(कमजोरी पत्ता लगाई आगामी दिनमा हुन सक्ने सम्भावित आक्रमणबाट बच्न सुझाव दिन आएको चार सदस्यीय टोली सोमबार सिंगापुर फर्किएको नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए।

चिनियाँ ह्याकरले नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम (नेप्स)को सफ्टवेयरमा मालवेयर पठाएर ह्याक गरी रकमचोरेको यसअघि नै प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।  थप अनुसन्धान गर्न आएको विज्ञ टोली बिनानिष्कर्ष फर्किएको हो। टोली सिंगापुरमै थप अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन दिने जनाएको छ।

सात दिनभित्र अनुसन्धान प्रतिवेदन बुझाउने ‘टिओआर’मा हस्ताक्षर गरेको टोली सूक्ष्म अनुसन्धानका लागि फिर्ता भएको प्रवक्ता निरौलाले बताए। सूक्ष्म अध्ययनका लागि नेपालमा प्रविधि नभएकाले उनीहरू फर्किनु परेको भन्दै प्रवक्ता निरौलाले थपे, ‘सिंगापुरको उच्च प्रविधिमा अनुसन्धान गरी आगामी तिन महिनाभित्र प्रतिवेदन आउँछ।’ टोलीले पेस गरेको प्रारम्भिक प्रतिवेदनमा ‘अननोन एट दिस टाइम’ उल्लेख गरेको राष्ट्र बैंकले जनाएको छ। विज्ञ टोली फिर्ता भएसँगै नेप्सको प्रणालीमा पुनः आक्रमण हुन सक्ने भन्दै बचतकर्ता सशंकित छन्।

ह्याकरले नेप्सको प्रणाली ह्याक गरी सातवटा बैंकको एटिएम कार्ड प्रयोगबाट नेपाल र भारतका एटिएम बुथमार्फत तीन करोड ५८ लाख रूपैयाँभन्दा बढी चोरेका थिए। याकरले चोरी गरेको समयमा वास्तविक ग्राहकले पनि कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो।

सफ्टवेयर नै कमजोर भएकाले ह्याकरलाई रकम चोरी गर्न सहज भएको आरोप नेप्सलाई लागेको छ। चोरी भएपछि नेप्समा आवद्धबाहेक अन्य नेटवर्कमा आवद्ध बैंकका एटिएमबाट रकम झिक्न नमिल्ने व्यवस्था गरे पनि केही दिनयता नेप्सले भक्तानी प्रणाली सहज गरेपछि रकम चोरी हुने डर बढेको छ। यो समाचार अजके नागरिका दैनिकम प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस