aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

अब सुनचाँदीलाई पनि निक्षेपको मान्यता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ भदौ २०७६
अब सुनचाँदीलाई पनि निक्षेपको मान्यता

काठमाडौं । सरकारले आगामी असोजदेखि सुनचाँदीलगायत बहुमूल्य धातुलाई निक्षेपका रूपमा बैंकमा जम्मा गर्न पाउने व्यवस्था गर्ने भएको छ।

अर्थ मन्त्रालयले यस्तो व्यवस्थासहित नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न कार्ययोजना तयार पारेको छ। चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई मूर्तरूप दिन कार्ययोजना बनाइएको हो।


यस कार्यक्रमअनुसार पहिलो चौमासिकसम्म यो व्यवस्थाका लागि निर्देशिका बनाउने कार्ययोजनामा उल्लेख छ। चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा सबै आर्थिक कारोबार बैंकिङ प्रणालीमार्फत गर्ने उल्लेख छ। आर्थिक वर्ष २०७६÷७७ को बजेटमा नेपाली नागरिकले सम्पत्तिका रूपमा आर्जेको सुन र चाँदीलगायत बहूमूल्य धातु बैंकमा निक्षेपका रूपमा जम्मा गर्ने व्यवस्था गरेको छ।

सरकारले तयार गरेको बजेट कार्यान्वयन कार्ययोजनाअनुसार आगामी मंसिरसम्ममा उपभोक्ताले वस्तु तथा सेवा खरिद गर्दा कार्ड वा विद्युतीय माध्यमबाट भुक्तानी गरेमा मूल्य अभिवृद्धि कर (भ्याट) को १० प्रतिशत रकम फिर्ता हुनेछ।


यो व्यवस्थाअनुसार भुक्तानीकर्ताको बैंक खातामा फिर्ता रकम जम्मा हुनेछ। त्यसरी जम्मा हुने रकममा अग्रिम कर कट्टी नहुने बजेटमा उल्लेख छ। यो समाचार आजको अन्नपूर्ण पोष्टमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस