aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

पूर्णबहादुर खड्का उपप्रधानमन्त्री बन्दै, मन्त्री बन्ने नेताहरु को–को छन् ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ चैत्र २०७९
पूर्णबहादुर खड्का उपप्रधानमन्त्री बन्दै, मन्त्री बन्ने नेताहरु को–को छन् ?

काठमाडौं । नेपाली कांग्रेसले पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागिता जनाउने भएको छ । शनिबार राति सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकले खड्काको नेतृत्वमा पार्टी सरकारमा सहभागि हुनेबारेमा अनौपचारिक निर्णय गरेको हो ।

शनिबार बसेको बैठकमा पार्टीले न्यूनतम आठ मन्त्रालय लिएर सरकारमा सहभागि हुने निर्णय भएको जानकारी बैठकपछि पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले दिएका थिए ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलमा न्यूनतम आठ मन्त्रालय पाउने गरि छलफल भइरहेको बारे सभापति देउवाले जानकारी गराएका थिए ।

सभापति देउवाले भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले गठबन्धनमा धेरै दल भएको र सबैलाई मिलाउनु पर्ने भएकोले कांग्रेसलाई आठभन्दा धेरै मन्त्रालय दिन नसकिने बताएको ब्रिफिङ गरेका थिए । नेपाली कांग्रेसबाट मन्त्रिपरिषद्को दोश्रो बरियतासहितको सहभागिता हुने बताइएको छ । खड्काले उपप्रधानसहित एउटा महत्वपूर्ण मन्त्रालयको नेतृत्व गर्ने भएका छन् ।

त्यसो त प्रवक्ता महत ले पनि सरकारमा पार्टीको नेतृत्व गर्न चाहेको श्रोतको दाबी छ । अर्का उपसभापति धनराज गुरुङलाई पार्टीबाट सहभागि मन्त्रीहरुको नेतृत्व गराउनुपर्ने पर्नेमा शेखर–गगन समूहको दाबी रहँदै आएको छ ।

कांग्रेसबाट मन्त्रीको सूचीमा जीवन परियार, तेजुलाल चौधरी, डिगबहादुर लिम्बु, सञ्जय गौतम, दीपक खड्का, राजन केसी, एनपी साउद, किशोरसिंह राठौर, मोहन बस्नेत, शंकर भण्डारी, रमेश रिजाल, उदयशम्शेर राणा, सीता गुरुङ, श्याम घिमिरे, वीरबहादुर बलायर रहेका छन् ।

शनिबार नै बसेको नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा पनि सोमबारसम्ममा सरकारलाई पूर्णता दिने निर्णय भएको छ । स्रोतका अनुसार माओवादीले केही हेरफेरसहित अहिलेकै संख्यामा मन्त्रालय लिनेछ भने नेकपा (एकिकृत समाजवादी) ले तीन र लोकतान्त्रिक समाजवादीले दुई मन्त्रालयमा दाबी गरेका छन् । प्रतिनिधिसभामा एकिकृत समाजवादीका १० र लोसपाका ४ सांसद छन् ।

१२ जना सांसद रहेको जनता समाजवादी पार्टीलाई पनि सरकारमा सहभागि गराउनेमा प्रधानमन्त्री प्रचण्डले जोड दिएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि सरकारमा सहभागि गराउन उनले बल गरेको भए पनि बैशाख १० को उपनिर्वाचनपछि मात्र पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा सहभागि हुनेबारे छलफल भएको छ । 

प्रतिक्रिया दिनुहोस