aarthiknews.com बुधबार, २२ जेठ २०८२   Wednesday, 04 June, 2025
 

विप्लवका छोरा प्रकाश पक्राउ, कलेजमा विद्यार्थी र प्रहरीबीच झडप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ भदौ २०७६
विप्लवका छोरा प्रकाश पक्राउ, कलेजमा विद्यार्थी र प्रहरीबीच झडप

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्द पक्राउ परेका छन् ।

चितवन मेडिकल कलेज परिसरबाटै उनलाई पक्राउ गरिएको चितवन प्रहरीले जानकारी दिएको छ । चितवन मेडिकल कलेजमा जारी आन्दोलनका क्रममा उनलाई पक्राउ गरिएको प्रहरीको भनाई छ । 

चन्दसँग अन्य १५ जना विद्यार्थीहरु पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

केही दिनदेखि चितवन मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलनरत रहेका छन् । जिल्ला प्रहरी कार्यालयका एसपी दानबहादुर मल्लका अनुसार आन्दोलनका क्रममा कलेजमा अवरोध गर्नका साथै उग्ररुपमा प्रस्तुत भएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

चितवन मेडिकल कलेजमा विद्यार्थी र प्रहरीबीच झडप

भरतपुरको चितवन मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थी र प्रहरीबीच बुधबार विहान झडप भएको छ । अस्पतालभित्र प्रवेश गर्न खोज्ने विद्यार्थीहरुलाई प्रहरीले रोकेपछि झडप भएको हो ।

अस्पतालको सेवा प्रवाहमा नै अवरोध खडा गर्न खोजेपछि रोक्न खोज्दा झडप भएको प्रहरीले जनाएको छ । अस्पताल भित्रबाट जान खोजेका आन्दोलनरत विद्यार्थीलाई प्रहरीले लखेटेर गेट बाहिर पुर्‍याएको थियो ।

उनीहरुलाई प्रहरीले लाठीचार्ज गरेको थियो । झडपमा केही विद्यार्थीहरु घाइतेसमेत भएका छन् । विद्यार्थीहरुले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए ।

प्रहरीले आन्दोलनकारी १६ जना विद्यार्थीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सरकारद्धारा प्रतिवन्धित विप्लव नेतृत्वको नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्दसमेत छन् । उनकै अगुवाइमा यहाँ आन्दोलन हुँदै आएको छ ।

चितवन मेडिकल कलेजमा विभिन्न तहमा मेडिकल शिक्षा अध्ययनरत विद्यार्थीहरु विभिन्न माग राखी विगत दुई सातादेखि आन्दोलनमा छन् । उनीहरुले कलेजले तोकिएको भन्दा बढी शुल्क लिएको, सेवा सुविधा नदिएको जस्ता आरोप कलेज प्रशासनमाथि लगाएका छन् ।

यता कलेज प्रशासनले भने आन्दोलनका नाममा कलेजका प्रमुख सञ्चालक तथा अन्य सञ्चालकहरु माथि निम्नस्तरको गाली गलौज र धम्की दिने गरेको भन्दै आपत्ति जनाएको छ । कलेजका प्रमुख प्रशासक प्रताप देवकोटाले बुधबार विज्ञप्ती जारी आन्दोलनका नाममा स्वास्थ्य सेवा प्रवाह गर्ने अस्पतालमा हुल हुज्जत गर्ने, सेवा प्रवाहमा बाधा व्यवधान खडा गर्ने जस्ता गैरकानुनी कामहरु रोकिनुपर्ने उल्लेख गरेका छन् ।

विज्ञप्तीमा सरकार र त्रिभुवन विश्वविद्यालयले बनाएका नीति निर्देशन र शुल्कलाई कलेजले पूर्णपालना गर्ने प्रतिवद्धता जनाइएको छ । कलेजसँग सम्बन्धित मागमा वार्ता र सम्वादबाट समस्याको समाधान निकाल्न तयार भएको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस