
नेपाललाई सिंगापुर र स्विजरल्याण्ड बनाउने सपना के कति साकार गर्दैछन्, हाम्रा नेताहरुले त्यो बारे थप चर्चा गरेर समय बर्बाद नगरी विषयवस्तुमा प्रवेस गरौँ- लिने हो भने फिलिपिन्स समेत नेपालका लागी प्रेरणाको स्रोत बन्न सक्ने रहेछ।
फिलिपिन्स नै किन यहाँ रोजिएको हो भने त्यो मुलुक हामि जस्तै काम गर्न सक्ने उमेरको युवा जनशक्ति विदेश निर्यात गरेर रेमिट्यान्सबाट चलेको मुलुक हो। तर, उसले निर्यात गर्ने श्रम शक्ति हाम्रो जस्तो कोरा र पुरापुर अदक्ष हुँदा रहेनछन्। जसको भरमा मुलुकको अर्थतन्त्र चलेको छ तिनीहरू प्रति निकै नै संवेदनशील र जिम्मेवार बन्ने प्रयास गरेको देखियो, फिलिपिन्सले।
त्यहाँको राजधानी सहर मनिला र नेपालको काठमाडौँको तुलना गर्दा पनि विरक्त लाग्ने अवस्था रहेछ । वैदेशिक रोजगारीमा जाने कामदारको अलावा हाम्रा भौतिक पूर्वाधार, यहाँको महँगी, कार्यशैली र सोचसँग त्यहाँको तुलना नै यो टिप्पणीको प्रमुख उद्देश्य हो।
यो पंतिकारले काम गर्ने विदेशी कम्पनीले एसियाबाट केही अनलाइन मार्फत काम गर्ने केही कामदार राख्ने गर्दछ। केही वर्ष पहिला काठमाडौँमा कार्यालय नै खोलेर नेपाली कामदारलाई काम दिने प्रयासमा आफू असफल भएको तितो अनुभव यो टिप्पणीकारसँग छ। त्यो असफलताको कारण थियो, नेपाली कामदारको सम्बाद कला (कम्युनिकेसन स्किल) राम्रो नहुनु। अहिले फलिपिनी कामदारहरू आफ्नै देशमा बसेर त्यो काम गर्दैछन्।
उनीहरूलाई तालिम दिन जाँदा त्यहाँ देखे/भोगेको अनुभव र अनुभूति नै यहाँ प्रस्तुत गरिएको हो।मानिलामा सो कामको लागी एउटा अफिस छ। जुन मानिला एयरपोर्टबाट ठ्याक्कै १९ किलोमीटरको दूरीमा छ। अफिसबाट हिँडेर पाँच मिनेटमा पुगिने दुरीमा रहेको एउटा भव्य टावरमा मरो लागी बस्ने व्यवस्था मिलाइएको रहेछ।
त्यो एक सर्भिस अपार्टमेन्ट थियो। इन्फिना टावर्स नामको त्यो बिल्डिङको जमीनमुनि तीन तल्ला पार्किंग, जमीनको लेभलमा रिसेप्सन, स्वीमिङ पुल रहेछ। त्यहि तल्लामा रहेको लबिमा काम गर्न, बस्न मिल्ने गरेर राखिएका टेबल, कोच, कुर्चीहरुको व्यवस्था। त्यसभन्दा माथिका तल्लाहरु सबै आवासीय फ्ल्याटहरु। हरेक फ्ल्याटमा बाल्कोनी र हरेक कोठामा उज्यालो छिर्ने गरि गरिएको डिजाइन।वास्तबमा नै भब्य।
एकदम आनन्ददायक र सुन्दर लागेको त्यो फ्ल्याटको बारेमा मैले अध्ययन सुरु गरेँ। त्यहाँ भाडामा बस्न मासिक ३५ हजार नेपाली रुपैयाँमा नै पाइने रहेछ। यदि कसैले खरिद नै गर्ने हो भने पनि एक बेडरूमको फ्ल्याटको सुरुवाती मूल्य जम्मा चालीस लाख रुपैयाँ मात्रै रहेछ। त्यस्तै, मेट्रो रेल पुगेको मानीला सहरकै कुनातिर नेपाली ३०-४० लाखमा राम्रा घर पनि पाइने रहेछन्। हाम्रो काठमाडौँ उपत्यकाको सबैभन्दा दुर्गम मानिने कुनामा अहिले एक आना जमिनलाई नै सो मूल्य पर्ने कुरा झलझली सम्झना आयो।
त्यहाँ कार निकै सस्तो रहेछ। भन्सार कर कम हुँदा कार सस्तो भएका कारण राम्रै अवस्थामा रहेका सेकन्डह्याण्ड एसयुभी कार पनि नेपाली ५/७ लाखमा पाइने रहेछ। बजार मूल्य कति सस्तो भने नेपाली डेढ देखि दुई सयमा राम्रै रेस्टुरेन्टमा खाना खान सकिने रहेछ। सुपर मार्केटमा छिरेर त्यहीका थरिथरिका वाइनहरू नेपाली ३/४ सयमा किन्न पाइने रहेछ। नेपाली करिब साढे चार सय रुपैयाँको एउटा कफी वाइन मलाई असाध्यै मन परेकाले फर्कँदा प्याक गरेर लगेजमा राख्न केही सोच्नै परेन।
त्यसमा "नट फर एक्पोर्ट" लेखिएको थियो। यी वाइनसँग खाने सितन पनि नेपाली १०/१२ रुपैयाँ मै पाइने स्न्याकहरूको स्वादको बयान गरेर जिब्रो नथाक्ने गरि मिठो। नेपाली १५ सय जातिमा त दुई जनालाई मस्तले खान पुग्ने मिक्स सिफुडको बास्केट नै आउने रहेछ।
यति सस्तो गाँस, बास र कपासको व्यवस्था भएको यो देश कुनै धनि र सम्पन्न मुलुक होइन। फिलिपिन्सले पनि नेपालले झैँ युवाहरू विदेशमा सप्लाई गर्छ र रेमिट्यान्स भित्राउँछ। तर, उसले ती युवालाई दक्ष बनाउन हरेक सहरमा व्यवशायिक कलेज खोलेको रहेछ। हाम्रो जस्तो काम नलाग्ने सिटिइभिटीका व्यवशायिक शिक्षा दिने कलेज सम्झेर यस्तै होला भन्ने कल्पना नगर्नुस्।
हाम्रा भन्दा उनीहरूका कामदारको गुणस्तर, सिप, कला र दक्षता धेरै नै माथि र अगाडी देखियो। त्यसैले, सस्तो जीवनस्तरको कारण गल्फमा गएर नेपालीसँग सँगै एउटै कम्पनीमा उही काम गरेर फर्किने फिलिपिनोले राजधानीमा सजिलै घर बनाउन/ किन्न सक्ने रहेछ। राम्रै गाडी चढेर हिँड्न सक्ने रहेछन्।
मैले तालिम र रोजगार दिएका हाम्रो कम्पनीको लागी काम गर्ने कामदारहरू केही सेयरिङ रुममा बस्ने रहेछन्। तलमाथि तला भएका बङ्क बेड सेयर गरेर बसे पनि किचन, फ्रिज, बाथरुममा तातोपानी, वाई फाइ आदि सबै राम्रै सुविधा हुने रहेछ। यस्ता सेयरिङ बेडमा बस्न राजधानीको केन्द्र मै नेपाली ३/४ हजार रुपैयाँ मासिक तिर्दा पुग्ने रहेछ।
तर, के काठमाडौँमा त्यो कल्पना गर्न सकिन्छ ? अहँ सकिन्न। किनकि हाम्रा नेताहरू नेपाललाई सिंगापुर बनाउने सपना बेच्छन्। तर, फिलिपिन्सको जति व्यवस्थापनमा समेत ध्यान दिँदैनन्। नागरिकलाई सुविधा दिऊँ भन्ने सोच्दैनन्। युवाको पसिनाले नै मुलुक धानेको छ भन्ने हाम्रा नेतालाई थाहा छ तर सबैभन्दा बढी उपेक्षित तिनै युवा छन्।
उनीहरूलाई भोटको लागि मात्र सम्झने गरिन्छ। तर, नोट छाप्ने नै उनीहरू हुन् भन्ने कुरा भित्रैबाट मनन् गर्ने हो भने त्यसको लागी फिलिपिन्सबाट नै धेरै सिक्न सकिन्छ। कुनै नाम चलेका र समृद्धिको शिखर चुमेका देश हेर्नै पर्दैन।
प्रतिक्रिया दिनुहोस