aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

खानेपानीको ट्याङ्कीमा सडेगलेको शव भेटियो, सोही ट्याङ्कीको पानी सेवनबाट ३५० बिरामी

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • सोमबार, १३ चैत्र २०७९
खानेपानीको ट्याङ्कीमा सडेगलेको शव भेटियो, सोही ट्याङ्कीको पानी सेवनबाट ३५० बिरामी

काठमाडौं । दूषित पानी पिउँदा तनहुँको म्याग्दे गाउँपालिका ४ मनहरिका करीब तीन सय ५० जना बिरामी भएका छन् । पीपलटार खानेपानी उपभोक्ता समूहको खानेपानीको ट्याङ्कीमा लाश सडेगलेर दूषित भएकाले उक्त सङ्ख्यामा बिरामी भएका हुन्  । 

म्याग्दे गाउँपालिकाका अध्यक्ष बालकृष्ण घिमिरेले पानी दुर्गन्धित खाएपछि सो क्षेत्रका १४८ घरपरिवारका बासिन्दा विरामी भएको जानकारी दिए । उपभोक्तले ट्यांकीमा शव देखेपछि मनोविज्ञानमा असर परी वान्ता गर्ने गरेको र सबैजना विरामी भएको घिमिरले बताए । ‘‘ट्याङ्कीमा शव भेटिएपछि किलकिलाएर धेरै जसोले बान्ता गरेका छन्’’ उपाध्यक्ष घिमिरेले भने । उनले तत्कालको लागि मूलको पानी दुर्गन्धित ट्याङ्की नराखी बैकल्पिक व्यवस्था पालिकाले गर्न लागेकोे जानकारी दिए ।

ट्याकीभित्र सडेगलेको अवस्थामा महिलाको लाश भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्माले बताए । नामथर वतन नखुलेकी महिलाको लाश सडेगलेको अवस्थामा भेटिएको हो प्रहरी निरीक्षक शर्माले बताए । ट्याकीभित्रबाट दुर्गन्ध फैलिएपछि स्थानीयले पानी ट्यांकी जाँच गर्ने क्रममा लाश देखेर प्रहरीमा खबर गरेका थिए । 

घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीको टोलीले जनप्रतिनिधिको रोहवरमा मुचुल्का तयार गरी प्रारम्भिक अनुसन्धान सुरु गरेको छ । 

मृतकको लाश पोष्टमार्टमका लागि दमौली अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ । उक्त घटनाका बारेमा थप अनुसन्धान भइरहेको घटना स्थल पुगेका प्रहरी उपरीक्षक विष्टले बताए । केही समय अगाडि ती महिलाको कसैले हत्या गरी ट्यांकीमा फालेको हुन सक्ने अनुमान प्रहरीको छ ।

प्रतिक्रिया दिनुहोस