aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

काठमाडौं महानगरपालिका कमलादी सानुपर्ने यस्तो छ रहस्य

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • मंगलबार, १४ चैत्र २०७९
काठमाडौं महानगरपालिका कमलादी सानुपर्ने यस्तो छ रहस्य

काठमाडौं । काठमाडौं महानगरपालिका पछिल्लो समय नगरका मुख्य समस्यालाई थाती राख्दै अन्य कामतर्फ मोडिन थालेको देखिन्छ। आफूसँग भएका निर्माणाधीन र प्रबलीकरण गर्नुपर्ने भौतिक संरचनालाई बेवास्ता गर्दै महानगरपालिकाको कार्यालय भवन महँगो भाडा तिरेर नयाँ भवनमा सर्ने तयारीले धेरैलाई आश्चर्यमा पारेको छ।  

काठमाडौं महानगर मासिक ६० लाख रुपैयाँ तिर्नेगरी १० वर्षका लागि काठमाडौं प्लाजामा सर्ने सम्झौता गरेसँगै महानगरभित्रैबाट विरोधका आवाज सुनिन थालेको छ। बागदरबारको पुरानो भवनको प्रबलीकरण र टेकुमा बन्दै गरेको ७० करोड रुपैयाँको भवन अलपत्र छाडेर मासिक ६० लाख रुपैयाँ तिर्ने गरी महानगर किन सर्दै छ भन्ने विषयमा महानगर कार्यालयका कर्मचारी नै अचम्मित छन्।  

‘टेकुस्थित वातावरण विभागसँगै ७० करोड रुपैयाँ लागतमा बन्दै गरेको भवनलाई अलपत्र राखी किन हतारो गरियो रु हामी पनि अचम्ममा छौं,’ महानगरका एक कर्मचारीले भने, ‘एकातिर एक वर्षदेखि टेकुको भवन बन्न सकेको छैन, अर्कोतिर महँगो भाडा तिरेर कार्यालय सर्दैछ।’  

टेकुको भवन निर्माण पूरा गरेर यता बागदरबारका भवन प्रबलीकरण चाँडै टुंग्याउने हो भने भवनको समस्या धेरै हदसम्म समाधान हुने उनको बुझाइ छ। टेकु भवनमा विभिन्न अन्य विवाद रहे पनि निर्माण कार्यमा विलम्ब गर्नुपर्ने अवस्था नरहेको महानगरका एक कर्मचारीले सुनाए।  

महानगरका सहायक प्रवक्ता दीपक अधिकारी भने सबै कार्यालय एकै ठाउँबाट सञ्चालन गर्ने उद्देश्यका साथ कार्यालय सर्न लागेको बताउँछन्। महानगरका सबै विभाग, शाखा र महाशाखा एकै स्थानमा हुँदा सेवाग्राहीले राहत महसुस गर्ने उनको बुझाइ छ। महानगरले अहिले विभिन्न ठाउँमा रहेका १० स्थानबाट सेवा प्रवाह गर्दै आएको उनले  बताए। फेरि यो महानगरको नभएर मन्त्रिपरिषद् निर्णय भएको अधिकारी बताउँछन्। महानगरको सेवा एकीकृत गर्न भन्दै २०७७ सालमा मन्त्रिपरिषद् बैठकबाटै नेपाल ट्रस्टको उक्त भवन भाडामा दिने निर्णय भएको थियो।

विगतमा बागदरबारमा महानगर कार्यालय सञ्चालन हुँदै आएकामा २०७२ सालको भूकम्पयता प्रशासनिक सेवा मासिक १८ लाख तिर्नेगरी सुन्धारास्थित जेडिए कम्प्लेक्सबाट सञ्चालन भइरहेको छ । कतिपय सेवा भने बागदरबार पुरानै भवनबाट समेत जारी छ।  

यस्तोमा नेपाल ट्रस्टको स्वामित्वमा रहेको काठमाडौं प्लाजामा सर्न महानगर र ट्रस्टबीच बुधबार सहमति गरेसँगै मिसिल शाखा, सहकारी विभाग, जिल्ला समन्वय समितिमा रहेका विभाग काठमाडौं प्लाजामा सार्ने अन्तिम तयारी छ।  

पाँच रोपनी दुई पैसा क्षेत्रफलमा निर्माण भएको उक्त साततले भवनको तल्लो तलामा ७० वटा चारपांग्र्रे र २ सय वटा दुई पांग्रे सवारीसाधन पार्किङ गर्न मिल्ने महानगरले बताएको छ।  

प्रतिक्रिया दिनुहोस