aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

अर्थशास्त्री नै बन्ने भए अर्थमन्त्री, सुधार्लान् त अर्थतन्त्र ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ चैत्र २०७९
अर्थशास्त्री नै बन्ने भए अर्थमन्त्री, सुधार्लान् त अर्थतन्त्र ?

काठमाडौं । मुलुकले व्यग्रताका साथ पर्खिरहेको अर्थमन्त्रीमा अन्तत प्रकाशशरण महतको नाम पक्का भएको छ । नेपाली कांग्रेशका तर्फबाट सरकारमा नेतृत्व गर्दै पूर्ण बहादुर खड्काले उपप्रधान तथा भौतिक योजना सम्हाल्ने कांग्रेश वृतमा सहमति भएसँगै महतको लागि अर्थमन्त्रालय जुरेको हो ।

देउवा निकट कांग्रेशका एक सांसदका अनुसार खड्काले अर्थमन्त्रालय सम्हाल्ने रहर गरेपनि सभापती देउवाले नचाहँदा उनी पछि हटेका छन् । अर्थमन्त्रालयमा आफ्ना विश्वासपात्र राख्ने क्रममा देउवाको रोजाईमा महत परेका हुन् । हुन पनि सरकारमा सहभागी बन्दा अर्थमन्त्रालय नपाउने हो भने नेपाली कांग्रेशले सरकारमा गएको कुनै महत्व नहुने बुझाई कांग्रेशी नेताहरुको छ ।

राज्य स्रोतको उपयोग भरपुर रुपमा पार्टी हितका लागि गर्न पाउने स्थिति बन्नका लागि अर्थमन्त्रालय कांग्रेशको पकडमै रहनुपर्छ । सो कुरामा सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रले पनि असहमति नजनाएको स्थिति छ ।

अर्थमन्त्रीको कुर्सीमा को बस्ने भन्ने कुराले सरकारको कार्यदक्षतामा मात्रै होइन की सत्तारुढ दल नेपाली कांग्रेशको आन्तरिक शक्ति सन्तुलनमा समेत महत्व राख्ने हुनाले सभापती देउवाले आफ्नो विश्वासको पात्र रोजेका हुन् .

अमेरिकाबाट विद्यावारिधी गरेका प्रकाशशरण महत नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवालाई रिझाएर लगातार अवसर प्राप्त गर्ने नेतामा पर्छन् । दोस्रो संविधानसभामा समानुपातिकबाट सभासद भएका उनी संविधान लेखनका क्रममा मस्यौदा समितिका सदस्यका रुपमा सक्रिय थिए ।

त्यसपछि रुपान्तरित संसदमा उनी कृषि तथा जलस्रोत समितिका सदस्य रहे । महत पहिलो संविधान सभामा पनि समानुपातिकबाट सभासद थिए । यसअघि परराष्ट्र मन्त्रीका रुपमा काम गरिसकेका उनले राज्यमन्त्रीका रुपमा शेर बहादुर देउवा प्रधानमन्त्री हुँदा पहिलो पटक क्याबिनेटमा स्थान पाएका थिए ।

महत पार्टीभित्रका समीकरणमा लामो समयदेखि देउवा पक्षमा निरन्तर सक्रिय छन् । देउवा दोस्रोपटक प्रधानमन्त्री हुँदा २०५८ मा उनले राजनीतिक सल्लाहकारका रुपमा नियुक्ति पाएका थिए । ०६१ मा देउवा नै प्रधानमन्त्री रहेका बेला महत परराष्ट्र राज्यमन्त्री भए ।

वि.स. २०४० चैतमा बलबहादुर केसी नेपाल विद्यार्थी संघको अध्यक्ष रहेका बेला  प्रकाशशरण महत महामन्त्रीमा मनोनित भएका थिए । त्यसपछि उनलाई अमेरिकामा शैक्षिक योग्यता बढाउने अवसर मिल्यो । महतले अमेरिकाबाट अर्थशास्त्रमा पीएचडी गरेका हुन् ।

जे जसरी जसलाई रिझाएर भएपनि अर्थशास्त्री नै अर्थमन्त्रीका रुपमा सिंहदरबार छिर्नु खुशीको कुरा हो । यसले निराशाजनक अवस्थामा पुगेको नेपालको अर्थतन्त्रलाई त्राण दिने अपेक्षा गर्न सकिन्छ । त्यसो त, उनका दाजु रामशरण महतले नेपालको अर्थतन्त्रलाई उदारीकरणमा प्रवेश गराएर नयाँ अध्यायको शुरु गरेका थिए ।

यदी प्रकाशशरणले पनि अहिले बढ्दै गएको संकट न्युनीकरण मात्रै गर्न सके भने त्यसले उनलाई पनि भविष्यमा सम्झनयोग्य बनाउने छ । नेपालीले पनि राहत महसुस गर्न पाउनेछन् 
 

प्रतिक्रिया दिनुहोस