काठमाडौं । मलिन अनुहार र थकित शरीर सहित न्यायको खोजी गर्ने क्रममा सङ्घर्ष मैदानमा भेटिए सप्तरीका, महेन्द्र प्रसाद साह । सोमबार खुल्ला मञ्चभित्र छिर्न नगर प्रहरीसँग भिडिरहेका उनी आफ्नै भान्जाबाट ऋणको जालोमा फसेका हुन्। उनी न्यायका लागि मधेस प्रदेशबाट १२ दिनको पैदल यात्रा गरेर काठमाडौं आइपुगेका थिए।
ठगिए आफ्नै भान्जाबाट
सप्तरी घर भएका साह आफ्नै भान्जाबाट ऋणको जालोमा फसेका छन् । उनका आफ्नै भान्जाले झुटो छाप लगाएर आफूलाई ऋणको जालोमा पारेको उनको कथन छन् । ‘झुटो छाप लगाएर मेरो आफ्नै भान्जाले मलाई फसाए । मलाई खाएको ऋण तिर्न कुनै आपत्ति छैन । तर, मैले कुनै ऋण खाएको छैन । खादै नखाएको ऋणको जालोमा फसाइएको छ’, उनले भने ।
उनकी आमा रामवति साह र बुवा रामप्रसाद साहबाट वीरेन्द्रका भान्जा जय नारायण साहले १४ कट्ठा जग्गा लिइसकेका छन् । करिब २६ वर्षका जय नारायण पढेलेखेको भएकोले आफ्नो परिवारलाई फसाएको उनको आरोप छ । उनका अनुसार जय नारायणले रामवतिसंग झुक्काएर गलत तमसुक बनाएका छन् । हामीले ऋण खाए कै छैन परिवारको प्रतिव्यक्ति पाँच/पाँच लाखको दरले ऋण खाएको भनेर हामीलाई फसाइएको छ ।
'पैदल यात्रा गर्दागर्दै खुट्टा भाँचिएला झैँ भएको छ । न्यायको खोजीमा काठमाडौँ आइपुगेका छौँ । आफ्नो जीवन के हुने हो टुङ्गो छैन । तर, छोराछोरीको भविष्य के हुने हो त्यसको चिन्ताले सताउँछ’, आँखामा टिलपिलाएका आँसु पुच्छै उनले अगाडी भने, ‘हामीले पैसा खाएको छैन । हाम्रो जग्गा भान्जाबाट फिर्ता हुनु पर्छ । हामीलाई न्याय दिनु पर्यो ।’
लिएको सात लाख ऋण १२ लाख तिर्दासमेत सकिएन
मिर्चैयाकी बलासदेवी महरा लिएको ऋणभन्दा करिब दोब्बर तिरिसक्दा समेत त्यो ऋणको जालोबाट बाहिर निस्किन सकिनन् । उनले गाउँकै इन्द्र साहसँग दुई वर्षअघि सात लाख रुपैयाँ ऋण लिएकी थिइन् । उक्त ऋण बापत उनले १२ लाख रुपैयाँ तिरिसकिन् । तर, मिटरब्याजिले १५ लाख रुपैयाँ मागिरहेको छ ।
उनले भनिन्, ‘हामी दुई दाजु बहिनी मिलेर ऋण लिएका थियौँ । कुखुरा फार्म खोल्नलाई सात लाख ऋण लिएका थियौँ । त्यो फार्म त चलेन । हामीले जसोतसो १२ लाख ऋण तिरिसक्यौँ । तर, साहुले अझै १५–१६ लाख मागिरहेको छ ।’
ऋण लिँदा उनले आफ्नो जग्गाको तमसुक बनाएकी थिइन । अहिले मिटरब्याजीको नजर त्यही जग्गामा परेको छ । उसले पैसा होइन त्यो जग्गा दिनु पर्छ भनेर मागिरहेको उनले गुनासो गरिन् ।
उक्त जग्गामा उनको घर समेत रहेको छ । आफ्नो घर साहुले लैजाने भयो भन्ने पिरमा न उनलाई निन्द्रा लाग्छ, न भोक नै । ‘१२ दिन हिँड्दा हिँड्दा खुट्टा शरीर गलेको छ । न सुत्ने टुङ्गो छ, न खाने नै । आफ्नो उठिबास हुने पिरले निन्द्रा समेत लाग्दैन ।
दुधे बालक चेपेर न्यायको खोजीमा
एक जना महिला दुधे बालक चेपेर न्यायको खोजीमा लहानबाट काठमाडौँ आइपुगेकी छिन्। आफूले न्याय पाउनु पर्ने बताउँछिन्, उनी । डेढ वर्ष अघि लिएको ऋण जति तिर्दा समेत नसकिएपछि उनी ऋणको जालोबाट बाहिर निकाल्दिन सरकारसँग गुहार माग्न काठमाडौँ आएकी हुन् ।
त्यस्तै, अर्की एक मिटरब्याजी पीडित महिला मिटरब्याजीले दिनकै जेल हाल्छु भन्दै दिएको धम्की सहन नसेकेर न्याय माग्न काठमाडौँ आएको बताउँछिन् । ‘मिटरब्याजीले तोकेको पैसा तिरेन भने जेल जानु पर्छ भनेर भन्ने गरेका छन् । जति बेला पनि घरमा आएर जेल पुर्यादिन्छु भनेर धम्क्याउने गरेको छ’, उनले अगाडी भनिन्, ‘न्याय नपाएसम्म बरु काठमाडौँ मर्छु तर, यतिकै फर्केर घर जान्न ।’
मिटरब्याजीबाट यौन शोषणमा परे महिला
आफ्ना मागहरू सरकारले समाधान गरिदिनु पर्ने मिटरब्याज पीडित सङ्घर्ष समितिका संयोजक मनोजकुमार पासवानले बताए । धर्ना रोक्नु पर्ने भन्दै मिटरब्याजीहरुले धम्की दिइरहेको बताउँदै उनले भने, ‘तमसुकको आधारमा अदालतमा मुद्दा हाल्ने गरिएको छ । एक लाखको ऋणमा तीन चार लाखको तमसुक बनाइएको छ । त्यो तमसुक खारेज हुनु पर्छ । कतिपय ऋणीहरूले पैसा तिरिसकेका छन् तर, उनीहरूले पैसा दिएको कुनै प्रमाण नहुँदा पुनः तिर्नु पर्ने भनिएको छ ।’
त्यस्तै, केही महिलाहरू मिटरब्याजीबाट यौन शोषणमा समेत परेको बताए । पासवानले भने, ‘आन्दोलनमा सामेल भएका दुई तीन जना महिलाहरू मिटरब्याजीबाट यौन शोषणमा समेत परेका छन् । उनीहरूलाई दुई/तीन वर्षदेखि यौन शोषण गरिरहेका छन् । त्यस्तालाई कारबाही हुनु पर्छ की पर्दैन ?’
पीडितको चेतावनी
राज्यलाई आफ्नो कुरा सुनाउन आएका मिटरब्याजी पीडितले सरकारलाई आफ्नो कुरा सुनाउन उभिने ठाउँ समेत राजधानीमा पाएनन् । उनीहरूले खुल्ला मञ्चमा गएर धर्ना बस्ने भनेका थिए । तर, काठमाडौँ महानगरका नगर प्रहरीले उनीहरूलाई छिर्न समेत दिएन ।
तीन वर्षे काखे बालक च्यापेकी महिलादेखि ७५ वर्षका वृद्धहरू समेत महानगरपालिकाका प्रहरीसँग घम्साघम्सीमा उत्रिनुपर्यो । तर पनि उनीहरूले प्रवेश अनुमति पाएनन् । खुल्ला मञ्चमा प्रवेश नपाएपछि उनीहरूले काठमाडौँ महानगरपालिकाका नगरप्रमुख बालेन साहविरुद्ध नारा समेत लगाएका थिए ।
सोही क्रममा एक युवकले आठ महिना अगाडी विश्वविद्यालय पढ्ने विद्यार्थीहरू मिटरब्याज पीडितको समस्या लिएर सबैभन्दा पहिला काठमाडौँ महानगरपालिकाका नगरप्रमुख बालेन साहको अफिसमा गएको तर, उनले कसैले चासो नदिएको गुनासो गरे । ती युवकले भने, ‘मजदुर र किसानको पसिनाले अत्तरको बास्ना छर्किने बालेनले पीडितलाई बस्न दिएन, खान दिएन, लखेट्न खोज्यो । जनताको पसिनाको गन्ध थाहा नपाउने बालेन साह तिम्रो शरीरको अत्तर एक दिन निस्किने छ ।’
खुल्ला मञ्चमा जान रोक्ने नगर प्रहरीलाई समेत प्रश्न गर्दै उनले भने, ‘जनताको करबाट नै बर्दी लगाउन पाएका हाम्रै दाजुभाइहरूले हामीलाई छेकिरहेका छन् । तपाइहरूलाई प्रश्न सोध्न चाहन्छु तपाइहरूले बालेन साहको कर खानु भएको छ की हाम्रो ?’ ‘हामी १२ दिनको यात्रा तय गरेर त्यसै आएका होइनौँ । हाम्रो मागको कुनै सम्बोधन नभएमा आगो लाग्नेछ’ ती युवकले भने ।
आन्दोलनकारीहरू मिटरब्याज पीडितहरू सप्तरी, सिराहा, धनुषा, महोत्तरीलगायत जिल्लाका रहेका छन् । उनीहरूले सुद खोरलाई गिरफ्तार, तमसुक व्यवस्था खारेज, मिटरब्याजीको सम्पत्ति छानबिन, सुदखोरले हडपेको सम्पत्ति फिर्ता र यौन शोषक मिटरब्याजीलाई कारबाही गर्नु पर्ने माग राखेका छन् । यसका साथै उनीहरूले मिटर ब्याजविरुद्ध कानुन निर्माण गर्नुपर्ने, झुट्टा मुद्दामा गिरफ्तार गरिएका पीडितलाई रिहा गर्नुपर्ने लगायतका माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस