aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 
पूर्वाधार सम्मेलन

ठूला व्यापारीको मागीखाने काइदा, सरकारी लोगोको चरम दुरुपयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ भदौ २०७६
ठूला व्यापारीको मागीखाने काइदा, सरकारी लोगोको चरम दुरुपयोग

काठमाडौं । पूर्वाधार सम्मेलनको नाममा आज (भदौ २५ गते) देखि  राजधानीमा जारी कार्यक्रममा सरकारी लोगो र नामको दुरुपयोग भएको खुलासा भएको छ । सम्मेलनमा सहभागी एक उच्च पदस्थ सरकारी कर्मचारीका अनुसार नेपाल सरकारले आयोजकको रुपमा आफूलाई राख्न कुनै प्रकारले अनुमति नै दिएको छैन ।

त्यसो त आयोजकले सोमबार कार्यक्रमको तयारीबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा समेत यो प्रश्न उठेको थियो । तर, आयोजक संस्था नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष सतिश मोरले सरकारका प्रतिनिधि व्यस्तताका कारण उपस्थित हुन नसकेको भनी ढाकछोप गरेका थिए । उनले त्यो दिन कुशलतापूर्वक आफ्नो बचाउ गरे पनि बुधबार भने सत्य सार्वजनिक भएरै छाड्यो । सम्मेलन स्थलमा रहेका उच्चस्तरीय सरकारी कर्मचारीले यस्तो कार्यक्रमको आयोजनाभित्रको अन्तर्यबारे जानकारी गराएका हुन् ।

प्राप्त सूचना अनुसार सम्मेलन आयोजनामा नेपाल सरकारको कुनै सहभागिता छैन तर विदेशीलाई झुक्याउन सरकारसँगको सहकार्यमा आयोजना भएको भनि प्रचार गरिएको छ । उनले बताएअनुसार आयोजक सीएनआईलाई नेपाल सरकारको लोगो प्रयोगको समेत लिखित सहमति दिइएको छैन । 

त्यसो भए किन बारम्बार सरकारका कतिपय मन्त्रालय समेतको नाम जोडेर यस्तो सम्मेलन आयोजना हुँदैछ त ? जवाफमा उनले नाम नबताउने सर्तमा भने–‘ देख्नु भएन गेटदेखि नै विभिन्न कम्पनीका प्रायोजित विज्ञापन ब्यानर, तिनैबाट पैसा असुल्न ।’ उनले अगाडि थपे–‘सर्वसाधारण आफ्नो नाममै माग्छन्, ठूला व्यापारी अरुको नाम बेचेर आफ्नो थैलो भर्छन्, भएको, गरेको यही हो ।’ 
अर्का एक सहभागीले समेत उनको कुरामा सहमति जनाए । उनको भनाइ थियो–‘ परम्परागत चटके चौबाटोमा नाचेर माग्छ । यी आधुनिक मगन्तेहरु पहिले असुल्छन् अनि तारे होटलमा यस्तो चटक देखाउँछन् ।’ 

सहभागीको मतलाई कार्यक्रमका प्रमुख वक्ताका रुपमा रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले समेत पुष्टि गरेका थिए । उनले सम्मेलन आयोजनाको औचित्यतामाथि नै प्रश्न उठाउंँदै भने–‘निजी क्षेत्रले व्यापार गर्ने, उद्योग चलाउने, कर तिर्ने काम गर्ने हो । यस्ता पूर्वाधार निर्माणको कुरा गर्दै हिँड्नु आवश्यक छैन ।’ उनले सुझाव दिंदै अगाडी थपे–‘ निजी क्षेत्रले के गर्छ भन्ने मैले देखेँं । सुरुङ मार्ग बनाउँछु भन्दा स्वीकृति दिएको मैले नै हो । लगानी जुटाउन सक्नु भएन, क्षमता देखियो । जे सक्ने हो त्यही मात्र सोच्दा, कुरा गर्दा राम्रो ।’

त्यसैगरी अर्का वक्ता योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले पनि व्यापारीले पूर्वाधार विकासको नाममा नौटंकी गरेकोमा असहमति राखे । उनले भने–‘सडक सञ्जाल पूर्वाधारको एक महत्वपूर्ण भाग हो तर यहाँ त सडक बनाउने नाममा ‘डोजरे विकास’ मात्र देखियो ।’ व्यापारीले विकासको नाममा डोजर कुदाएर पैसा सक्ने काममा आफूलाई सक्रिय राखेको र पूर्वाधार विकासमा दिगोपन खोज्ने दिशामा उदासिन रहेको उनको संकेत थियो । 

कार्यक्रमको पहिलो दिनका अर्का वक्ता एसियाली विकास बैंकका पूर्वउपाध्य डा. बिन्दु एन लोहनीले यसअघिका दुईवटा सम्मेलनको उपलब्धि के भयो भन्दै प्रश्न गरेका थिए । उनले बिना कुनै उपलब्धि पटक–पटक यस्ता सम्मेलन आयोजना गर्ने कार्य बन्द गर्नुपर्नेमा जोड दिए । उनले सायद के बुझेनन् भने नेपालको पूर्वाधारको चिन्ता गर्न नभएर सम्मेलनको नाममा विदेशी संघ संस्थालाई सामुन्ने विभिन्न प्रोपगान्डा गर्ने र सरकारी निकायको नाम बेचेर यहींका उद्योगी व्यापारीबाट पैसा असुल्ने धन्दाको रुपमा सीएनआईले सन् २०१४ देखि शुरु गरेको शृंखलाको तेस्रो संस्करणमा उनी बोलिरहेका थिए ।      
 

प्रतिक्रिया दिनुहोस