aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

ग्राहकको मन जित्ने कम्पनी मात्र बजारमा रहन्छन्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ भदौ २०७६
ग्राहकको मन जित्ने कम्पनी मात्र बजारमा रहन्छन्

भारत सरकारको लगानीमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी इन्डिया) को मुख्य लगानीमा नेपालमा संचालनमा रहेको एलआईसी नेपाल नेपाली जीवन बीमा कम्पनी मध्ये अग्रणी कम्पनी हो । यसले आफ्नो अलग पहिचानका साथ नेपालमा जीवन बीमालाई नयाँ उचाइमा पुर्याउन समेत ठुलो योगदान दिएको छ । यही संस्थाका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद दाससँग आर्थिकन्युज डटकमले जीवन बीमाका विविध पक्ष समेटेर सम्वाद गरेको थियो । प्रस्तुत छ, सोही सम्वादको सम्पादित अंश :

जीवन बीमालाई तपाई कसरी परिभाषित गर्नुहुन्छ ?
वर्तमान विश्वमा नै जीवन बीमा एक प्रकारको आधारभूत आवश्यकता बनिसकेको छ । जीवन बीमाका धेरैवटा उदेश्यहरु हुन्छन् । यसको पहिलो महत्व भनेको नै बीमित व्यक्तिको मृत्यु हुँदा कसैले हडप्न सक्ने सम्पत्तिलाई कतै सुरक्षित रुपमा राख्नु हो । यदि कुनै व्यक्तिले आर्जन गर्ने उमेर मै मृत्यु भयो भने निजको परिवारलाई तत्कालै र भविष्यमा समेत ठुलो आर्थिक संकटमा पर्नसक्ने सम्भावना हुन्छ । निजको परिवारको भईरहेको नियमित खर्च जस्तै विभिन्न बिलहरुको भुक्तानी, ऋणको नियमित किस्ता, पढाई र दैनिक जीवनयापनका लागि खर्च गरिरहनु पर्ने हुन्छ । यदि त्यो परिवार आफैमा धनी छैन भने नियमित कमाई गर्ने मान्छे नहुँदा यी सबै खर्चको भार उठाउन सक्दैन । जीवन बीमाले मानिसहरुको परिवारलाई सहज र समस्या रहित ढंगले नियमित जीवनयापनको अवसर प्रदान गर्छ ।

वर्तमान नेपालमा जीवन बीमाको क्षेत्रमा देखिएको प्रतिष्पर्धात्मक बजारलाई कसरी हेरिरहनुभएको छ ?
 नेपालमा जीवन बीमाको बजार तिब्र गतिमा बढिरहेको छ । नेपालमा हाल रहेका १९ जीवन बीमा कम्पनीहरु खुल्ला बजार प्रतिष्पर्धामा रहेका छन् । विगतकेही वर्षयता हामी जीवन बीमाको क्षेत्रमा उल्लेख्य वद्धि भएको पाउँछौ । यो बीमा गर्ने व्यक्तिको संख्या र संकलित प्रिमियम दुबैमा देख्न सकिन्छ । बीमाका अभिकर्ताहरु घरघर, दैलो दैलोमा पुगेर बीमाको पहुँच वृद्धि गरेको देखिन्छ । यस बाहेक बीमा कम्पनीहरुले पनि आकर्षक योजनाहरु प्रस्तुत गरिरहेका छन् । जसले बीमितहरुलाई राम्रो प्रतिफल र धेरैभन्दा धेरै जोखिम नियन्त्रण समेत गरिरहेका छन । अझै पनि नेपालको ठूलो जनसंख्या बीमाको पहुँचभन्दा बाहिर नै छ । बीमा कम्पनीहरुले उनीहरुलाई बिमाको दायरमा ल्याउन योजना बनाउनुपर्ने देखिन्छ ।  जीवन बीमा क्षेत्रमा समस्याको रुपमा कुनै नीतिगत अभाव वा कानुनी अड्चन देख्नुहुन्छ ?

म कानुनी अवस्था र नीतिगत अभावको विषयमा कुनै टिप्पणी गर्न चाहान्न किनकी यो सरकारको नियामक पाटोको कुरा हो । म यति चाहीं भन्छु कि जीवन बीमाको विकासको लागि सरकारको नीति असल र सहयोगी हुनुपर्छ । एलआईसी नेपाल एउटा असल जीवन बीमा कम्पनी भएको कारण हामी सधै नियामकको निर्देशन र कानुनी प्रावधानहरुको सम्मान गर्छौं ।

नेपालका जीवन बीमा कम्पनीहरु सामुरहेको चुनौती र अवसरलाई कसरी विश्लेषण गर्नुहुन्छ ? 

पछिल्लो तथ्यांक अनुसार नेपालको ८० प्रतिशतभन्दा बढी जनसंख्या जीवन बीमाको दायरभन्दा बाहिर छन । त्यो बाहिर रहेको जनसंख्या र उनीहरुको परिवारलाई पनि जोखिमको सुरक्षणको आवश्यकता छ । त्यसैले जीवन बीमा कम्पनीहरुको लागि उनीहरुको व्यापार वृद्धि गर्ने प्रयाप्त अवसर रहेको म देख्छु । मलाई के लाग्छ भने जुन कम्पनीले बजारको खोजि गर्न सक्छ र अब पाँच वर्षसम्म लगातार राम्रो गर्छ त्यसपछि नेपालको जीवन बीमा क्षेत्रको त्यसैले नेतृत्व गर्छ । प्रतिष्पर्धात्मक बजारको फाइदा यो पनि हुन्छ कि बीमितहरुले धेरै लाभको अवसर पाउँछन् । 

हाल नेपालमा १९ वटा जीवन बीमा कम्पनी छन्, तर त्यस अनुरुप आवश्यक दक्ष जनशक्ति छैनन । बीमा क्षेत्रका प्राविधिकहरुको अभाव अहिले हामीले भोगिरहेको प्रमुख समस्या हो । त्यस बाहेक हामीले बजारमा पठाएका कतिपय पोलिसीहरुको बिक्री गलत ढंगले हुने गरेको समेत पाइन्छ । त्यो पनि अर्को समस्या हो । हाम्रा ग्राहकहरुलाई उत्कृष्ट सेवा दिन उन्नत सफ्टवेयरको समेत अभाव यहाँ देखिन्छ ।

मानिसहरु के भन्छन् भने नेपालमा चाहिँने भन्दा बढी जीवन बीमा कम्पनीहरु खुले, तपाई यो भनाईसँग सहमत हुनुहुन्छ ? 

एउटा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को हैसियतमा मैले हाल नेपालमा रहेका जीवन बीमा कम्पनीको संख्याबारे बोल्न मिल्दैन । म यतिमात्र भन्न चाहन्छु कि जुन कम्पनीले आम ग्राहकको मन जित्न सक्छ त्यो बजारमा पछिसम्म रहन्छ । 

नेपालको बीमा क्षेत्रमा पनि बिग मर्जरको विषय प्रवेश गरेको हल्ला छ नि , के तपाई यसबारे जानकार हुनुहुन्छ ?

हो, यस्तो हल्ला मैलेपनि सुनेको छु ।  जहाँसम्म एलआइसी नेपालको कुरा छ हाम्रो त्यस्तो कुनै इच्छा छैन । भारतको एलआइसी जुन त्यहाँको सरकारको प्रमुख शेयर रहेको कम्पनी हो । त्यसको यहाँ नेपालमा पनि प्रमुख शेयर छ । त्यसैले यस विषयमा कुनै छनौट गर्नुपर्यो भनेपनि त्यसको स्वीकृति आवश्यक हुन्छ । 

बीमा कम्पनीमा चुक्ता पुँजीको कस्तो महत्व हुन्छ ? मतलब, तपाई चालु अवस्थामा रहेका बीमा कम्पनीको हकमा चुक्ता पुँजीको कस्तो भूमिका हुन्छ ? 

बीमा कम्पनीको लागि चुक्ता पुँजीको महत्व ठूलो हुन्छ ।  त्यसले कम्पनीको विश्वास बढाउँछ । निश्चय नै बीमा कम्पनीहरुले आफ्ना ग्राहकबाट प्रिमियम संकलन गर्छ ।  त्यसबेला शुरुदेिख नै उनीहरुको भने आफुले प्रिमियम तिरेको कम्पनीको आर्थिक अवस्था कस्तो छ भन्ने चासो हुन्छ । सामान्यतया नियामक निकायले नै उनीहरुको जिम्मेवारीको आधारमा दायित्वलाई मध्यनजर गर्दै बीमा कम्पनीको चुक्ता पुँजी कति हुने भन्ने निर्धारण गर्छ । यो कम्पनीहरु आफ्नो काम प्रति  कति जिम्मेवार हुने भन्ने विषय पनि हो । एलआइसी नेपालले बीमा समितिले तोके अनुसारको चुक्ता पुँजी पुर्याईसकेको छ ।

नेपालमा राम्ररी शुरु नै नहुँदै बैंकासुरेन्स हट्यो जवकि अन्य मुलुकमा यो राम्ररी सञ्चालनमा रहेको देखिन्छ । यसबारे केही भन्नु हुन्छ ?
 अघिल्लो आर्थिक वर्षमा नेपालका जीवन बीमा कम्पनीहरुले बैंकासुरेन्सबाट राम्रोसँग पैसा संकलन गरेका थिए । बीमाको विस्तारमा यसको पनि ठूलो हात थियो । जे भएपनि यो सबै सरकारले समय समयमा परिवर्तन गर्ने नीतिमा भरपर्ने कुरा हो । 

अब एलआइसी नेपालबारे कुरा गरौँ, नेपालको जीवन बीमा क्षेत्रमा यसलाई कसरी परिभाषित गर्नु हुन्छ ?

एलआईसी नेपाल नेपालको जीवन बीमा क्षेत्रमा एउटा परिपक्व नाम हो । हाल हामीहरु ७४ वटा शाखा मार्फत आफ्ना ग्राहकहरुलाई सेवा उपलब्ध गराइरहेका छौं । त्यसबाहेक हामीसँग एउटा कर्पोरेट कार्यालय छ । हाम्रासँग २५० कर्मचारी छन् भने देशभर ४४ हजार एजेन्टहरु रहेका छन् । हामी पारदर्शी लेखा र असल शासनमा विश्वास गर्छौं । यो कम्पनी आफ्नो मूल कम्पनी अर्थात् एलआईसी इन्डियाबाट निर्देशित रहन्छ जसको २२ वटा मुलुकमा व्यापार विस्तार भएको छ ।

एलआईसी नेपाल किन नेपाली ग्राहकको लागि सही छनौट हुनसक्छ भन्ने केही आधारहरु छन् ?

एलआईसी नेपाल नै सहि छनौट हुने कयौं आधारहरु छन् । सामान्यरुपमा भन्नुपर्दा ग्राहकहरुले बीमा पोलिसी ५, १० वा १५ वर्षको लागि लिने गर्छन् । हाम्रा सबै परम्परागत योजनाहरुमा समेत हामीले दिने प्रतिफल भनेको प्रति हजार प्रति वर्ष  ६६ रुपैयाँ हो जुन नेपाली बीमा उद्योगमा अरुको तुलनामा सबैभन्दा बढी हो । त्यसैगरी हामी जति लामो समयको लागि पोलिसि खरिद गरिएको छ त्यति नै बढी बोनस समेत दिने गर्छौं । यो बोनस म्याचुरिटि भुक्तानी, मृत्यु पछिको भुक्तानी, ऋण लिंदा वा बिचैमा स्किम छोड्दा समेत पाइन्छ । एलआईसी नेपाल नेपालको एक मात्र आइएसओ ९००१ः२०१५ प्रमाणित कम्पनी पनि हो । यसको हालसम्मको स्थिति समेत अति राम्रो र उत्कृष्ट छ ।

तपाई मलाई एलआईसीको कुनै एक प्रोडक्ट दिन खरिद गर्न सिफारिस गर्नुपर्यो भने कुन चाहिं सिफारिस गर्नुहुन्छ ?

हाम्रा हालसम्म सबैभन्दा बढी बिक्री भएका प्रोडक्टहरुमा जीवन आनन्द, जीवन तरंग,धन वृष्टि, जीवन साथी, चाइल्ड इन्डोमेन्ट र जीवन विद्या रहेका छन् । सबै प्रोडक्टका आ–आफ्नै विशेष फिचरहरु पनि छन् । यदि तपाईले आफ्नो उमेर, पारिवारिक पृष्ठभूमि, र तपाइले तिर्नसक्ने प्रिमियमबारे जानकारी दिनुभयो भने हामी तपाइलाई उपयुक्त हुने योजना सुझाउन सक्छौं । हाललाई म तपाइलाई हाम्रा कुनै एजेन्ट वा नजिकको हाम्रो शाखामा सम्पर्क राख्न र छलफल गर्न अनुरोध गर्छु ।  

हाल के हेर्नुपर्छ भने भविष्यमा प्रतिफल कुनबाट आउने निश्चित छ । आम मानिसहरुको लागि कुनै पेन्सनको व्यवस्था त छैन । हाम्रो जीवन तरंग नामको योजनाले तपाइलाई यसको अवधि पुरा भएपछि जीवन पर्यान्त पेन्सन दिन्छ । यो योजनाले गतवर्ष अहिलेसम्मको सबैभन्दा राम्रो र चमत्कारिक मानिएको  जीवन आनन्द नामको योजनालाई समेतपछि पार्दै अत्याधिक प्रिमियम सङ्कलन गर्यो ।

यो सम्वादलाई तपाई कसरी टुंग्याउन चाहनुहुन्छ ?
म आर्थिकन्युजको टिमलाई धन्यवाद दिंदै मेरा एजेन्ट, बजार प्रतिनिधि, एजेन्सी म्यानेजर र सम्पूर्ण कर्मचारीहरुलाई यो कम्पनिलाई एक महत्वपूर्ण र सफल कम्पनीका रुपमा स्थापित गर्न अतुलनिय भूमिका निर्वाह गरेकोमा धन्यबाद ज्ञापन गर्छु ।

प्रतिक्रिया दिनुहोस