aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

आफूले उपप्रधानमन्त्री बन्दिन नभनेको रक्षामन्त्री खड्काको दाबी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १८ चैत्र २०७९
आफूले उपप्रधानमन्त्री बन्दिन नभनेको रक्षामन्त्री खड्काको दाबी

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मन्त्री नवन्ने आफ्नो अभिव्यक्तिबाट पछि नहटेको दावी गरेका छन् । शनिबार ललितपुरको बाँडेगाँउमा रहेको सन्त नेता किसुनजीको आश्रममा पगेका खड्काले सञ्चारकर्मीसंग कुरा गर्दै यसअघि आफुले मन्त्री मात्रै नवन्ने अभिव्यक्ति दिएको र उपप्रधानमन्त्री बन्दिन भनेर नभनेको बताएका हुन् ।

आफु धेरैचोटि मुलुकको मन्त्री बनेकाले फेरि त्यसमा लालच देखाउनु उपयुक्त नहुने देखेर आफुले मन्त्री बन्ने अभियान बन्द गरेपनि अहिले आफु उपप्रधानमन्त्री बनेको उनले बताए । उनले अहिले उपप्रधान र रक्षामन्त्रीको जिम्मेवारी पार्टीको सभापतिले विश्वास गरेर दिएको भन्दै खड्काले आफ्नो अभिव्यक्तिबाट कहीँ दायाँबायाँ नगरेको धारणा राखे ।

त्यस्तै उनले वर्तमान सरकारमा सहभागीताको लागी कुनै बिशेष मन्त्रालयमा दावी नगरेको स्पष्ट पारे । उनले आफ्नो समेत सहमतिमा पार्टी सभापतिले प्रवक्ता डा प्रकाशशरण महतलाई अर्थमन्त्री बनाएको र यसमा अन्यथा मान्न नहुने बताए । मन्त्री खड्काले आफुलाई बाँकी रहेका १९ मन्त्रालयबाट एउटा मन्त्रालय रोज्न लगाइएको र आफुले रक्षा रोजेको तर्क गरे ।

मन्त्री खड्काले शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिनु, स्थायी शान्तिको जगमा आर्थिक समृद्धि हासिल गर्न ध्यान केन्द्रीत गर्ने बताए । उनले आश्रममा रहेको नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पूर्णकदको सालिक अगाडि दीप प्रज्वलन गर्दै सालिकमा माल्यार्पण गरे । 

प्रतिक्रिया दिनुहोस