aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

थिति बसाल्दै गएका कुलमानलाई आफ्नैको बेथितिले जिस्काउँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ भदौ २०७६
थिति बसाल्दै गएका कुलमानलाई आफ्नैको बेथितिले जिस्काउँदै

काठमाडौं । सुविधाभोगी कर्मचारीलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ दिँदा उनीप्रति औंला उठ्न थालेको छ । वर्षौको लोडसेडिङ हटाएर जनताको वाहवाही कमाएका कुलमान अहिले सुविधाभोगी कर्मचारीलाई संरक्षण गरेसँगै विवादमा तानिएका हुन् । 

कुलमानकै सरंक्षणमा सहायक कम्पनीमा एनईए इन्जिनियरिङ कम्पनीका प्रबन्ध सञ्चालक हितेन्द्रदेव शाक्य, चिलिमे जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधवप्रसाद कोइराला र माथिल्लो तामाकोसीका सीईओ विज्ञानप्रसाद श्रेष्ठ रमाइरहेका छन् । उनीहरु प्राधिकणका उपकार्यकारी निर्देशक हुन् । 

कुलमानकै चाकडीका कारण पहिले तल्लो तहका कर्मचारीले चलाउँदै आएका ती सहायक कम्पनी अहिले उपकार्यकारी निर्देशकले चलाइरहेका छन् ।
कम्पनीका महँगा गाडीसहित आकर्षक सेवा सुविधा पाइने भएकाले उनीहरु यसरी एउटै कम्पनीमा वर्षौदेखि टासिरहेका हुन् । १२औं तहका उपकार्यकारी निर्देशक कोइराला रसुवास्थित २२ मेगावाटको चिलिमे जलविद्युत आयोजनाको प्रमुख छन् ।

अहिले रसुवागढी, साञ्जेन जस्ता आयोजना निर्माण गरिरहेकाले सो कम्पनी मालदार मानिन्छ । प्राधिकरणमा सातौं तहको इन्जिनियरबाट सेवा प्रवेश गरेका कोइराला हाल १२औं तह पुग्दासमेत चिलिमेमै बसिरहेका छन् । कोइरालालाई केन्द्रमा तान्न कुलमानले सकेका छैनन् । शाक्य र श्रेष्ठ पनि मालदार आयोजनामा काम गरिरहेका छन् ।

चाकडी गरेकै कारण कुलमानले उनीहरुलाई फिर्ता ल्याउन चाहेका छैनन । कोइराला, शाक्य र श्रेष्ठका कारण प्राधिकरणभित्रै असन्तुष्टि छाएको छ । कुलमानलाई ती तीनै जनालाई केन्द्रमा ल्याउन दबाब दिए पनि ल्याउन नसकिएको प्राधिकरणका एक उच्च कर्मचारीले बताए । ‘हाम्रो दबाबभन्दा चाकडी शक्तिशाली भइदियो,’ ती कर्मचारीले भने–‘केही भन्यो कि कार्यकारी निर्देशकले लोडसेङि हटाएको दम्भ देखाइ हाल्नु हुन्छ ।’

उपकार्यकारी निर्देशक सहायक कम्पनीमा गएका कारण उपकार्यकारी निर्देशकले नेतृत्व गर्नुपर्ने प्राधिकरणका निर्देशनालय भने निमित्तले चलाइरहेका छन् । सुविधाभोगी कर्मचारी हटाउन प्राधिकरणभित्रैबाट माग उठे पनि कुलमान भने त्यस कुरामा थाहा नभएजस्तो मात्र गरिहेका छन् । नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालय, महाशाखा, क्षेत्रीय कार्यालय तथा शाखाको तुलनामा यसका सहायक कम्पनीमा कर्मचारीको सेवा सुविधा राम्रो हुन्छ । त्यसैले सहायक कम्पनीमा जान कर्मचारीबीच लिगलिगे दौड नै चल्छ । लिगलिगे दौडमा कोइराला, शाक्य र श्रेष्ठले अरुलाई पछाडि पारेका छन् ।

सहायक कम्पनीअन्तर्गतका आयोजनाहरु दुर्गममा हुने भएकाले त्यहाँ काम गर्नेलाई भत्ता बढी हुन्छ र बढुवाका लागि पनि राम्रो अंक पनि प्राप्त हुन्छ । सहायक कम्पनीमा जाने कर्मचारीले काठमाडौंमै काम गरे ०.२५ गुणा र आयोजना स्थलमा २.५ गुणा भत्ता पाउने व्यवस्था छ । यही आकर्षणले एकपटक सहायक कम्पनीमा पुगेकाहरु फेरि फर्किन चाहँदैनन् । कुलमानलाई दशैं तिहार जस्ता चार्डपर्वमा उपहार दिएर आफ्नो जागिरे अवधि नै आयोजनामा मात्रै घुमिरहने पनि रहेको त्यहाका कर्मचारीहरु बताउँछन् । 

प्रतिक्रिया दिनुहोस