
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले बुधबार काठमाडौंका तीन वटा मिठाई पसलमा अनुगमन गरेको छ ।
कृषि तथा पशुपन्छी विकास राज्य मन्त्री रामकुमारी चौधरी र विभागकी महानिर्देशक मतिना बैद्य नेतृत्वको संयुक्त टोलीले तीन मिठाई पसलमा अनुगमन गरेको हो ।
टोलीले त्रिपुरेश्वरमा रहेको पशुपती फुड्स र साजन गोठ तथा सुन्धारामा सालिमार हस्पिटालिटी एण्ड फुड्स प्रलिद्धारा सञ्चालित गुवाफमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा थुप्रै कमीकमजोरी भेटिएको अनुगमन टोलीले जनाएको छ । मिति नभएका, मिति नाघेका, सरसफाइमा लापरर्वाही गरिएका खाद्य पदार्थ नष्ट गरिएको छ ।
अनुगमन पछि कृषि राज्यमन्त्री चौधरीले व्यवस्थापकीय कमजोरी पाइएको बताइन् । उपभोक्तालाई गुणस्तरिय खाना खुवाउने व्यवसायीहरुको पनि कर्तव्य रहेको भन्दै अनुगमनलाई निरन्तरता दिने बताइन् ।
उनले मिठाई पसल मात्र नभई सबै खाद्य पदार्थमा अनुगमन र नियमन गरिरहेको बताइन् । उनले उपभोक्ता र व्यवसायीका लागि अनुज्ञा पत्र लिएर काम गर्दा राम्रो हुने सुझाव दिइन । राज्यमन्त्री चौधरीले एक हप्ता भित्र सुधार गर्न सबै पसल सञ्चालकलाई निर्देशन दिइन् ।
विभागकी महानिर्देशक बैद्यले सरसफाइ र गुणास्तरियता कायम गर्न नसकेको भन्दै विभागमा उपस्थित हुन निर्देशन दिएको बताइन् । टोलीले परिक्षणका लागि १४ प्रकारका खाद्य पदार्थ लिएको जनाएको छ ।
विश्लेषण नमूना सार्वजनिक भएपछि खाद्य ऐन अनुसार नभएको पाइएमा सरकारी वकिलमार्फत मुद्धा चलाइने विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस