aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

अर्थतन्त्रको समस्या समाधान गर्न निजी क्षेत्रको साथ आवश्यक : मन्त्री रिजाल

  • रासस
    रासस
  • सोमबार, २० चैत्र २०७९
अर्थतन्त्रको समस्या समाधान गर्न निजी क्षेत्रको साथ आवश्यक : मन्त्री रिजाल

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले मुलुकको अर्थतन्त्रको समस्या समाधान गर्न निजी क्षेत्रको साथ आवश्यक रहेको बताएका छन् ।नेपाल उद्योग परिसङ्घका पदाधिकारीहरूसँग आज भएको भेटमा उनले वर्तमान अर्थतन्त्रको समस्या समाधान गर्न निजी क्षेत्रको साथ आवश्यक रहेको बताएका हुन् । 

“म निजी क्षेत्रको साथमा छु, निजी क्षेत्रको समस्या समाधान गर्न पूर्णरूपमा लाग्नेछु”,  मन्त्री रिजालले भने । मुलुकलाई समृद्ध बनाउन निजी क्षेत्रलाई प्रोत्साहन नगरी नहुने भन्दै उनले निजी क्षेत्रको समस्या समाधान गर्न प्रभावकारी रूपमा लाग्ने बताए ।

भेटमा नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले मन्त्री रिजाललाई उद्योगी व्यवसायीको मनोबल उकास्ने काम गर्न आग्रह गरे । अध्यक्ष अग्रवालले मागमा आएको उच्च सङ्कुचन, उच्च ब्याजदर, लगानी योग्य पूँजीको अभावलगायतका कारणले उद्योगी व्यवसायीको मनोबल निकै खस्किएको र अर्थतन्त्र सुधारका लागि उद्योगी व्यवसायीको मनोबल बढाउन आवश्यक रहेको बताए ।

उनले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा उत्पादनमूलक उद्योगको योगदान निरन्तर घट्दो रहेको बताउँदै अर्थतन्त्रमा उत्पादनमूलक उद्योगको योगदान बढाउन वातावरण बनाउनुपर्ने उल्लेख गरे । परिसङ्घले औद्योगीकरणले मात्रै दीगो विकास प्राप्त गर्न सक्ने र यसले पर्याप्त रोजगारीका अवसर सिर्जना गर्न सक्ने हुँदा नेपालको औद्योगिकरणलाई उच्च प्राथमिकताका साथअघि बढाउन अनुरोध गरेको छ । परिसङ्घले आयात प्रतिस्थापन गर्ने उद्योगलाई प्रोत्साहन गर्न, चालु आर्थिक वर्षको बजेटमा घोषणा गरिएको औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा अगाडि बढाउनुपर्ने बताएको छ । 

प्रतिक्रिया दिनुहोस