
बिदेशमा केही समय सँगै काम गरेको "दिल्ली के रहेनेवाले" एकजना साथी वर्षमा मुस्किलले एकपल्ट भारत जान्थ्यो। उ त्यहाँ गएको बेला मात्र चलाउने फक्सवागन कम्पनीको एउटा लगभग चल्दै नचलेको उसको कारलाई केजरीवाल सरकारले "थोत्रो" भनेछ।
यसरी एकपल्ट पनि इन्जिन नखोलिएको उक्त कार कवाडीमा बेच्नुपर्ने बाध्यता बन्नुको एउटै कारण हो, दिल्ली सरकारको स्पष्ट नियम। जस अनुसार त्यहाँ पेट्रोलबाट चल्ने कार पन्ध्र वर्षमा र डिजेलबाट चल्ने कार दश बर्षमा कबाड (काट्न योग्य) हुन्छन्।
यस्तै नियम कडाईका साथ लागु हुँदा आज दिल्ली बदलिएको छ। त्यहाँ चाक्ला बाटा र पुल छन्। सडकमा विजुलिवाला सरकारी बस गुड्छन्। यस्ता सरकारी बस महिला आरक्षित र कतिपय त निःशुल्क समेत छन् । दिल्लीमा अब कुनै त्यस्तो कुना बाँकी रहेन जहाँ मेट्रो नपुगेको होस्।
दिल्लीमा पहिलोपल्ट जापानले 'मेट्रो ट्रेन' नामका ती भाँडा ल्याएर द्वारिका - राजीव गान्धी लाइनमा गुडाउन थालेको बल्ल दुई दशक मात्रै कट्दै छ। यो कालखण्ड भनेको स्थिर सरकार हुने कुनैपनि देशमा ४ ओटा सरकार चल्ने समय मात्र हो।
दिल्लीमा एउटा रोचक दृश्य पनी देखियो। सफा, चाक्ला बाटाहरुको छेउमा ठूला होर्डिङ बोर्डमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले हात उचालेका बडेमानका फोटा। सबैतिर मोदी नै मोदी। माथी प्रस्तुत गरिए झैँ दिल्लीलाई यत्तिको बनाउने त्यहाँका मुख्यमन्त्री केजरीवालको फोटो चाहिँ कहिँ कतै देखिएन। दिल्लीवासी भन्छन्, 'राज्य सरकारले गरेका गतिला कामको जस (क्रेडिट) लिन केन्द्र (मोदी) सरकार हानथाप गर्छ। तर, केजरीवाल चुपचाप आफ्नो काम गरिरहन्छन्। दिल्लीवासीको सेवामा तल्लिन छन्।
यस्तो किन ? किनकी, मोदी र केजरिवाल बिचमा आधारभूत रुपमा नै भिन्नता छ। राजनीतिमा प्रवेश गरे देखी सफलता हत्याउने विधी, पाएका अवसरको सदुपयोग र दुरुपयोगको कथा, राजनीतिमा प्रवेस गर्नुको उदेश्य र लक्ष्य सबैमा मेल खाँदैन यी दुई भारतीय नेतामा। त्यसैले एउटा अर्कोले गरेको कामको जस लिन फोटो झुण्डाई रहेका छन् पुरापुर प्रचारमुखी भएर। अर्का चुपचाप काममा ब्यस्त छन्, आफ्नो कर्म र कर्तब्यलाई केन्द्रमा राखेर।
मोदी लामो समयदेखि राजनीति गरेर, सो क्रममा रगतको खोलो बगाएर आएका राजनीतिज्ञ हुन्। भारतको प्रधानमन्त्री नबनाइन्जेल उनि अमेरिकाको नजरमा "आतङ्ककारी" नै थिए। अमेरिका प्रवेश निषेध थियो, उनलाई। अर्कोतर्फ अरविन्द केजरीवाल इन्जिनियरिङ पृष्ठभूमि (ब्याकग्राउन्ड) बाट आएका नेता हुन्। अन्ना हजारेको आन्दोलनले पार्टी "आम आदमी" नउदाएसम्म उनी आफैँ आम आदमी नै थिए। मुख्यमंत्री भएर अवसर पाएपछी आफ्नो ख्याती विस्तार गरे, संसारले चिन्यो। तर पनि उनको जीवनशैली अझै पनि "आम आदमी" कै छ।
यहाँ दिल्लीको महात्म्य र त्यहाँका नेताहरुको चर्चा गर्नुको खास कारण छ। त्यो हो, हाम्रो देश नेपालमा अहिले चर्चामा रहेका दुई नेताहरुको सफेद चरित्र चित्रण गर्नु। नेता गगन थापा र स्वर्णिम वाग्लेको तुलनात्मक तर बस्तुगत विश्लेषण गर्नु।
०६२/६३ सालको जनआन्दोलनमा आफ्नो टाउको फोरिएपछि पट्टि बाँधेर आफ्नो समाचार आफैले भन्दै उदाएका नेता गगन थापा भारतमा मोदीले हिंडेकै बाटोमा यात्रा गर्दै अगाडी बढेका व्यक्ति हुन्। कसरी चर्चामा आउने र समाचारमा छुने त्यो कला उनमा छ। मिडिया व्यवस्थापनको खास तरिका देखी गुण्डा परिचालनको अद्भुत क्षमता उनमा रहेको पुष्टी भइसकेको छ। प्रहरी इन्काउन्टरमा कुख्यात गुण्डाहरुको मृत्यु हुँदा यिनले कसरी विवेक गुमाएका थिए त्योबारे धेरै चर्चा आवश्यक छैन।
उता एसएलसीमा बोर्ड सेकण्ड हुँदै बेलायत, अष्ट्रेलिया लगायतका देशका चर्चित युनिभर्सिटीमा पढेर आएका स्वर्णिम वाग्ले केजरीवालको बाटोबाट आएका नेता हुन्। त्यसैले गगनले स्वर्णीमलाई "तपाईंले पेन्सन पकाएर आएको" भन्नु नाजायज तर्क होइन। हो, केजरिवाल जस्तै आफ्नो विद्दवता र क्षमताले पालिएका व्यक्ति हुन्, उनि। फरक त्यति हो, उता केजरिवाल र यता तोसिमा कार्की जस्तो डा. केसीको अनसनका उत्पादन भने होइनन्, स्वर्णिम वाग्ले।
यी दुई बिचको तुलना किन अहिले आवश्यक देखियो भने आफुले हिजो ठिक भनेका, आफ्नो एक बलियो आधारको रुपमा स्वीकारेका स्वर्णिम वाग्लेलाई बैसाख १० गतेको उपनिर्वाचनमा पराजित गराउने जिम्मा नेपाली काँग्रेस पार्टीले उनी गगन थापालाई दिएको छ। उनले अब स्वर्णिम वाग्ले बिरुद्द विष वमन गर्न थाल्ने पक्का छ। उता, बिगतमा अबका प्रधानमन्त्री भन्दै महिमा गान गरेका गगनको आक्रमणको प्रतिरक्षा गर्नै पर्ने बाध्यतामा स्वर्णिम वाग्ले पुग्दैछन्। उनीहरु बीच अबको हप्ता चल्ने जुहारीले पनि कसको खासियत केहो भन्ने स्पष्ट पार्ने नै छ।
तर, अब नेता बन्न मोदीको बाटो होइन, प्रचण्ड/ गगनको बाटो होइन, केजरीवाल/ स्वर्णिमको बाटोबाट आउनु पर्दछ। पार्टीका "बचेरा" बिधार्थी "क्लब"हरू बन्द गरिनुपर्छ। जहाँ हिजो गगन थापाहरु हुर्किएका हुन्। लाखौं युवालाई भविष्यमा ठुलो नेता बन्ने हो भने ढुङ्गा हान्न र टायर बाल्न जानुपर्छ भन्ने उदाहरण मेट्न पनि अब गगन थापाहरु उदाहरणका रुपमा पेश गरिनु हुँदैन।
उनीहरु अनुकरणीय नेताका रुपमा स्थापित हुने हो भने मुलुकले नयाँ ढगले सोच्ने अवसर पाउंदैन। यदी गगनले हिंडेको बाटोबाट नै नेता उत्पादन गर्ने हो भने त्यसमध्ये केही सयले आफ्नो व्यक्तिगत जीवन बनाउलान्, बाँकी सबैको भविष्य सकिन्छ। त्यसैले अब राजनीतिमा "फुलटाईमर" युवाहरु शुन्य हुनुपर्छ। आ-आफ्नो क्षेत्रमा ज्ञान र अनुभव हासिल गरेपछि, आर्थिक र बाैद्धिक रूपले सक्षम र परिपक्क भएपछि बल्ल राजनीतिको ढोका ढकढक्याउनु पर्छ।
अन्त्यमा, प्रिय गगन दाई, तपाईंको संघर्षलाई सम्मान। तपाईंको असफलतामा पींडाबोध पनि गरौंला तर तपाईंको बाटोबाट नेता बन्न भने "नो नट अगेन !"
प्रतिक्रिया दिनुहोस