
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवालाई सुदृढ गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उनले विमानस्थलमा देखिएको बेथिति र लापरबाहीका कारण एक निर्दोष नेपालीले कतारको जेलमा बन्दीजीवन बिताइरहनुपरेको बताएका हुन् ।
सांसद ढकालका अनुसार गत वैशाखमा वैदेशिक रोजगारीका लागि कतार जान लागेका एक नेपालीको झोलामा कसैले झुक्याएर लागुऔषध राखिँदिँदा कतारको विमानस्थलमा पक्राउ परेका उनलाई १० वर्ष कैद र तीन लाख जरिवाना तोकिएको छ । उनले सभामुखमार्फत गृहमन्त्रीलाई प्रश्न गरे, “उनीजस्ता निर्दोष नेपाली कतारको जेलमा अरु कति छन् र उनीहरुको अवस्था के छ ?”
सांसद ढकालले वैदेशिक रोजगारीमा गएका एकजनाको शव ल्याउँदा शवको बाकससमेत भन्सारमा फोरिएको र यसले विमानस्थलमा हुनेगरेका बेथितिलाई प्रष्ट्याउँछ भन्दै विमानस्थलमा बारम्बार हुने यस्ता घटना न्यूनीकरणमा सरोकारवालाको ध्यान जानुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस