काठमाडौँ। आर्थिक संकटको सम्भावनालाई टार्न कस्सिएको सरकारमा नयाँ अर्थमन्त्रीका रुपमा प्रकाश शरण महत आए लगत्तै आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट तयार गर्न एउटा टिम नै तयार गरेका छन्। अर्थ मन्त्रालयका अनुसार सहसचिव भूपाल बरालको संयोजकत्वमा बनेको बजेट मस्यौदा लेखन समितिले त्यो महत्त्वपूर्ण काम गर्ने छ।
आगामी बजेट निकै मितव्ययी बनाउने घोषणा गरेकै दिन चैत २४ को मन्त्री स्तरीय निर्णय मार्फत अर्थमन्त्री डा. प्रकाश शरण महतले बरालको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेका हुन्।
सो समितिका संयोजकमा भूपाल बराल छन् भने अन्य सदस्यहरुमा सहसचिवहरू बजेट महाशाखाका प्रमुख धनिराम शर्मा, उत्तर कुमार खत्री, आनन्द काफ्ले, बाबुराम सुवेदी र जनकराज शर्मा रहेका छन्। अब सरकारले तोकेको मापदण्ड र २३ गते सार्वजनिक भएको सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रमले निर्देश गरे अनुसारको बजेटको मस्यौदा यो समितिले तयार गर्नेछ।
त्यसो त चैतको सुरुबाट नै अर्थ मन्त्रालयले नयाँ बजेटको तयारी थालेको थियो। तर, अर्थमन्त्री नहुँदा नीतिगत निर्देशनको खाँचो रहेकोमा अब त्यो हटेको छ।
अर्थ मन्त्रालयले चैत १५ देखि ०८० वैशाख १० सम्म बजेटमा समावेश गर्नुपर्ने विषयबारे सार्वजनिक सूचना जारी गरी सुझाव संकलन गर्ने काम गरिरहेको छ।
यस्तो छ अर्थ मन्त्रालयको बजेट बनाउने कार्य तालिका
यसअघी नै तयार गरिएको कार्य तालिका अनुसार चैत २६ आइतबार देखि २८ गतेसम्म बजेटका उद्देश्य, प्राथमिकता र मुख्य कार्यक्रमबारे सांसदहरूसँग प्रदेशगत छलफल गरिने छ। त्यसैगरी, वैशाख २० सम्म प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयहरूसँग सशर्त अनुदानबारे छलफल गर्ने तयारीमा मन्त्रालयको टिम छ।
यसबिच नै मन्त्रालयहरूसँग बजेट, कार्यक्रम र खर्च शीर्षकगत छलफल गरिनेछ भने वैशाख २ देखि २५ गतेसम्म वैदेशिक स्रोतअन्तर्गत प्राप्त हुने रकम यकिन गरी बजेटमा राखिनेछ। यसरी पर्सि आइतबार देखि वैशाख २५ गतेसम्म बजेट सुझाव संकलन हुनेछ। यसमा राजनीतिक दलका प्रतिनिधि, पूर्व अर्थमन्त्री, पूर्व गभर्नर, पूर्वअर्थसचिव, वरिष्ठ अर्थशास्त्री तथा विज्ञहरू सहभागी गराउने मन्त्रालयले योजना बनाएको छ।
त्योसँगै वैशाख २० गते सार्वजनिक संस्थाहरूको प्रगति विवरण छपाइका लागि प्रेसमा पठाउने, २१ गतेभित्र विनियोजन विधेयकका सिद्धान्तहरू र प्राथमिकताको मस्यौदा तयार गर्ने, २५ गते तिनलाई सङ्घीय संसद्का दुवै सदनमा पेस गर्ने कार्यपालिका छ।
अर्थको योजना अनुसार वैशाख २५ गतेसम्ममा प्राविधिक सहायता तथा अन्य गैरसरकारी संस्थामार्फत परिचालन हुने सहायताको यकिन हुन्छ भने ३० गते आर्थिक सर्वेक्षणलाई अन्तिम रूप दिई छपाइका लागि प्रेसमा पठाइनेछ।
यसरी काम गरेर जेठ १ गते बजेट वक्तव्यको पहिलो मस्यौदा तयार हुनेछ । जेठ ५ गते राजस्व परामर्श समितिले आफ्नो प्रतिवेदन अर्थमन्त्रीलाई बुझाउने र ६ गते राष्ट्रपतिसमक्ष बजेट ब्रिफिङका लागि मस्यौदा तयार गरी १० गते राष्ट्रपतिलाई बजेट ब्रिफिङ गरिनेछ।
कार्य तालिका अनुसार सोही दिन व्यय अनुमानको प्रारम्भिक मस्यौदा (त्रिवर्षीय खर्च अनुमानसहित) हुनेछ। त्यही दिन व्यय अनुमान र खर्च शीर्षकगत खर्च अनुमानको अङ्क रुजुसहित अन्तिम मस्यौदा तयार गरेर जेठ १२ गते व्यय अनुमानसम्बन्धी किताब छपाइका लागि प्रेसमा पठाइनेछ।
जेठ १३ गते आर्थिक विधेयक र विनियोजन विधेयकलाई अन्तिम रूप दिने अर्थ मन्त्रालयको तयारी छ। यसरी बनेको आगामी आर्थिक वर्षको बजेट संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते सङ्घीय संसद्को बैठकमा अर्थमन्त्रीले प्रस्तुत गर्नेछन्।
प्रतिक्रिया दिनुहोस