
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीले अर्थमन्त्री डा. प्रकाश शरण महतसँग भेट गरेका छन् । शुक्रबार सिंहदरबारमा भएको भेटमा एनआरएनए प्रतिनिधिले ज्ञापनपत्रमार्फत् आफ्ना समस्या अर्थमन्त्री डा. महतसमक्ष राखेका थिए ।
आज शुक्रवारदेखि अध्यक्षको नेतृत्व सम्हालेका डा. बद्री केसीले ज्ञापन पत्र पढेर मन्त्री डा. महतलाई सुनाएका थिए । ज्ञापन पत्र वाचनपछि तीनै जना अध्यक्ष डा. केसी, कुल आचार्य र रविना थापाले संयुक्तरुपमा मन्त्री डा. महतलाई बुझाएका थिए ।
एनआरएनए प्रतिनिधिले लगानीमैत्री वातावरण, नागरिकताको निरन्तरतालगायतका समस्याहरू राखेका थिए । विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको नागरिकता प्रकरणपछि केही जटिलता आएको स्मरण गर्दै मन्त्री डा. महतले एनआरएनएको नागरिकताको हकमा संविधानमा भएको व्यवस्थालाई छिटो कार्यान्वयनमा नल्याउँदो व्यवहारिक कठिनाइ भएको बताए ।
‘नेपालमा अहिले लगानीको समस्या छ, सुरक्षित लगानीका लागि एनआरएनएको साथमा सरकार छ’ मन्त्री डा. महतले भने, सरकारले एनआरएनएलाई निराश हुने काम कहिले गर्दैन । लगानी गर्न चाहने साथीहरूले कुनै कारणबाट निरुत्साहित हुनु पर्दैन ।’ लगानी मैत्री वातावरणमा समस्या भए आर्थिक ऐनमार्फत सम्बोधन गरिने आश्वासन मन्त्री डा. महतले दिए । आगामी बजेटमार्फत पनि धेरै कुरा सम्बोधन गर्न सकिने उनले बताए ।
भेटमा एनआरएनए संस्थापक महासचिव भीम उदास, वर्तमान कोषाध्यक्ष कृष्ण तिमल्सिना, पूर्व उपाध्यक्ष रामेश्वर साह, सोनाम लामा, एनआरएनए युके पूर्व अध्यक्ष योगेन क्षेत्रीलगायत दर्जन बढीको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस