aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

हामीले जेल कोच्ने सूचीमा राखेकाहरुले हाम्रो आलोचना गरे : रवि लामिछाने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २५ चैत्र २०७९
हामीले जेल कोच्ने सूचीमा राखेकाहरुले हाम्रो आलोचना गरे : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अहिले आफूहरुको आलोचना गर्ने व्यक्तिहरु जेल कोच्ने सूचीमा राखिएकाहरु भएको बताएका छन् । लामिछानेले भ्रष्ट मानिस र युवाहरुलाई पलायन गर्ने राजनीतिक दलका नेताहरुलाई आफूहरुले भविष्यमा जेल कोच्ने सूचीमा राखिएको र तिनीहरुले नै आफूहरुको आलोचना गरिरहेको आरोप लगाएका हुन् । 

आगामी बैशाख १० गते तनहुँको क्षेत्र नं. १ मा हुन लागेको उपनिर्वाचनको प्रचार गर्न पार्टीले आँबुखैरनीमा आयोजना गरेको सभालाई सम्बोधन गर्ने क्रममा लामिछानेले ३० वर्ष सरकारको नेतृत्व गर्नेहरुले युवाहरुलाई देशबाट पलायन गराएको आरोप लगाए । 

नौं महिना अघि खुलेको पार्टी र ३० दिन मात्र सरकार चलाएको पार्टीलाई प्रश्न गर्ने ठाउँ नभएको पनि उनको भनाई छ । ‘हामीलाई त्यस्ता मान्छेहरुले आलोचना गरिरहेका छन्, जसलाई हामीले जेल कोच्ने भनेर लिस्ट बनाइराखेका छौं,’ लामिछानेले भने, ‘त्यसैले भ्रष्ट मानिसहरुले सोधेको जवाफ एउटा पनि दिन्न किनकि तीनलाई जेल कोच्ने हो, जवाफ दिएर हिँडने होइन ।’

प्रतिक्रिया दिनुहोस