काठमाडौं । नेपालको पूर्वाधार निर्माणमा नेपाली वाणिज्य बैंकहरूको लगानी क्षमता कमजोर रहेको बताउँदै विश्व बैंकले त्यस्ता बैंकको संख्या हालको २८ बाट १५ मा भारी पूँजी बढाउन सुझाव दिएको छ ।
तेस्रो नेपाल पूर्वाधार सम्मेलन अन्तर्गत बिहीवार विश्व बैंकद्वारा सार्वजनिक गरिएको ‘नेपाल पूर्वाधार क्षेत्र मूल्यांकन प्रतिवेदन’ ले वाणिज्य बैंकको संख्या घटाएर तिनको चुक्ता पूँजी दोब्बर बनाउँदा वित्तीय क्षेत्रको पूर्वाधार क्षेत्रमा ऋण प्रवाह गर्ने क्षमता बढ्ने बताएको छ।
प्रतिवेदनले शुरूमा वाणिज्य बैंकको संख्या १५ मा झार्न सुझाव दिदै थप सुदृढीकरण गर्न अन्तरराष्ट्रिय बैंकहरूसँग सहकार्य-गरी बैंकको संख्या १० मा झार्न सकिने बताएको छ। राष्ट्र बैंकले वाणिज्य बैंकको चुक्ता पूँजी १६ अर्ब रुपैयाँ पुर्याएर संख्या घट्न सक्ने प्रतिवेदनको ठम्याइ छ।
नेपाल राष्ट्र बैंकले ‘बिग मर्जर’ को नीति कार्यान्वयनमा जोड दिएकै समयमा विश्व बैंकको यस्तो सुझाव आएको हो । केन्द्रीय बैंकले वाणिज्य बैकहरुको संख्या कम गराउने नीति लिए पनि कतिमा झार्ने भनेर आधिकारिक रुपमा बताएको छैन । यद्यपि राष्ट्र बैंकका अधिकारीहरुले अनौपचारिक रुपमा हाल भएका वाणिज्य बैंकलाई आधा घटाउने बताउँदै आएका छन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस