
काठमाडौं । पाटन संयुक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा लौरो चुनाव चिन्ह लिएर उम्मेदवारी दिएका सुशील विष्ट विजयी भएका छन् । हाम्रो नेपाली पार्टी (लौरो अभियान) निकटको राष्ट्रिय विद्यार्थी संघका उम्मेदवार विष्ट सभापतिमा विजयी भएका हुन् ।
शनिवार भएको मतदानपछि गएराति सम्पन्न गणनाको परिणामअनुसार विष्ट १६९ मतान्तरका साथ विजयी भएका हुन् । उनले ८४१ भोट ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेनिकट अनेरास्ववियुका सुरेश जिसी ६७२ भोटमा रोकिए ।
यसअघि नेविसंघका इकाई उपाध्यक्ष रहेका विष्ट आन्तरिक विवादका कारण विद्रोह गरी लौरोबाट उठेका थिए । केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले सुरूमा विष्टलाई नै टिकट दिएकोमा पछि युवराज थिङलाई अघि सारेपछि यहाँ नेविसंघको विवाद बढेको थियो ।
प्रतिक्रिया दिनुहोस