aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

'बिचरा' विनोद चौधरी, कसरी गर्लान् कठै त्यत्रा घरको मर्मत !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ चैत्र २०७९

काठमाडौँ। नेपालको संघिय संसद्मा सदस्य रहेका एक मात्र डलर अर्बपति विनोद चौधरी काठमाडौँमा नै घर भएका सांसदले पाउने घर मर्मत सुविधा अन्तर्गतको मासिक ९ हजार रुपैयाँ संसद् सचिवालयबाट लिँदै आएका छन् । यसरी आफू बस्ने घरको मर्मतका लागि समेत कर्मचारी नै तलब खुवाउन नसक्ने अवस्थामा पुगेको नेपाल सरकारबाट पैसा थाप्ने चौधरीलाई ठूलो सङ्कट आइपरेको छ।

त्यो सङ्कट शुक्रबार राती ललितपुरको बखुन्डोलमा उनले अनधिकृत रुपमा बनाउँदै गरेको निर्माण गरिरहेको अपार्टमेन्टसँगै जोडिएका घरहरू भासिएपछि सुरु भएको हो। घर मर्मतको लागि समेत सरकारसँग पैसा लिने 'गरिब चौधरी'ले त्यहाँ आफ्नो धन र राजनीतिक पहुँचको बलमा बनाएको अपार्टमेन्टले स्थानीयबासीलाई भने सुकुम्वासी नै बनाएको छ ।   

उनले कुनै कानुनी प्रक्रिया र आधारभूत मान्यताहरू पुरा नगरी त्यहाँ अपार्टमेन्ट निर्माण गरिरहेका थिए । स्थानीयले त्यसको विरोध गरेर रोक्न माग गर्दै महानगरपालिकामा निवेदन समेत दिएका थिए । तर, चौधरीको प्रभावमा रहेको महानगरले कुनै वास्ता गरेको थिएन । कुनै एक सर्वसाधारणले आफ्नो कम्पाउन्ड भित्र अलिक ठुलो खाल्डो खन्दा समेत कर्मचारी पठाएर रोक्ने महानगरले यतिका दिनसम्म चौधरीको कुकृत्यलाई नदेख्नु आफैमा उदेकलाग्दो छ ।

तर, जब शुक्रबार स्थानीयको घर नै भत्कियो । मानिसहरू भासिँदै गरेको घरबाट जीवन जोगाउन भाग्ने क्रममा घाइते भए तब बल्ल महानगरले त्यतातिर चासो देखाएको छ। शुक्रबार रातिको घटनाबारे बुझ्न आइतबार ललितपुर महानगर पालिकाका मेयर चिरिबाबू महर्जन त्यहाँ पुगेका थिए ।

घटनाको जिम्मेवारी होटल म्यानेजमेन्ट टिमले तिर्नु पर्छ: मेयर महर्जन

मेयर महर्जनले शक्तिशाली मान्छे भए पनि अपार्टमेन्ट निर्माताले कानुन मान्नुपर्ने बताएका छन् । "पावरफूल मान्छेलाई लिगल प्रोसेस लाग्दैन अरुलाई लाग्छ भन्ने होइन ।" उनले भनेका छन् ।

चौधरी समेतको समुहले त्यो भवन निर्माणको क्रममा कुनैपनी कानुनी प्रक्रिया नै पुरा नगरेको महर्जनले पुष्टि गरे । उनले भने, "लिगल प्रोसेसको कुरा गर्ने हो भने उहाँले नक्सा पास गरेको छैन । मैले बुझेको कुरा के हो भने उहाँले नक्सा पास गरेर काम सुरु गर्नु पर्ने थियो तर त्यसो गरेको पाइएन । तसर्थ दोषी उहाँहरू हो ।"

भवन पुरापुर अनधिकृत रुपमा बन्दै गरेको भए पनि सो भवनका धेरैजसो फ्ल्याटहरु सो निर्माता कम्पनीले बिक्रिगरिसकेको बुझिएको छ । नक्सा पास नै नगरी निर्माणको काम गरेको समेत महर्जनले जानकारी दिए ।  उनले भने, "नक्सा नै पास छैन भने बुझ्नुस्  यो कति आधिकारिकरुपमा बन्दै रहेछ भनेर । नक्सा पासको लागि हामी कहाँ कुनै निवेदन पनि आएको छैन । हामीलाई जानकारी छैन । "

यो काममा ठूलो गल्ती विनोद चौधरी र उनका साझेदारहरूले गरेको मेयरको ठहर छ । उनीहरूलाई कारबाही गर्ने पनि उनले आइतबार स्थानीयहरू समक्ष प्रतिवद्दता व्यक्त गरेका छन् । उनले भने,"गल्ती उनीहरूको छ । हामी एक्सनमा जान्छौँ ।"

उनले आफू  मेयर भएको हैसियतले हेर्नु पर्ने कुराहरू हेर्ने बताउँदै उनले त्यहाँ भएको सबै क्षति समिट होटेलको व्यवस्थापन पक्षले नै व्यहोर्नुपर्ने उनको भनाई छ । "यहाँ यो होटेलको कारण वरपर के कस्तो क्षति भएको छ त्यसको सबै जिम्मेवारी होटल म्यानेजमेन्ट टिमले तिर्नु पर्छ ।" मेयर भन्छन् ।

मेयर सा'ब हाम्रो बिचल्ली भो : पीडित स्थानीय व्यवसायी   

भवन निर्माण स्थल नजिकै सानो होटल सञ्चालन गरिरहेका स्थानीय युवाले मेयर चिरिबाबू महर्जनसँग दुखेसो पोखे, "हिजो दिनभरि हामीले कुर्‍यौ । हाम्रो अभिभावक हो, तपाई । कम्तीमा तपाई आइदिनु पर्थ्यो । हामीलाई सान्त्वना दिनु पर्थ्यो । हिजो आउनु भएन । भवन निर्माण गर्नेहरू आएका थिए । उनीहरूसँग हाम्रो लिखित सम्झौता भएको छ । त्यसलाई कार्यान्वयन गर्नका लागि तपाईँले सहयोग गर्नु पर्छ ।"

उनले आफ्नो व्यथा सुनाए, "मेरो होटल बन्द भयो । आजदेखि व्यापार हुन पाएन । कर्मचारीको रोजीरोटी समेत गयो । हामी  पीडित परिवारको अभिभावक भनेको तपाई मेयरसाब हुनुहुन्छ । हामीलाई हाम्रो भएको सम्पत्तिको क्षतिपूर्ति दिलाइदिनु पर्छ ।"

इन्जिनियर समेत रहेका एक स्थानीय पीडित युवाको सिधा प्रश्न छ, "के गर्दा के हुन्छ भन्ने कुराको हेक्का राख्नु पर्दै ? यत्रो खाल्डोहरू खन्ने हो ?" उनले त्यो निर्माणकर्ता कम्पनी पहिलो श्रेणीको निर्माण  कम्पनी नै हुनुपर्ने भन्दै कस्तो बेला के गर्दा घर भासिन्छ भन्ने कुराको ख्याल राख्नु पर्ने बताए ।

उनले अगाडी भने, "म पनि इन्जिनियरको विद्यार्थी हो । के गर्दा के हुन्छ भन्ने मलाई त थाहा छ  भने उनीहरू पहिलो श्रेणीको  कम्पनीलाई थाहा हुँदैन त ?"

जे गर्छौ गर् भन्दै अटेरी गरे: पीडित

सो निर्माण कार्यले धेरै पहिले देखि नै आफूहरूलाई समस्यामा पार्दै आएको पवित्रा विष्ट नामकी पीडित स्थानिय महिलाले बताइन् । उनले गुनासो गरिन्, "दुई बजे रातीदेखि उनीहरू काम गर्छन् । राती उठेर काम बन्द गरिदिनुस् भनेर भन्नु पर्छ । अहिले मेरो पनि घर भत्किएको छ । मेरो घर तलै खसेको छ । बस्नै नहुने भएको छ ।" 

उनले आफुहरुले पहिले नै यस्तो घटनाको सम्भावनाबारे अवगत गराउँदा समेत सम्बन्धित पक्ष्यले अटेरी गरेको बताइन् । उनको भनाइ छ, "भत्किनु अघि देखि नै हामीले यो काम नगर्नु जोखिम छ, भनेका थियौँ । हामीले बारम्बार कुरा उठाएका थियौँ । जेसुकै गर् भन्दै भनेर अटेरी गरेका हुन् ।"

पञ्चायतले सुन्यो, चौधरीले सुनेनन् : बाबुकाजी महर्जन

घर भत्कनुको कारणबारे स्थानीय बाबुकाजी महर्जनले बताए । उनका अनुसार घरहरू भत्किनुको पछाडि अस्ति बिहीबार र शुक्रबार रातभर डोजर चल्यो। माटो निकालियो । अनि राती त घरहरू भत्किन थाले ।

केही महिनादेखि सुत्न समेत नपाएको उनले पनि गुनासो गरे । उनले भने, "रातभर डोजर चलाउँछ । हामी सुत्न पाएका छैनौँ । मानव अधिकार भन्छन्, हाम्रो मानव अधिकार कहाँ गयो ?"

"पहिला पञ्चायत कालमा नै यहाँ एभरेष्ट होटल पाँच/छ तलाको  बनाउने भन्दा दिइएको थिएन । अहिले १७ तला बनाउनलाई दिन मिल्छ ?" उनको प्रश्न छ ।

उनले आफ्नो कुरा निर्माताहरुले नसुनेको समेत गुनासो पोखे,"पाँगो माटो छ । यो माटोमा जे पाए त्यही बनाउन मिल्दैन । यो माटो चलायो भने हल्लिन्छ चलाएन भने चुप लागेर बस्छ । मेरो घर समेत वरिपरि केही चलायो भने हल्लिन्छ । यो होटल बनाउन लागेका मानिसहरूलाई समेत मैले भनेको थिए की मेरो घरमा आउनुहोस्, हेर्नुस्। तर, उनीहरूले मेरो कुरा सुनेनन् ।" 

बिचरा चौधरी !

यो घटनामा चौधरी समुहलाई भने धेरै नै ठूलो क्षति भने भएको छ । तर, हालै मात्र विश्वका धनाढ्यहरूको सूचिमा अझै माथि चढेका चौधरीका यो प्रोजेक्टमा अन्य साझेदारहरू समेत रहेको चौधरी समुहका कर्पोरेट कम्युनिकेसन सम्हालेका जेनेरल म्यानेजर मधु सुधन पौडेलले बताएका छन् । तर, अहिले चर्चामा भने चौधरीको मात्र नाम छ ।

उनले कमाएको र बर्षेनी बढाएको धन यस्तै कतिलाई रुवाएर, बिल्लिबाठ पारेर जोडिएको होला ? यसको जवाफ अब भने खोज्नुपर्ने आवश्यकता देखिएको छ । तर, यहाँ गर्न खोजिएको प्रश्न चाहिँ यो हो कि आफैँ बस्ने घर मर्मत गर्न समेत सांसदबाट मासिक ९ हजार लिने चौधरीले बखुन्डोलमा भासिएका घरहरूको मर्मत गर्न कहाँबाट ल्याउलान् ?

प्रतिक्रिया दिनुहोस