काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आगामी आर्थिक वर्षको बजेट विगतभन्दा भिन्न, विगतभन्दा नयाँ, विगतभन्दा गुणात्मक केही नीति, कार्यक्रम र योजनाहरू सहितको हुने बताएका छन् । सोमबार बिहान नेपाल चेम्बर अफ कमर्सको ७२ औँ साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले परम्परागत सोचबाट माथि उठेर विगतभन्दा भिन्न, विगतभन्दा नयाँ, विगतभन्दा गुणात्मक केही नीति, कार्यक्रम र योजनाहरू अगाडि बढाउने गृहकार्य भइरहेको बताएका हुन् ।
उनले नीति, कार्यक्रम र बजेटमार्फत केही नयाँ र गुणात्मक प्रकृतिका परियोजना अगाडि बढाउने तयारीमा रहेको बताए । कार्यक्रममा प्रधानमन्त्रीले भने, “नेपाल सरकार आर्थिक वर्ष २०८०।०८१ को नीति कार्यक्रम र बजेट निर्माणको पूर्व सन्ध्यामा छ । परम्परागत सोच, नीति, कार्यक्रम र बजेटबाट मुलुकको समृद्धि सम्भव छैन भन्नेमा सरकार स्पष्ट छ।"
उनले व्यावसायिक समुदाय र उद्योगपतिहरूबिच सहकार्य र एकता, विश्वव्यापी वाणिज्य, औद्योगिक संस्थासँग सम्पर्क विकास, राष्ट्रिय अर्थतन्त्रको सुधारका लागि सामूहिक प्रयास, महामारी र प्राकृतिक विपत्तिहरूमा राहत र सामाजिक कार्यक्रमहरू आयोजना, औद्योगिक एवं व्यापारिक मेलाहरूको आयोजना, निकासी व्यापारलाई प्रोत्साहन, वाणिज्य र उद्योग सम्बन्धी शैक्षिक संस्थाहरू स्थापनाका लागि प्रोत्साहन, मुलुकमा रोजगारी सिर्जना र अर्थतन्त्रको सुधारलाई प्रमुख उद्देश्य बनाएर चेम्बर अगाडि बढिरहेको समेत बताए ।
प्रधानमन्त्रीले वैदेशिक लगानीका क्षेत्रहरू पहिचान गरी त्यस्तो क्षेत्रमा लगानी आकर्षित गर्न आवश्यक वातावरण गराउने, नेपाल सरकारले तर्जुमा गर्ने आर्थिक, मौद्रिक तथा वाणिज्य क्षेत्रसँग सम्बन्धित कानुन तथा नीति निर्माण सम्बन्धी पुनरावलोकन प्रक्रियामा समयसापेक्ष परामर्श दिनेसमेत काम गर्दै आएको चेम्बरले महिला चेम्बर, यूथ चेम्बर बनाएर आफ्नो क्षेत्र बिस्तार गरेकोमा खुसी व्यक्त गरे ।
उनले मुलुकको अर्थतन्त्र सञ्चालनमा निजी क्षेत्रको ठुलो योगदान रहिआएको बताए । नेपाल सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने, सन् २०२६ मा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने र द्रुत साथै सन्तुलित विकास र समृद्धि हासिल गर्ने दिशातर्फ केन्द्रित रहेको उनले जानकारी दिए । आफ्ना कामहरू बाटै बहु आयामिक गरिबी १७.४ प्रतिशतमा झरेको उनले दाबी गरे ।
प्रधानमन्त्रीले भने, "शिक्षाको पहुँचमा महत्त्वपूर्ण प्रगति भएको छ। आधारभूत तहमा खुद भर्ना दर ९५ प्रतिशत पुगेको छ। समग्र स्वास्थ्य सुविधाहरूमा जनताको पहुँचमा वृद्धि भएको छ। लैङ्गिक सशक्तीकरणमा उल्लेख्य सुधार भएको छ। आधारभूत खानेपानी सुविधामा ९५ प्रतिशत जनसङ्ख्याको पहुँच पुगेको छ। विद्युत् विकासमा हाम्रो प्रगति उत्साहजनक छ। सडक घनत्वमा सुधार भइरहेको छ र असमानता घटाउनेतर्फ उल्लेख्य काम भएको छ।"
कार्यक्रममा बोल्दै उनले मुलुकभित्र मुख्य गरी आन्तरिक उत्पादन र रोजगारी बढ्न नसकेमा अन्य क्षेत्रका उपलब्धि दिगो रहन सक्दैन भन्ने कुरा यसअघि अन्य मुलुकको उदाहरणबाट देखिएको, भोगिरहेका बताए ।
आफ्नो नेतृत्वमा गठित सरकारले मन्त्रिपरिषद्को पहिलो बैठकबाट नै चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रमा सुधार ल्याउन निजी क्षेत्रसँग सहकार्य गर्ने, निजी क्षेत्रमैत्री आर्थिक एवं मौद्रिक नीतिमा पहल गर्ने महत्त्वपूर्ण निर्णय गरेको समेत उनले स्मरण गराए। आफुले त्यसयता व्यवसायी, वित्तीय संस्थाका प्रतिनिधि र आर्थिक क्षेत्रसँग सरोकार राख्ने सबैसँग अन्तरक्रिया गरिरहेको उनले जानकारी दिए । देशको अर्थतन्त्र सङ्कटबाट सुधारतर्फ उन्मुख हुनुमा सरकारका यिनै प्रयासहरू जिम्मेवार रहेको उनले दाबी गरे ।
प्रतिक्रिया दिनुहोस