काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले ऋण लिएर तिर्दिन भन्नेहरूलाई छुट नहुने बताएका छन् । सोमबार नेपाल चेम्बर अफ कमर्शको ७२ औँ साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै उनले भने, ‘लिएको ऋण तिर्नु पर्दैन भन्ने अभियान चलाइरहेका छन् । त्यो कुनै पनि हालमा राज्यले सहँदैन । जहाँ ब्याजदरको समस्या भयो, अप्ठ्यारो पर्यो, समयमा ऋण फिर्ता गर्न समस्या भयो भने त्यसमा राज्यले राहत दिनु पर्छ । यसो गर्नु नै दुई मत छैन । तर, ऋण लिएको छु तिर्दिन भन्न कसैले पनि पाउँदैन ।’
उनका अनुसार अहिले राजस्वको परिस्थिति नकारात्मक छ । राजस्व हामीले चाहेजति उठिरहेको छैन । लक्ष्यभन्दा निकै कम उठिरहेको छ । भन्सारमा निकै कम उठिरहेको छ । राजस्वको परिस्थिति चिन्ताजनक छ ।
‘म अत्यन्तै अप्ठ्यारो समयमा आएको छु । म एक्लैले अहिले देखिएको समस्या समाधान हुँदैन । समस्या समाधान गर्न सबै एकजुट हुनुपर्छ’, उनले भने ।
अर्थमन्त्री शर्माले निजी क्षेत्रको समस्या भनेको सरकारको समस्या रहेको बताउँदै भने, ‘निजी क्षेत्रको समस्या भनेको हाम्रो समस्या हो । निजी क्षेत्र चलायमान भएन भने आर्थिक वृद्धि सम्भव छैन । लगानी वृद्धि भएन भने आर्थिकदेखि रोजगारी वृद्धि सम्भव छैन ।’
त्यस्तै, उनले अहिले सरकारको ध्यान पुँजीगत खर्च बढाउनका लागि नै रहेको बताए । अर्थमन्त्री महतले भने, ‘हाम्रो सम्पूर्ण ध्यान पुँजीगत खर्चलाई प्रभावकारी बनाउन लागेका छौँ । यसका लागि जे जे उपाय अवलम्बन गर्नु पर्ने हो त्यो गर्न लागिपरेका छौँ ।’
प्रतिक्रिया दिनुहोस