aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

युरोपको आगोमा तेल थप्दा डलरलाई पर्यो घात, चीनलाई मिल्यो फ्रान्सको समेत साथ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ चैत्र २०७९
युरोपको आगोमा तेल थप्दा डलरलाई पर्यो घात, चीनलाई मिल्यो फ्रान्सको समेत साथ

काठमाडौं । अन्तर्राष्ट्रिय व्यापारमा रहेको डलरको दबदबालाई अन्त्य गर्दै अन्य मुद्राहरुलाई स्थापित गर्ने लहर नै चलेका बेला फ्रान्सका राष्ट्रपती इमानियोल म्याक्रोनले विश्व अर्थ व्यवस्थालाई नै तरगिंत पार्ने एउटा सन्देश दिएका छन् ।

तिन दिने चीन भ्रमणमा रहेका म्याक्रोनले त्यहाँ राष्ट्रपती सिजिङ पिङसँग ५ घण्टा भन्दाबढी समय बिताएपछि गरेको एक टिप्पणीले अमेरिकालाई निराश बनाउँदै युरोपले चीनलाई साथ दिएको सन्देश प्रवाह गरेका छन् । 

उनले भनेका छन्, ‘युरोपले रणनीतिक स्वायत्तता राख्नुपर्छ, र फ्रान्स तेस्रो महाशक्ति बन्दै छ ।’ फ्रान्सका राष्ट्रपतीले अहिले युरोपले भोगिरहेको संकट आफ्नो समस्याको कारण नभएको समेत स्पष्ट पारेका छन् । अहिले जारी रहेको रुस युक्रेन युद्ध युरोपेली समस्या नभएर अमेरिकाको उक्साहको योजनामा चलिरहेको युद्ध हो भन्ने कुरा युरोपले बुझिसकेको छ । 

खासमा समुन्द्र पारी बसेर अमेरिकाले युरोपमा दन्किरहेको आगोमा मट्टितेल खन्याउने काम गर्दा त्यसले समग्र विश्वलाई नै नराम्रो आर्थिक संकटतर्फ धकेलेको छ । भौतिक रुपमा पहिलो धक्का र असर युरोपलाई परेपनि विश्वका तेस्रो धुव्रमा रहेका मुलुकहरु समेत अमेरिकी बदमासीको सिकार बनिरहेका छन् ।

अर्काको कुभलो सोच्दा आफ्रनै क्षति हुन्छ भन्ने कुरा व्यक्त गर्दा नेपाली समाजमा चलेको ‘अति गरे खति हुन्छ’ भन्ने उखान चरितार्थ हुँदा अहिले अमेरिकी बैंकहरु धमाधम ढलिरहेका छन् भने अर्थतन्त्र जोगाउन ०.२५ प्रतिशतमा रहेको ब्याजदर बढाएर अमेरिकाले ५.२५ प्रतिशतमा पुर्याइसकेको छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्ययमहरुले उनलाई उद्धृत गर्दै लेखेका छन्, ‘हामी जुन संकटमा छौं त्यो हाम्रो होइन र यसलाई रोक्न नसकुञ्जेल हाम्रो रणनीतिक स्वायत्तता कायम हुन सक्दैन ।’

यसअघिपनि पटक पटक अमेरिकी निर्भरतालाई कम गर्नुपर्ने धारणा राख्दै आएका उनले रसिया र चीन जस्ता मुलुकहरुको बढ्दो प्रभावलाई समेत स्वीकार गरेका छन् । उनको भनाई छ, ‘हामी जंगलमा छौं र त्यहाँ दुईवटा हात्तीहरु को बलियो बन्ने भन्ने उत्तेजनामा छन् । यदी तिनीहरुले युद्ध शुरु गरेभने पुरै जंगलमा समस्या आउँछ । त्यसैले बाघ र बाँदर जस्ता अरु जनावरसँग पनि सहकार्यको आवश्यकता छ ।’ 

म्याक्रोनको यो भनाईबाट चीन धेरै नै हर्षित बनेको छ । ताइवानमा संकट सिर्जना गर्ने आफूहरुको कुनै इरादा नरहेको समेत म्याक्रोनले स्पष्ट पारेपछि चीन खुशी भएको हो । त्यसै क्रममा चिनीयाँ राष्ट्रपतीले युक्रेनको आफ्नै समस्या समाधान गर्न नसकेको युरोपले ताइवानतिर आँखा नलगाउनु मै ठिक हुने धारणा राखेका थिए । 

म्याक्रोनले अमेरिकी डलरको उपयोगिता अमेरिकी भूमीभन्दा बाहिर समेत रही रहेको अवस्थालाई चिन्ताको विषयका रुपमा प्रस्तुत गर्दै व्यापारमा अमेरिकी डलर माथिको निर्भरतालाई कम गर्न समेत सो क्रममा बताएका छन् ।

उता अमेरिकाले भने चिनीयाँ राष्ट्रपती सिजिङ पिङका पछिल्ला भ्रमण युरोपेलीहरुको चीनसँगको बढ्दो निकटतालाई ध्यानमा राख्दै वार या पारको नीति अवलम्वन गर्ने लक्षण देखाएको छ । नेटोका सदय समेत रहेका मुलुकहरुलाई रसिया माथि लगाइएको आर्थिक नाकाबन्दीमा बलियोसँग साथ दिन दबाव दिने उद्देश्यले दुई अमेरिकी उच्च अधिकारीहरुलाई युरोप पठाउने तयारीमा अमेरिका लागेको पश्चिमा समाचार माध्ययमहरुले उल्लेख गरेका छन् । 

ती अधिकारीहरुले नेटोका महत्वपूर्ण सदस्यहरुलाई अमेरिकाको वा विपक्षीको कुन कित्ता रोज्ने भन्ने प्रश्न सोध्ने तयारी गरेको समाचारमा उल्लेख छ । समाचार संस्था एपीका अनुसार अक हरेक युरोपेली देशहरुले मस्कोलाई भौतिक सहयोग गर्ने वा अमेरिकाले भनेका मुलुकसँग मात्रै व्यापार गर्ने भन्ने रोज्नुपर्ने हुन्छ । 

तर, फ्रान्स लगायतका देशहरुले चीनसँगको व्यापारलाई महत्व दिएको र रसियाबाट प्राप्त हुने उर्जाबिना युरोपमा ठूलो संकट आउनेछ भन्ने सत्यलाई स्वीकार गरिसकेको हुँदा विगतमा झैंँ अमेरिकाको यो कडा नीति कामयावी बन्ने देखिदैन ।

आतंकवाद विरुद्धको युद्ध (वार अन टेरर) को बेला झैं अमेरिकालाई आँखा चिम्लेर साथ दिने चरणबाट विश्व दुई दशक अगाडी बढिसकेको तथ्यलाई नजर अन्दाज गर्र्दा आफ्ना सहयोगी र गठबन्धनका मुलुकहरुको समेत अमेरिकाले साथ गुमाउने लगभग निश्चित बनेको छ । 

म्याक्रोनले भने झैं वास्तवमा नै अब युरोपले आफूलाई स्वायत्त बनाउने सोचको कार्यान्वयन गर्यौ भने अमेरिकी डलरको महत्व विश्व व्यापारमा अनपेक्षित ढंगले खस्किने छ । 

प्रतिक्रिया दिनुहोस