
काठमाडौं । शहीद रत्नकुमार बान्तवा दोस्रो राष्ट्रिय खुला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि बद्रीलाल नेपालीले जितेका छन् ।
मोरङको पथरीशनिश्चरे नगरपालिकामा सोमवार सम्पन्न प्रतियोगितामा १३६ खेलाडीलाई पछि पार्दै नेपाली उपाधि जित्न सफल भएका हुन् । उपाधिसहित उनले ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
फ्रेन्डसीप चेस क्लबले आयोजना गरेको प्रतियोगितामा काभ्रेपलाञ्चोकका खोमप्रसाद तिम्सिना दोस्रो र झापाका प्रकाशचन्द्र नेपाल तेस्रो भए । तिम्सिनाले ३५ हजार र नेपालले २५ हजार पुरस्कार प्राप्त गरे । चौथो भएका पुकार राईले २० हजार र पाँचौं हुने नवीन तुण्डकारले १५ हजार पुरस्कार प्राप्त गरे ।
पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापो लगायतले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा सहभागी ३२ विधातर्फका खेलाडीलाई पुरस्कृत गरिएको थियो ।
पथरीशनिश्चरे नगरपालिकाको सहयोगमा ४ दिनसम्म सञ्चालित प्रतियोगितामा देशभरिका खेलाडी सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस