
एजेन्सी । अमेरिकाको केन्टकी राज्यस्थित लुइसभिल सहरमा एक व्यक्तिले आफू कार्यरत बैंकमा अन्धाधुन्ध गोली चलाउँदा पाँच जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार ती कर्मचारीले उक्त घटनालाई इन्स्टाग्राममा लाइभस्ट्रीम पनि गरेका थिए।
मृतकहरू ४० देखि ६४ वर्षसम्मका भएको प्रहरीले जनाएको छ। घाइते भएका अन्य नौ जनामध्ये एक प्रहरी पनि छन् । छब्बीस वर्षीय निकोलास विल्टले दुई साताअघि मात्र प्रहरीमा सेवा थालेका थिए। विल्टको टाउकोमा गोली लागेको थियो । उनको मस्तिष्कको शल्यक्रिया गरिएको भए पनि अवस्था अझै गम्भीर छ । आक्रमण भएको तीन मिनेटभित्रै प्रहरीले कारबाही थालेको थियो। घटना भएको द ओल्ड न्याश्नल बैंक सहरको मध्यभागमा छ।
स्थानीय समयानुसार बिहानको ८ः३० बजेतिर उक्त घटना भएको थियो। एक व्यक्तिले आफ्नी श्रीमती पनि उक्त बैंकमा कर्मचारी भएको र त्यहाँ गोली चल्न थालेपछि उनी पैसा राखिने भल्टभित्र लुकेको स्थानीय सञ्चारमाध्यमलाई बताएका छन्। अन्य प्रत्यक्षदर्शीहरूका अनुसार आक्रमणकारी र प्रहरीबीच गोली हानाहान भएको थियो । बीबीसी
प्रतिक्रिया दिनुहोस