aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

सेबोन अध्यक्षको कथनी र करनीमा मेल नखाँदा साना लगानीकर्ता पर्दैछन् मारमा

  • रिता राउत
    रिता राउत
  • मंगलबार, २८ चैत्र २०७९
सेबोन अध्यक्षको कथनी र करनीमा मेल नखाँदा साना लगानीकर्ता पर्दैछन् मारमा

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्षमा पदभार ग्रहण गर्दै गर्दा रमेश हमालले भनेका थिए,‘साना लगानीकर्ता नबाँचे पुँजी बजार विकास हुँदैन, साना लगानीकर्ताको हितमा काम गर्नेछु ।’ तर, कथनी र करनीमा मेल गर्न नसकेका उनी अहिले त्यसको ठिक उल्टो काम गरिरहेका छन् ।

गत वर्षको फागुन ८ गते पदभार ग्रहण गर्दै गर्दा बोलेको बोली भन्दा ठिक उल्टो काम उनले गर्दा साना लगानीकर्ता भने अहिले ठूलो मारमा पर्ने भएका छन् । हमाल अध्यक्ष रहेको नेपाल धितोपत्र बोर्डले दुई साताअघि सार्वजनिक गरेको साना तथा मझौला सङ्गठित संस्थाको ‘धितोपत्र निष्कासन तथा कारोबारसम्बन्धी नियमावली–२०७९’ ले गरेको व्यवस्थाले साना लगानीकर्तालाई सकसमा पार्ने देखिएको हो ।

सो मस्यौदा ठूला लगानीकर्ताहरूको हित रक्षाका लागि तयार गरेको देखिन्छ। दरखास्त दिने न्यूनतम शेयर सङ्ख्या र दरखास्त साथ माग गर्न सकिने पेस्की रकमबारे व्यवस्था गरिएको मस्यौदाको बुँदा नं. १४ मा उल्लेख छ, ‘आवेदकले निष्कासन गरिने शेयर मध्ये न्यूनतम दुई सय पचास कित्ता खरिदको लागि दरखास्त दिनुपर्नेछ ।’

यो मस्यौदा अनुसार लगानीकर्ताहरूले साधारण शेयर (आईपीओ) भर्नका लागि कम्पनीमा दुई सय ५० कित्ता अर्थात् २५ हजार रुपैयाँ तयार पार्नु पर्ने हुन्छ । अहिले लगानीकर्ताहरूले कम्तीमा १० कित्ता अर्थात् एक हजार रुपैयाँदेखि आईपीओ भर्न पाइरहेका छन् । 

१० कित्ते प्रावधान हटाउनु भनेको गरिबहरूलाई शेयर बजारमा प्रवेश हुनबाट वञ्चित गरेर धनीहरूको लागि मात्रै लगानी गर्ने वातावरण बनाउनु रहेको शेयर लगानीकर्ता केशव कोइराला बताउँछन् । उनी भन्छन्, ‘दश कित्ते प्रावधान हटाउनु भनेको गरिबहरूलाई शेयर बजारबाट वञ्चित गर्नु हो । यसले धनीहरूको मात्रै शेयर बजार हो भन्ने देखाउँछ ।’

उनका अनुसार अहिले १० कित्ते प्रावधानकै कारण सामान्य परिवारका मानिसहरू शेयर बजारमा आएका छन् । आइपिओ भरेर नै उनीहरूले केही पैसा आम्दानी गर्न पाएका छन् । उनीहरूको गुजारा चलाउने यसले टेवा समेत यसले दिइरहेको छ । अहिले सेबोनले तयार पारेको मस्यौदा कार्यान्वयन भयो भने उनीहरूले एउटा साधारण शेयर भर्न समेत नसक्ने स्थिति हुने उनको भनाइ छ ।

‘सेबोनले धनीहरूको लागि मात्र काम गर्न हुँदैन । गरिबहरूको लागि पनि काम गर्नु पर्छ’, कोइरालाले भने ।

साधारण शेयर (आईपीओ)मा अनिवार्य १० कित्ते प्रावधान लागू भएपछि शेयर बजारले गतिशीलता लिएको हो । यस क्रममा पुँजी बजारमा सहभागिता बढ्दा अहिले ५६ लाख भन्दा बढी डिम्याट खाता खुलिसकेका छन् । शेयर बजारप्रतिको आम आकर्षण बढाउन महत्त्वपूर्ण भूमिका खेलेको यही १० कित्ते प्रावधान धनीहरूको लागि कसिङ्गर बनेको देखिन्छ । यसै कारण अनेकौँ बहाना र तर्क गर्दै १० कित्ते प्रावधान हटाउने खेल भइरहेको छ । सोही खेल अनुसार सेबोनले कम्तीमा २५० कित्ते प्रावधान लागि मस्यौदा तयार पारेको देखिन्छ ।

सामान्य आर्थिक स्थिति भएका निम्न र निम्न–मध्यमवर्ग समेत शेयर कारोबारमा सामेल हुँदा पुँजीको व्यापार गर्ने अधिकार आफैमा मात्रै निहित भएको ठान्ने वर्गले अफ्ठयारो महसुस गर्नु स्वाभाविक नै हो । तर, उनीहरूको झुत्रेझाम्रेसँग भिडमा सँगै नउभिने इच्छा पुरा गर्न नीति निर्माताहरूसमेत लागि पर्नु चाहिँ विडम्बना नै मान्नु पर्छ । 

२५० कित्ते प्रावधान ल्याउने अहिले उपयुक्त बेला अहिले नरहेको अर्का शेयर लगानीकर्ता राजन लम्साल बताउँछन् । उनी भन्छन्, ‘अझै पनि नेपाली शेयर बजार परिपक्व भइसकेको छैन । यो अवस्थामा १० कित्ते प्रावधान हटाउन खोज्नु राम्रो होइन । नयाँ साना लगानीकर्ता बजारमा प्रवेश गरिरहेका छन् । उनीहरूको लागि सेबोनले सोच्नु पर्छ । ठुला लगानीकर्ता मात्र हेर्न हुँदैन ।’

पहिलेको तुलनामा पछिल्लो केही वर्ष यता शेयर बजारप्रति सबैजसो वर्ग, समुदाय, पेसा, व्यवसाय गर्नेदेखि विद्यार्थी, गृहिणीहरूको समेत आकर्षण रहेको देखिन्छ । ‘तर, पहिला यस्ता लगानीकर्ताहरू त्यति धेरै शेयर बजारमा प्रवेश गरेको थिएन । त्यो बेला साना लगानीकर्ताहरू बजार प्रवेश गराउनको लागि यो १० कित्ते प्रावधान हामीले माग गरेर ल्याएका थियौँ । त्यसपछि नयाँ लगानीकर्ताहरूको प्रवेश बढेको हो’, उनले भने ।

उनका अनुसार अहिले शेयर बजारमा साना लगानीकर्ताहरूको सङ्ख्या ठूलो छ । उनीहरूको हित सोच्ने हो भने सेबोनले १० कित्ते नीति हटाउनु नहुने उनको तर्क रहेको छ । बजार विकाश र विस्तारको लागि यो १० कित्ते प्रावधान अपरिहार्य रहेको लगानीकर्ता लम्सालको भनाई छ ।

सेबोनले साना तथा मझौला उद्योगहरूलाई प्रोत्साहन गरी त्यस्ता उद्योगहरूलाई धितोपत्र कारोबार मार्फत पुँजी निर्माण र परिचालन गर्न सहजिकरणका लागि आवश्यक नियमावलीको मस्यौदा तर्जुमा गर्न गठित समितिले यो मस्यौदा तयार गरेको जनाएको छ । जसमा उक्त मस्यौदाका सम्बन्धमा आफ्नो राय सुझाव समेत माग गरिएको छ । सेबोनले साना लगानीकर्ताहरूको लागि हितमा काम गर्ने हो भने यो नीति ठिक नरहेको लम्सालले बताए ।

उनले भने, ‘१० कित्ते प्रावधानले थोरै पैसा भएका सामान्य आर्थिक अवस्था भएका मानिसहरू पनि शेयर बजारमा प्रवेश गर्न पाएका छन् । यसै कारण नयाँ लगानीकर्ताहरू पनि आउँदै छन् । यो हटाउनु हुँदैन ।’

त्यसो त शेयर बजारको दोस्रो बजारमा भन्दा प्राथमिक बजारमा लगानीकर्ताहरू धेरै छन् । यो हुनु भनेको प्राथमिक बजारमा थोरै रकम पनि लगानी गर्न सकिने भएर नै हो । प्राथमिक बजारका लगानीकर्ताहरूको गन्तव्य भनेको पनि दोस्रो बजार नै हो । आईपीओमा परेको शेयर बिक्री गर्न दोस्रो बजार नै छिर्नुपर्ने हुन्छ । त्यसैले प्राथमिक बजारका लगानीकर्ता र साना लगानीकर्ताहरूले शेयर बजारको दोस्रो बजारमा पनि सक्रियता बढाउन सके शेयर बजार विस्तृत र फराकिलो हुने देखिन्छ ।   

जसरी नयाँ नियमावली मार्फत साना लगानीकर्तालाई पुँजी बजारमा प्रवेश हुनबाट नियोजन गर्ने प्रयत्न भइरहेको छ त्यो वास्तवमा नै आपत्तिजनक छ । पैसाको व्यापार गर्ने र शेयर बजारलाई आफ्नो मात्र नियन्त्रणमा राख्न खोज्नेहरूले १० कित्ते प्रावधान हटाउन प्रयास गर्नु स्वाभाविक नै हो तर यसरी हुनेखानेलाई मात्र शेयर कारोबारी बनाउने र सर्वसाधारणलाई पुँजी बजारमा प्रवेश हुनबाट नै रोक्ने काममा धितोपत्र बोर्ड नै अग्रसर बन्नु चाहिँ उदेकलाग्दो नै देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस