aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

निजी क्षेत्रको क्रियाशीलता र योगदान अझ बढोस् भन्ने सरकार चाहन्छः प्रधानमन्त्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ चैत्र २०७९
निजी क्षेत्रको क्रियाशीलता र योगदान अझ बढोस् भन्ने सरकार चाहन्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार निजी क्षेत्रको क्रियाशिलता र योगदान अझ बढोस् भन्ने चाहेको बताएका छन् । राजधानीमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारण सभा समुद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । 

प्रधानमन्त्रीले भने, ‘निजी क्षेत्र बलियो र शसक्त नभई मुलुक समृद्ध हुन सक्दैन र दीगो विकासको लक्ष्य प्राप्त गर्न पनि सकिदैन । यो कुरामा सरकार स्पष्ट छ । के कस्तो सुधार गर्नु पर्छ त्यसको लागि सरकार तयार छ ।’  

उनले निजी क्षेत्रको समस्या राम्ररी बुझेको बताउँदै आफूले सरकारको नेतृत्व सम्हालेको दिनदेखि नै संकटउन्मुख अर्थतन्त्रलाई कसरी चाडै सहज अवस्थामा ल्याउन सकिन्छ भनेर छलफल गरिरहेको बताए ।   

‘नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्दै आएको निजी क्षेत्रले अर्थतन्त्रलाई संकटबाट मुक्त गर्दै समृद्धिको लक्ष्य हासिल गर्न सरकारसँग मिलेर काम गर्ने जुन संकल्प गरेको छ, तपाईहरूको यो संकल्पका निम्ति आभार प्रकट गर्दै नेपाल सरकारको तर्फबाट सम्पूर्ण रूपले सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दछु’, उनले भने ।

उनका अनुसार वस्तु उत्पादन, बजार व्यवस्थापन, रोजगारी सिर्जना, राष्ट्रिय आयको वृद्धि र मुलुकको समग्र विकासमा निजी क्षेत्रले उल्लेख्य भूमिका खेल्दै आइरहेको छ । यस सन्दर्भमा बेलाबखत व्यवसाय सञ्चालनमा आउने बाधा र अवरोधहरूमा राज्यले सहजीकरण गर्नुपर्ने तपाईहरूको अभिमतप्रति सम्मान व्यक्त गर्दै लगानीमैत्री एवं व्यवसायमैत्री वातावरणका निम्ति सरकारको पूर्णतः सहयोग रहने विश्वास दिलाउँछु । 
 

प्रतिक्रिया दिनुहोस