काठमाडौं । नेपाल धितोपत्र बोर्डले निक्षेप सदस्यहरुको निरीक्षण गर्न सीडीएस एन्ड क्लियरिङलाई निर्देशन दिएको छ । निक्षेप सदस्यहरुले अनधिकृत डिम्याट खाता खोल्ने गरेको गुनासो आएपछि बोर्डले उक्त निर्देशन दिएको हो ।
निक्षेप सदस्यहरुले सम्बन्धित व्यक्ति स्वयं उपस्थित नहुँदासमेत डिम्याट खाता खोलेको, एकै व्यक्तिले धेरै व्यक्तिको डिम्याट खाता खोल्ने र नविकरण गर्ने गरेको गुनासो बढेको छ ।
यस सम्बन्धमा निक्षेप सदस्यहरुको निरीक्षण गरी १५ दिनभित्र निरीक्षण प्रतिवेदन पेश गर्न धितोपत्र बोर्डले सीडीएससीलाई निर्देशन दिएको हो । धितोपत्र बोर्डको नियम अनुसार हाल १ जना व्यक्तिले २ वटा सम्म डिम्याट खाता खोल्न सक्छ । अवैध कारोबारका लागि १ जनाले २ भन्दा बढी खाता खोलेको वा अन्य व्यक्तिका नाममा समेत खाता खोलिएको आशंका बोर्डले गरेको हो । आफ्ना निक्षेप सदस्यहरुमा सुक्ष्म नियमन गर्न बोर्डले निर्देशन जारी गरेको हो ।
सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार हालसम्म १५ लाख ७३ हजार ६२५ वटा डिम्याट खाता खोलिएका छन् । अहिलेसम्म ७३ वटा निक्षेस सदस्यहरु रहेका छन् । सी–आस्वा सेवा प्रदान गर्ने बैंक तथा वित्तीय संस्थाको संख्या ६४ वटा रहेको छ । मेरो सेयरमा दर्ता भएका डीपी संख्या भने ७२ वटा छ । अहिलेसम्म ४ अर्ब ५० करोड कित्ता सेयर डिम्याट भएका छन् ।

प्रतिक्रिया दिनुहोस