
काठमाडौं । पछिल्लो समय उद्योग क्षेत्रमा लगानी बढ्न थालेको छ । उद्योग विभागका अनुसार साउनदेखि चैत मसान्तसम्म स्वदेशी तथा विदेशी लगानीका २१६ उद्योगका लागि १ खर्ब ८० अर्ब रुपैयाँ लगानी प्रतिबद्धता आएको हो ।
विभागका अनुसार खुल्ने तयारीमा रहेका यी उद्योगहरूले १६ हजार ३६० जनालाई रोजगारी प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यस अवधिमा दर्ता भएका उद्योगमा साना उद्योग १०४ वटा, मझौला उद्योग ६० वटा र ठूला उद्योग ५२ वटा रहेका छन् ।
यस अवधिमा सबैभन्दा बढी लगानी प्रतिबद्धता निर्माण क्षेत्रका लागि आएको विभागले जनाएको छ । विभागका अनुसार चैत मसान्तसम्म निर्माण क्षेत्रका लागि ८१ दशमलव ३७ प्रतिशत, पर्यटन क्षेत्रका लागि ४१ दशमलव १० प्रतिशत, जलविद्युत क्षेत्रका लागि ३८ दशमलव १८ प्रतिशत, सेवा मूलक क्षेत्रका लागि ३७ दशमलव १७ प्रतिशत, प्राविधिक क्षेत्रका लागि ८ दशमलव ४ प्रतिशत, कृषि क्षेत्रका लागि ६ दशमलव ३ प्रतिशत र खनिज क्षेत्रका लागि ४ दशमलव २ प्रतिशत लगानी प्रतिबद्धता आएको हो ।
विभागका अनुसार चैतसम्म दर्ता भएका औद्योगिक सम्पत्ति सम्बन्धी विवरणमा प्याटेन्ट दर्ता सङ्ख्या ६, डिजाइन दर्ता सङ्ख्या ११, ट्रेडमार्क दर्ता सङ्ख्या २ हजार १७४ र ट्रेडमार्क सम्बन्धी मुद्दा कारबाही सङ्ख्या ८२ रहेको छ ।
बढ्यो विदेशी लगानी
विभागका अनुसार गत फागुन मसान्तसम्मको तुलनामा चैत मसान्तमा ३६.७३ प्रतिशतले विदेशी लगानी बढेको छ । चालु आवको चैत मसान्तसम्म नयाँ विदेशी लगानीका १९२ उद्योगका लागि २८ अर्ब ११ करोड १८ लाख २३ हजार रुपैयाँको प्रस्ताव आएको छ । जबकि गत फागुन मसान्तसम्म १५९ उद्योगका लागि २० अर्ब ५६ करोड २३ हजार रुपैयाँ विदेशी लगानी प्रस्ताव आएको थियो ।
एक महिनामा २४८.४९ प्रतिशतले बढ्यो उद्योगमा लगानी
उद्योग विभागका अनुसार चैत महिनामा मात्रै उद्योग दर्ताका क्रममा २५ अर्ब ४४ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । यस अवधिमा ३३ वटा स्वदेशी तथा विदेशी लगानीका लागि सो बराबरको लगानी प्रतिबद्धता आएको हो । त्यस्ता उद्योगहरूमा ३ हजार ६१२ जनालाई रोजगारी प्राप्त हुने जनाइएको छ ।
उक्त लगानी गत फागुन महिनाको तुलनामा २४८.४९ प्रतिशतले बढी हो । गत फागुन महिनामा स्वदेशी तथा विदेशी लगानीका १९ वटा उद्योगका लागि ७ अर्ब ३० करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो ।
चैत महिनामा दर्ता भएका उद्योगमा साना २१ वटा, मझौला ७ वटा र ठूला ५ वटा रहेका छन् । यस अवधिमा निर्माण क्षेत्रका लागि सबैभन्दा बढी लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । विभागका अनुसार चैतमा निर्माण क्षेत्रका लागि १२ दशमलव ४७ प्रतिशत लगानी प्रतिबद्धता आएको हो ।
त्यस्तै, पर्यटन क्षेत्रका लागि ४ दशमलव १२ प्रतिशत, जलविद्युत क्षेत्रका लागि २ दशमलव ६ प्रतिशत, सेवा मूलक क्षेत्रका लागि ७ दशमलव २१ प्रतिशत र प्राविधिक, कृषि र खनिज क्षेत्रका लागि लगानी प्रतिबद्धता आएको हो ।
प्रतिक्रिया दिनुहोस