aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

प्रकाश सपुतको 'फुलमाया': नव उदारवादी क्रन्दन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ बैशाख २०८०
प्रकाश सपुतको 'फुलमाया': नव उदारवादी क्रन्दन
  •  अमृत खरेल

फूलमायालाई  झुम्कना, बुलाकी, सुनका चुराहरू, स्कुटर लगायत कसले किन्दियो? भन्ने गीत यतिबेला युटुबमा ट्रेन्डिङमा रहेको छ। गीतमा गीतकार, गायक, निर्देशकले समाजको कथित उच्च र नवधनाढ्य वर्गले फूलमायाहरूलाई गर्ने विल्कुलै निम्छरो प्रश्न भाका हाली हाली गाएका छन्।

तर, प्रधान प्रश्न त फूलमायाहरूलाई नै इतिहासदेखि अहिलेसम्म वस्तुका रूपमा कसले किनिरहेको छ? फूलमायालाई बजारु वस्तुको रूपमा कसले प्रक्षेपण गरेको हो ? र, कसले उपभोग गरिरहेको छ ? भन्ने चाहिँ हो।

सामन्तवाद र पुँजीवाद नै देहव्यापारको जननीहरू हुन्  । नवउदारवादले अझ विद्रुप ढंगले तीव्र गति र कर्पोरेट शैलीमा यसलाई व्यवसायमा रूपान्तरित गर्न, पेसाका रूपमा स्थापित गर्न, यसप्रति आकर्षण पैदा गर्न र उपभोगवादी संस्कृतिलाई मलजल गरिरहेको छ। गाउँबाट सहर छिरेकी युवतीले मजदुरी गर्ने, श्रम गर्ने, स्वरोजगार बन्ने  सपना नदेखेर मोडेल हुनुपर्छ भन्ने सपना तय गर्ने चेतना केले दियो फुलमायालाई ? कुन तत्त्व हो त्यो आखिर? यही नव उदारवादी व्यवस्था र त्यसैको दलाली गर्ने राज्य सत्ताले हो कि होइन?

युवतीले सिप नभई चर्मजन्य रूपका आधारमा म्युजिक भिडियोमा मोडलिङ गर्ने सपना बन्नु र त्यो सपना पूरा गर्ने दिशामा डोर्‍याउने जुनसुकै पात्र सित आफूलाई विक्रय गर्दै लैजानुमा उनको गरिबीको दोष देखाउन खोजिएको छ गीतमा । तर, गरिबीले त उनलाई त्यो सबै गर्न बाध्य पारेको होइन ।

बाध्य त युवतीलाई मार्गदर्शन गरिरहेको उसमा व्याप्त उसको 'स्युडो' ज्ञान अर्थात् मोडलिङ गरेपछि वा म्युजिक भिडियोमा खेलेपछि स्थापित हुन्छु भन्ने नवउदारवादले दिएको भ्रमात्मक चेतनाले पारेको हो।

तर, प्रश्न नवउदारवादलाई गरिँदैन किनकि त्यसो गरे यो गीत चल्ने थिएन न त ट्रेन्डिङमा पर्नेवाला थियो। त्यसैले प्रश्न चेतनाशुन्य उनै फुलमायालाई सोधियो जसको जवाफमा खास उत्तर भेटिँदैन ।

फूलमायाहरू बिकेनन् भने उनले वेटर भएर त्यही गीतमा सर्भ गरेको देखाइएको रक्सी बिक्दैन। चुरोट बिक्दैन, हुक्का फ्लेवर बिक्दैन । होटेलका कोठाहरूको अकुपेन्सी खाली हुन्छ, लङ ड्राइभ हुँदैन, पेट्रोल बिक्दैन। फिल्म बिक्दैन, म्युजिक भिडियो बिक्दैन, अरू धेरै चीज बिक्दैन। त्यसैले नवउदारवादले फूलमायाहरूलाई जसरी पनि बेच्नु छ ।त्यसैले  बेच्न तयार पारिरहेको छ, बेचिने तत्परतामा सफलता देखाइरहेको छ र निर्बाध दिनदिनै बेचिरहेको छ। 

कार्ल मार्क्सले देह व्यापारमा संलग्नहरूलाई पुँजीवादका पीडितहरूका रूपमा लिन्छन्। उनले सन् १८४४ मा आफ्ना दार्शनिक लेखहरूमा यौनवृत्ति तमाम मजदुरमाथि नै भइरहेको देहव्यापारको एउटा विशिष्ट अभिव्यक्ति मात्र हो भन्दै पुँजीवादको अन्त्यबाट मात्र मानवलाई मानवका रूपमा मात्र हेर्ने, बुझ्ने ,मूल्य मान्यता स्थापित गर्न र देहव्यापार निर्मूल गर्न सम्भव हुने विचार व्यक्त गरेका थिए। कम्युनिष्ट घोषणापत्रमा उनले देहव्यापारलाई बुर्जुवा वर्गले आफ्नो परिपूरकका रूपमा उपयोग गरिरहेको उल्लेख गरेका छन्। 

एंगेल्सले त देहव्यापारले देहको क्रेता विक्रेता दुवैलाई अमानवीकीकरण गर्ने हुनाले यसको घोर विरोध गरेका छन्। एउटा मान्छेले अर्को मान्छेको स्वतन्त्र अस्तित्व नै नस्विकारी उसलाई वस्तुका रूपमा भोग गर्न मूल्य तिरेर प्राप्त गर्ने कुरा क्रूर अमानवीय अपमानजनक कार्य हो चाहे त्यो कार्य विवाहको वैधानिक जगमै खडा भएको किन नहोस्।

कति फूलमायाहरूलाई त उनका पतिले घरमै सबै थोक किनिदिएका होलान् ।  त्यसरी सबै भौतिक सुख-सुविधा प्रबन्ध गरिदिए बापतमा उसले चाहेका बेला उसका निमित्त उसकी पत्नी उसको यौनिक मनोरञ्जनका लागि जुनसुकै बेला तम्तयार रहनु पर्ने बाध्यता छ । त्यो विवाह संस्थाको बर्को ओढाइएको अर्को एक प्रकारको दैहिक क्रय/विक्रय नै हो, आखिर।

भन्नुको मतलब मार्क्सवादी, लेनिनवादी, समाजवादी दृष्टिकोणमा यौन एउटाको चाहना र उपभोगका लागि अर्कोले मूल्य प्राप्त गरेर बिक्री गर्ने विषय कदापि होइन।

पुरुष र महिला दुवैको सदिच्छा, आवश्यकता, सहकार्य र सम्मतिमा मानवीय प्रेमको उच्चतम अभिव्यक्तिको सन्दर्भमा मात्र यौन मानवीय ढंगले स्वीकार्य हुने हो। प्रेम र मानवीयता बजारमा किन्न पाइने मूल्य भएको वस्तु होइन।

प्रेम र मानवीयता रहित भोगका निमित्त क्रय/विक्रय हुने यौन अतः सामन्तवाद र पुँजीवादका आविष्कार हुन्।  नवउदारवादको ब्रान्डेड सर्भिस हुन्। देहव्यापारका पीडितहरूलाई हिजोआज नवउदारवादले त झन् एडल्ट इन्टरटेन्मेन्ट वर्कर अर्थात् वयस्क मनोरञ्जनकर्मी भनेर व्यावसायिक सेवामूलक पेसाका रूपमै पो कर्पोरेटाइज गरिसकेको छ।

यसो गर्नुको पनि खास कारण छ । यस्तो पीडित शोषित हुनलाई त पेसाको सामान्य कर्म ठानेर नयाँ पुस्ता सानका साथ यो देहव्यापारको पिडालाई पेसाकै रूपमा करियर ठानेर अँगालोस् भन्ने चाहन्छन् , नव उदारवादीहरू।

नवउदारवाद जसरी पोर्नलाई उद्योग बनाउन सफल भएको छ त्यसरी नै औपचारिक शिक्षा र विश्वविद्यालयहरूमै पनि पछि भविष्यमा डाक्टर, वकिल, पत्रकारको पेसा जस्तै यौन व्यवसायका लागि पनि कोर्स डिजाइन गरेर सञ्चालन गर्न पनि पछि पर्दैन । यो सम्भावना किन व्यापक छ भने केहिवर्ष अघि एक अमेरिकी विश्वविद्यालयमा 'सेक्स रुम' चाहियो भन्दै विद्यार्थीहरूलाई प्रदर्शनमा उतार्न सफल भैसकेको छ, नवउदारवाद ।

त्यसैले प्रकाश सपूतको यो गीत पनि आफैँमा नव उदारवादी चेतमै आधारित बजारको खपतको लागि बनाइएको मसला मात्र हो। जसले नवउदारवादको नै सेवा गर्छ र त्यसलाई स्थापित हुन् थप मद्दत गर्छ ।

यो गीत आफैँमा तमाम फूलमायाहरूप्रति दुर्व्यवहार र ह्यारेसमेन्ट हो। फूलमायालाई नै नव उदारवादी पुँजीवादी व्यवस्थाले सिङ्गै किनिसकेपछि अब जोसुकैले उनलाई जेसुकै किनिदिएपनि खासमा कसलाई के मतलब?

अर्कोले किनिदियो मैले पो किनिदिनुपर्थ्यो भन्ने तमाम नव उदारवादी क्रेताहरूले गोहीको आँसु बगाएर गरेको रोदन क्रन्दन मात्र हो, यो गीत।

स्तम्भकारलाई  व्यक्तिगत रूपमा प्रकाश सपूतप्रति न त कुनै गुनासो वा आलोचना गर्नुछ न त उनले नवउदारवादको भ्रमको पर्दा च्यात्ने गीतहरू गाऊन् भन्ने नै आशा वा अपेक्षा छ ।

 यस्ता गीत आउनु, अनि छाउनु पछि रहेको समस्या र त्यसको कारक चाहिँ सांस्कृतिक साम्राज्यवादलाई आलोचनात्मक चेतले हेर्न सक्ने कलाकार, गीतकार, साहित्यकार, लेखकको पछिल्लो पुस्तामा भएको करिब करिब नियोजन पो हो।

अब अर्को पुस्ताले रामेश, रायन, जीवन शर्मा, जेबी टुहुरे जस्ता चेतनशील जनगायकहरू फेरि पाउला कि नपाउला भन्ने पो अहिलेको चिन्ता हो। नयाँ पुस्ताका युवायुवतीहरू र  बालबालिकामा कसरी  चेतना जगाउने भन्ने ठूलो चिन्ता हो।

 

प्रतिक्रिया दिनुहोस