aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

स्मार्ट टेलिकमको लाइसेन्स खारेज हुने, प्राधिकरणको भोलि बस्ने बैठकले थप निर्णय गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ बैशाख २०८०
स्मार्ट टेलिकमको लाइसेन्स खारेज हुने,  प्राधिकरणको भोलि बस्ने बैठकले थप निर्णय गर्ने

काठमाडौँ । निकै चर्चामा रहेको दूरसञ्चार सेवा प्रदायक स्मार्ट टेलिकमको अन्ततः लाइसेन्स खारेज हुने भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालका अनुसार  नवीकरणको समय सकिएको हुँदा स्वाभाविक रूपमा अब स्मार्टको लाइसेन्स खारेजी प्रक्रिया सुरु हुने भएको हो ।

वैशाख १ गते नै नवीकरणको समय समाप्त भए पनि सो दिन र हिजो शनिवार परेकोले प्राधिकरणले आज आइतबारसम्म समय दिएको थियो । तर, कार्यालय समयभित्र कम्पनीको प्रतिनिधि सम्पर्कमा नआएपछि खारेजीको प्रक्रिया अघि बढेको अध्यक्ष खनाल बताउँछन्  ।

खनालले भने, 'अब यसबारे थप निर्णय गर्न हाम्रो सञ्चालक समितिको बैठक भोलि बस्दै छ । संभवत पर्सि देखी सो टेलिकमको बोर्ड हामी कब्जामा लिन्छौँ ।' उनले सो टेलिकम अब कसरी सञ्चालन गर्ने भन्नेबारे समेत भोलिको बैठकले निर्णय गर्ने बताए ।

स्मार्ट टेलिकम नेपालकै तेस्रो ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी हो । यसले लगभग २२ लाख सिम बिक्री गरिसकेको छ भने हाल १० लाख भन्दा बढी यसका सक्रिय सदस्य रहेका छन् ।

 स्मार्ट टेलिकमले नवीकरण दस्तुर, फ्रिक्वेन्सी, ग्रामीण दूरसञ्चार विकास कोष, रोयल्टी र जरिवाना समेत गरी करिब ३० अर्ब रुपैयाँ नेपाल दूरसञ्चार प्राधिकरणलाई बुझाउन बाँकी छ । यो रकम नबुझाएपछि लाइसेन्स स्वतः खारेजीको प्रक्रियामा अघि बढेको हो ।

स्मार्ट टेलिकमका सञ्चालकहरूले भने यसबारे खुलेर प्रतिक्रिया दिन मानेनन् । उनीहरू भन्छन् , 'अहिले कै अवस्थामा पनि यो सञ्चालन गर्ने ४५ करोड जति चालु पुँजी आवश्यक छ । त्यो नभई चलाउन सकिन्न ।

'यदि सरकारले खारेजी वा समय थप कुनै स्पष्ट निर्णय गरिदिएको भए सजिलो हुन्थ्यो । त्यो नगर्दा गाह्रो भो । हामीले थप ६ महिना समय मागेका थियौँ त्यो पाउने  हो भने सहज हुन्थ्यो ।' उनीहरूको भनाई छ ।

अब के अदालत जानुहुन्छ भन्ने प्रश्नको जवाफमा एक सञ्चालकले प्रतिक्रिया दिँदै खुलस्त नबोले पनि त्यसलाई अस्वीकार गरेनन् ।

प्रतिक्रिया दिनुहोस