सुर्खेत । वीरेन्द्रनगरको कालुञ्चोक क्षेत्रमा घरजग्गा साथमा श्रीमती र दुई छोरी सानो र सखी परिवार तर डेढ वर्षअघि २५ वर्षीय धनबहादुर खासुमगरले आत्महत्याको बाटो रोजे । कारण थियो( गरिबी छिमेकीका अनुसार घनबहादुरले घर निर्माण गर्दा एक सहकारी र विभिन्न व्यक्तिबाट ५ लाख रुपैयाँ ऋण लिएका थिए । ‘आम्दानीको अरू माध्यम भएन, ऋणको ब्याज बढ्दै गयो,’ दिदी हरिमाया श्रीसले भनिन्, ‘त्यही पीरले झुन्डिएर आत्महत्या गरेछ ।’
घनबहादुरजस्ता थुप्रै व्यक्तिले आत्महत्या गर्नुमा गरिबी प्रमुख कारण देखिएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयको त्रिवर्षीय तथ्यांक केलाउँदा पनि यस्तो तथ्य देखिन्छ । कार्यालयका अनुसार पछिल्ला तीन आर्थिक वर्षमा कर्णालीमा ७ सय २८ जनाले आत्महत्या गरेका छन् । तीमध्ये गरिबीको कारण आत्महत्या गर्नेको संख्या २ सय ५५ जना छ ।
कार्यालयका प्रवक्ता डीएसपी लोकनाथ तिम्सिनाका अनुसार गरिबीपछि आत्महत्या गर्ने दोस्रो प्रमुख कारण घरेलु हिंसा हो। तीन वर्षको अवधिमा घरेलु हिंसाको कारण २ सय २४ जनाले आत्महत्या गरेको उनले बताए । ‘घरेलू हिंसा पनि गरिबीसँगै जोडिएको हुन्छ,’ डीएसपी तिम्सिनाले भने, ‘यसरी हेर्दा गरिबी आत्महत्याको प्रमुख जड हो।’ यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस