काठमाडौं । भारतले ४ सय मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना आफ्नो स्वामित्वमा रहेको कम्पनीलाई दिन आग्रह गरेको छ। भारतीय सरकारको लगानी रहेको सतलज निगमले अरुण तेस्रो निर्माण गरिरहेको र सोही कम्पनीले ४ सय मेगाावटको तल्लो अरुण निर्माण गर्दा सस्तो पर्ने भन्दै भारतीय ऊर्जा राज्यमन्त्री आरके सिंहले यस्तो माग गरेका हुन्।
ऊर्जामन्त्री वर्षमान पुनसहित नेपाली ऊर्जा अधिकारीसँग बिहीबार काठमाडौंमा भएको भेटमा भारतीय ऊर्जा राज्यमन्त्रीले यस्तो आग्रह गरेको भेटमा संलग्न स्रोतले जानकारी दिएको छ।
तल्लो अरुण निर्माणको जिम्मा दिन भारतले आग्रह गरेको यो दोस्रोपटक हो। भारतीय लगानी रहेको सतलज निगमले निर्माण थालेको ९ सय मेगावाटको अरुण तेस्रो परियोजनाको भौतिक प्रगति करिब ३० प्रतिशत पुगेको छ। ४ सय मेगावाटको तल्लो अरुण तेस्रोको तल्लो तटीय क्षेत्रमा पर्छ। ऊर्जामन्त्री पुन र भारतीय ऊर्जा राज्यमन्त्री आरके सिंहबीच गत माघ २८ गते नयाँदिल्लीमा भएको भेटमा पनि तल्लो अरुण निर्माण गर्न दिन प्रस्ताव गरेका थिए।
उक्त भेटमा मन्त्री पुनले अरुण तेस्रोको निर्माण प्रगति अघि बढेपछि सकारात्मक सन्देश प्रवाह हुने र त्यसपछि निर्णय गर्न सकिने जवाफ दिएका थिए । बिहीबार भएको भेटमा ऊर्जामन्त्री पुन, ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी उपस्थित थिए । लगानी बोर्डले तल्लो अरुण गत चैतमा सम्पन्न लगानी सम्मेलनमा प्रस्तुत गरेको परियोजना हो ।
सम्मेलनको अवधिमा तीन कम्पनीले आयोजना निर्माण गर्ने प्रस्ताव पस गरेका छन । तीमध्ये एक कम्पनी भारतीय छ। भारतीय ऊर्जा राज्यमन्त्रीसँगको भेटमा बोर्डका प्रमुख कार्यकारी अधिकारीले आयोजनाको स्थितिबारे जानकारी गराएका थिए। बोर्डले यो आयोजना प्रतिस्पर्धाको प्रक्रियामा अघि बढाइसकेकाले त्यसैमा सहभागिता जनाउनपर्ने जनाएको छ । हाल निर्माणाधीन अरुण तेस्रो भारतीय कम्पनीले अन्तराष्ट्रिय प्रतिस्पर्धामार्फत पाएको हो। यो समाचार आजको कान्तिपुर दैनिकम प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस