
एजेन्सी । चीनको आर्थिक पुनरुत्थान निकै तीव्र गतिमा भएको देखिएको छ । सन् २०२३ को पहिलो त्रैमासमा यसले आफ्नो कुल गृहस्थ उत्पादनमा हासिल गरेको प्रगतिमा यस्तो देखिएको हो ।
लामो समय देखी जारी कोभिड-१९ विरुद्धको कडा प्रावधान र प्रतिबन्ध हटाएपछि चीनले अप्रत्याशित प्रगति हासिल गरेको हो । यो वर्षको पहिलो त्रैमासको आर्थिक अवस्था बारे तथ्याङ्क सार्वजनिक गर्दै त्यहाँको तथ्याङ्क विभागले चीनले ४.५ प्रतिशतको आर्थिक वृद्धि गरेको बताएको छ । अघिल्लो वर्ष यस्तो वृद्धि मात्र २.९ प्रतिशत रहेकोमा अहिलेको प्रगति अनपेक्षित देखिएको हो ।
त्यसो त चीनले जम्मा ४ प्रतिशत सम्मको वृद्धि प्राप्त गर्न सक्छ भन्ने अनुमान गरिएको थियो । तर, सो अनुमानलाई समेत प्राप्त प्रतिफलले गलत साबित गरिदिएको हो ।
चीनको यस्तो प्रगतिलाई लगानीकर्ताहरूले नजिकबाट नियालिरहेको बताइन्छ । तर, विश्वव्यापी आर्थिक सुस्ताताका बाबजुद प्राप्त वृद्धि दरले संसारका अरू मुलुकलाई समेत अचम्ममा परेको छ ।
अहिलेको वृद्धिलाई हेर्दै रोयटर्सले आफ्नो रिपोर्टमा चीनले सन् २०२३ मा ५.४ प्रतिशतको आर्थिक वृद्धि कायम राख्ने अनुमान गरेको छ । जबकि स्वयम् चीनले भने ५ प्रतिशतले मात्र आर्थिक वृद्धि हुने अनुमान गरेको छ ।
प्रतिक्रिया दिनुहोस